arrow

कांग्रेस महासमितिले प्राप्त उपलब्धीको संरक्षण गर्दै सरकारको गैर राजनीतिक चरित्रको उजागर गर्नुपर्छ 

logo
चन्द्र भण्डारी 
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
chandra-bhandari-andolan-interview.jpeg

नेपाली काँग्रेसको लामो समयपछि महासमिति भेला हुँदैछ । देश विदेशबाट जागरुक काँग्रेस साथीहरु भेलाबाट निश्चित उपलब्धी हासिल गरेर पार्टीलाई सशक्त बनाएर लैजाने लक्ष्यसहित काठमाडौंको चिसो मौसमलाई तताउने प्रयास गरिरहनु भएको छ । 

भेलालाई सफल पार्नका लागि हामी विगतमा जानुपर्ने हुन्छ । काँग्रेसले मुख्यगरी तीन वटा महत्वपूर्ण परिवर्तनमा आन्दोलनको नेतृत्व गरेको छ । सात साल, ४६ साल र शान्ति प्रक्रियाका लागि ०६२–६३ को जनआन्दोलन । सात सालमा प्रजातन्त्र ल्याउन सफल भयो । ०४६ सालमा राजालाई संवैधानिक परिधिभित्र ल्याउन सफल भयो । ०६३ सालमा जनतालाई अराजकतातिर धकेल्ने, मारकार हिंसा गर्ने कम्युनिष्टको हिंसात्मक द्धन्द्धबाट मुलुकलाई मुक्त गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो ।  

यो काँग्रेसको राजनीतिक र सामाजिक महत्वपूर्ण पक्ष हो । यति हुँदाहुँदै समयसंगै काँग्रेस बग्न नसकेको आरोप पनि लाग्ने गर्छ । काँग्रेसभित्र अहिलेको राजनीतिमा आन्तरिक केही कमजोरी देखिएको छ । इतिहासलाई साक्षी राख्दा काँग्रेस आफैमा पाठशाला हो । 

बीपी, गणेशमान, सुवर्ण शमशेर र किशुनजीजस्ता व्यक्तिको नेतृत्वले गर्दा काँग्रेस सुसज्जित र अनुशासित पाठशाला बनेको हो । त्यही काँग्रेस हो जसले उद्दण्ड कम्युनिष्ट पार्टीका नेता मदन भण्डारीलाई समेत बहुदलीय जनवादको सिद्धान्त अंगाल्ने बनायो । 

यो काँग्रेसभित्र फरक धारका पार्टीलाई समेत परिवर्तन गर्न सक्ने पाठशाला रहेको उदाहरण हो । यो पाठशाला नेपालमा आवश्यक छ । तर नदी सधै एउटै धारमा  बग्दैन । त्यसलाई नियन्त्रण गर्ने औजारहरु मानिसले बनाइसकेका छन् । अहिले काँग्रेसको साख खस्केको छ । यसलाई पुरानै धारमा फर्काउन हामीले मेहनत गर्नैपर्छ । महासमिति त्यसका लागि बहस र चिन्तन गर्ने उपयुक्त थलो हो । काँग्रेसको सिद्धान्त ‘बादे बादे जायते तत्ववोध’ जस्तै गरी छलफलबाट बाहिर जानु हुँदैन ।

यो महासमितिले महत्वपूर्ण भूमिका खेल्न सक्छ । पाठशाला र शिक्षकविहीन काँग्रेसभित्रै फेरि पाठशाला र शिक्षक उत्पादन गर्नुपर्नेछ । यसको जिम्मा महासमितिले लिनुपर्छ । त्यसका लागि विश्वपरिवेश अनुसार चल्नु नै बुद्धिमानी हुनेछ । 

विश्वको राजनीतिक सन्दर्भ, छिमेकीको भूमिका र देशको राजनीतिकधार कसरी अगाडि बढिरहेको छ भनी विश्लेषण गर्नु जरुरी छ । कुन एजेन्डालाई महत्व दिने भनी हामीले पहिले नेपालको अर्थ राजनीति बुझ्नु आवश्यक छ । 

विश्व अब ‘कमोडिफाइ’ भयो । त्यो कमोडिफाइलाई पछ्याउन खोज्ने हो भने हामी कमजोर अवस्थामा छौं । हामी अप्ठेरोमा पर्न सक्छौं । ठूलाठूला राष्ट्रहरु आफूलाई फाइदा हुने कुरामा लाग्छन् भनी हामीले हेर्नुपर्यो । तबमात्र हामीले आफूलाई सार्वभौम बनाउन सक्छौं ।  

हामी पनि कमोडिफाइको सिद्धान्तमा बगेर फाइदा लिन सक्नुपर्छ । बहुलबाद, धर्म, समावेशी, प्रतिनिधित्व, आरक्षण लगायतमा काँग्रेसले एउटै स्वरमा बोल्नुपर्यो । यसलाई अगाडि बढाउन संगठनलाई राम्रोसंग विस्तार गर्नुपर्यो । 

अहिलेका विश्वका केही नेताहरु  ‘लार्जर देन लाइफ इमेज फर प्रोजेक्सन’ मा लागेका छन् । विश्वमा अफबाह बाँडिरहेका छन् । पूरा हुन नसक्ने सपना बाँडिरहेका छन् । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पर्दछन् । यिनीहरुका यस्ता क्रियाकलापले गर्दा समाजमा द्धन्द्ध हुन सक्छ । एक पटकलाई चुनाव जित्ने यो नारा हुन सक्ला । तर ती कुराहरु टिकाउ हुँदैनन् । नेपालमा पनि केपी ओलीजीले हुनै नसक्ने कुरा गरेर नचाहिने काम गर्दा समाजमा द्धन्द्ध बढ्न सक्दछ । 

यस परिवेशमा नेपाललाई अतिराष्ट्रवाद र आतंकबाट बचाउने अब काँग्रेसले नै हो । यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ । नेपाल बचाउने हामीले नै हो । प्रधानमन्त्री ओलीको गलत मोहजालमा पर्दा मुलुक नै तहसनहस हुने खतरा छ । तसर्थ काँग्रेसले सरकारले गरेका नचाहिँदा कामहरु भ्रष्टाचार, महंगी, ३३ किलो सुनकाण्ड, निर्मला हत्याकाण्डमा दोषी पक्राउ गर्न नसकेको बारेमा गम्भीर भएर कुरा उठाउनु पर्छ । 

त्यतिमात्र होइन गैरसरकारी संस्थाको कार्यक्रममा सरकार मतियार बनेर लाग्नु अनि होलीवाइनमा विर्यपान गरेर नेपालको राष्ट्रियतामाथि धज्जी उडाउने र नेपालीको स्वाभीमानमाथि धज्जी उडाउने काम भइरहेको अवस्थामा काँग्रेस सशक्त ढंगले उभिनै पर्छ । 

यी गलत कदम विरुद्ध लागेर काँग्रेसले निराकरणको औषधि खोज्ने वातावरण बनाउनु पर्छ । सरकारलाई सम्झाएर पुगेन भने सडक वा सदनबाट भए पनि काँग्रेस एकजुट हुनु जरुरी छ । बोलीले मात्र नभइ काँग्रेस व्यवहारले मेहनती पनि हुनुपर्यो । सिद्धान्तमा स्पष्ट हुनुपर्यो । यो कुरा महासमितिमा गम्भीर रुपले उठाइनु पर्छ । र, समाधान खोजिनु पर्छ । 

अर्को कुरा कम्युनिष्ट चरित्र नबुझेसम्म काँग्रेसले आफ्नो लय पकड्न सक्दैन । कम्युनिष्ट नेताहरु पहिले हौवाको पछि लाग्छन् र पछि पछुताउँछन् । एउटा उदाहरण दिन चाहन्छु –बामपन्थी नेता मोदनाथ प्रश्रितले ‘मानव’ महाकाब्य लेखे । त्यसैबाट उनले मदन पुरस्कार प्राप्त गरे । त्यो पुस्तक उनले गलत लेखेको रहेछु भनेर च्याते पनि । 

त्यसपछि प्रश्रितले ‘देवासु संग्राम’ किताब लेखे । त्यसबाट धर्म संस्कृतिको खिल्ली उडाए । यही किताबको घोडा चढेर बाहिरी मानिसहरु नेपाल प्रवेश गरे । धमाधन एनजीओ आइएनजीओ खडा भए । यसको कारणले नेपालको समाज, संस्कृति र गौरवमाथि आघात परेको छ ।  

पछिल्लो समयमा प्रश्रितले देवासु संग्रामको कदमलाई पनि गलत देखे । त्यसपछि उनी बुढ्यौलीकालमा बैशाखीको सहारामा पृथ्वीनारायण शाह त राष्ट्रनिर्माता हुन् भन्दै हिंडिरहेका छन् । राजाले धर्म र संस्कृतिको संरक्षण गर्नुपर्छ भनेका छन् । अहिलेका नेताहरुले पनि यही मार्गलाई पछ्याउनु पर्छ भनेका छन् । 

हो, यतिबेला मुलुक अस्तव्यस्त छ । हामीले प्राप्त गरेका उपलब्धीहरु कम्युनिष्ट सरकारको व्यवहारले गर्दा हाम्रो हातबाट जान पनि सक्छ । महासमिति भेलाले राष्ट्रको समृद्धि र आफ्नो राष्ट्रिय पहिचानको निम्ति एकजुट भएर जाने सन्देश दिन सक्नुपर्छ । काँग्रेस नै देश निर्माणको एकमात्र आधार पार्टी भएको विश्वास दिलाउनु पर्छ । र, सबै नेताहरुले एकताको शूत्रमा बाँधिएर काम गरेर देखाउनु पर्नेछ । (लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ