हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी
एएफपी,
प्रकाशित २०७५ मंसिर २४ सोमबार
761
Shares
बेइजिङ। चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ। अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ।
चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ। मेङले क्यानाडाको भ्यानकुभरस्थित अदालतमा मुद्दा दर्ता गर्नुभएको छ। उनले क्यानाडाली जेलबाट जमानतमा रिहा हुन पाउनुपर्ने जिकिर गरेका छन्। हुवावेले अमेरिकी आग्रह र प्रतिबन्ध विपरीत इरानसँग आर्थिक कारोबार गरेको अमेरिकी आरोप छ।
डिसेम्बर १ मा भ्यानकुभरमा पक्राउ परेकी मेङलाई क्यानाडाको एक अस्पतालमा उच्च रक्तचापको उपचार गरिएको छ। चीनको सरकारी अखबार ग्लोबल टाइम्सले मेङलाई क्यानाडेली अधिकारीहरुले पर्याप्त स्वास्थ्य उपचारको सुविधा उपलब्ध नगराएको बताएको छ।
“हाम्रो विचारमा यो अमानवीय कार्य हो र उपचार गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको उल्लङ्घन हो,” चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङले नियमित पत्रकार सम्मेलनमा बताए।