arrow

टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर २६ बुधबार
tencent-music-chinese-company.jpg

न्यूयोर्क। चिनीयाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ। टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ। हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ।

वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य तोकिएसँगै कम्पनीको बजार मूल्य २१ अर्ब ३० करोड डलर पुगेको छ। यसै वर्षको शुरुमा गरिएको प्रक्षेपणमा यस म्यूजिक कम्पनीको मूल्य २५ अर्ब डलर वा सोभन्दा बढी हुने अनुमान गरिएको थियो।

कम्पनीले नौ महिनाको अवधिमा एक अर्ब ९० करोडको कारोबार गरेको र ४७ करोड ४० लाख डलर नाफा गरेको छ। टेन्सेन्टले चीनमा स्पटीफाई जस्तै क्यूक्यू म्यूजिकबाट स्ट्रीमिङ सेवा उपलब्ध गराउँछ। टेन्सेन्टले अमेरिकी कम्पनी वार्नर म्यूजिकको सेवा पनि आफ्ना ग्राहकलाई बिक्री गर्दछ।

टेन्सेन्ट चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो। यही कम्पनीले चीनमा एक अर्बभन्दा बढी प्रयोगकर्ता रहेको वीच्याट सामाजिक सञ्जाल सञ्चालन गरिरहेको छ। यस कम्पनीले गेमिङ र विज्ञापन समेतका अन्य व्यवसाय पनि चलाइरहेको छ । कम्पनीले अनलाइन भिडियो, क्लाउड सर्भिसेज र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता सेवा पनि सञ्चालन गर्न लागेको जनाएको छ।

चीनका ठूला प्रविधि क्षेत्रका कम्पनीहरु अमेरिकी शेयर बजारमा सूचीकृत हुनेक्रम बढेको छ। यसअघि अलिबाबा र बाइडु पनि अमेरिकामा सूचीकृत भइसकेका छन्।



नयाँ