arrow

कोरला नाका सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
korala.jpg.jpeg
मुस्ताङ। चीनसँग व्यापारिक कारोबारका लागि सबैभन्दा उपयुक्त मानिएको मुस्ताङको कोरला नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। दुई महिनाअघि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले स्थलगत अध्ययन र अनुगमन गरेपछि नाका सञ्चालनका लागि सुरक्षा, भन्सार, सडकमार्ग र अध्यागमन कार्यालय स्थापनाका लागि तयारी अघि बढेको हो।
 
समितिले सरकारलाई तत्काल नाका सञ्चालन गर्न सम्भव रहेको भन्दै चीन सरकारसँग आवश्यक कूटनीतिक पहल थाल्न र नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिएको थियो। कोरला नाकासम्म पुग्नका लागि ९३ किमी जोमसोम–कोरला सडकलाई स्तरोन्नतिसँगै विभिन्न स्थानमा पक्की पुल निर्माण गर्नुपर्ने देखिएको छ।
 
सडक निर्माण, स्तरोन्नति र पुलको काम सडक विभागले सुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार समितिको टोलीले अध्ययन गरेर फर्केपश्चात् सुरक्षा निकाय र भन्सार कार्यालयका लागि आवश्यक जग्गा छनोट गर्ने काम सकिएको जानकारी दिनुभयो।
 
सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित नेपाली सेनालाई समेत खटाउने योजनाअनुरुप सोही किसिमको भौतिक पूर्वाधार निर्माणका लागि जग्गा खरिद गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो।
 
जिल्ला सदरमुकाम जोमसोममा रहेको नेचुङ भन्सार कार्यालयले कोरला नाकाबाटै काम सुरु गरेको अवस्थामा त्यहाँ कार्यरत जनशक्तिलाई दोब्बर बनाउन तयारी गरिएको छ।
 
अहिले भन्सारमा कार्यालय प्रमुखसहित एकजना सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ। “नाका सुरक्षार्थ लोमान्थाङमा ब्यारेक राख्नका लागि पनि उपयुक्त जग्गा छनोट गरी नापी र नक्साङ्कनको काम सम्पन्न भएको छ, तत्काललाई लोमान्थाङको एक हजार रोपनी समथर सरकारी जग्गा प्रयोग हुनेछ” – प्रजिअ अधिकारीले भन्नुभयो।
 
नापी कार्यालयले तयार गरेको जग्गाको नक्सा भीमदल गण जोमसोम र जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको छ। यसैका आधारमा रक्षा र गृहमन्त्रालयले जग्गा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ