काठमाडौं । आयुर्वेद क्याम्पस कीर्तिपुरमा वाईटकोट सेरेमोनी कार्यक्रमको आयोजना भएको छ। क्याम्पसमा यसै शैक्षिक वर्ष भर्ना भएका बीएएम्एस् २३ औं ब्याचका विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाईद्वारा आयोजित स्वागत कार्यक्रममा सो सेरेमोनीको आयोजना भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री गगन थापाको हातबाट नवआगन्तुक विद्यार्थीहरलाई स्थेथस्कोप बाँडेर सो सेरेमोनी सम्पन्न गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री थापाले आयुर्वेद अथाहा सम्भावना क्षेत्र हुँदाहुँदै पनि नविन सोचको कमीले गर्दा यसलाई बजार प्रवर्द्धन गर्न नसकिएको औलाएका थिए।
उनले भने, ‘आयुर्वेद क्षेत्रकै माध्यमबाट नेपालमा पर्यटकहरु समेत भित्राउन सकिन्छ। नयाँ पुस्ताले आयुर्वेदलाई कसरी बिश्वबजारमा पुर्याउन सकिन्छ भन्ने विषय तर्फ पनि ध्यान दिनुपर्छ।’
त्यसैगरी कार्यक्रममा बोल्दै नेविसंघ आयुर्वेद क्याम्पस इकाईका अध्यक्ष डा प्रशन्न नेपालले आयुर्वेद शिक्षाप्रति बढ्दो आकर्षण उत्साहजनक रहेको तर आयुर्वेदका विभिन्न संरचनाहरूले उचित सेवा प्रवाह गर्न नसकिरहेको प्रति चिन्ता व्यक्त गरे।
उनले भने, ‘आयुर्वेदका धेरै संरचनामा कुशल नेतृत्व नभएकाले आयुर्वेदले स्पष्ट मार्ग समाउन सकेको छैन। आयुर्वेदको नयाँ मार्ग कोर्ने जिम्मेबारी नयाँ पुस्तामा आएको छ।’
नेविसंघ आयुर्वेद क्याम्पस इकाईले प्रत्येक वर्ष क्याम्पसमा वाईटकोट सेरेमोनीको आयोजना गर्दै आएको छ। सन् १९८९ देखि मेडिकल कलेजहरुमा वाईटकोट सेरेमोनीको आयोजना गर्ने चलन सुरुभएको हो।