arrow

युवालाई भूमिका दिन कांग्रेस महासमितिले विशेष महाधिवेशन बोलाउने निर्णय गरोस्

logo
मोतिलाल भण्डारी 
प्रकाशित २०७५ मंसिर २९ शनिबार
moti-bhandari.jpg

 नेपाली काँग्रेस यतिखेर महासमितिमा प्रस्तुत हुने विधान, राजनैतिक आर्थिक र सांगठनिक प्रतिवेदनमाथि बहस र गुटगत भेला र आफू अनुकुल विधान परिमार्जन गर्ने दिशामा केन्द्रित छ । समग्रमा काँग्रेस बलियो बनाउने भन्दा आफू कसरी नेतृत्वमा पुग्न सकिन्छ भन्नेमा सीमित छ । 

नयाँ पुस्तालाई काँग्रेसमा आकर्षण गर्ने भ्रातृ तथा शुभेच्छुक संगठनलाई नियमन र बलियो बनाउने कार्य ओझेलमा परेको छ । काँग्रेस निर्माणको बलियो आधार वडा मानिन्छ । वडा कार्यसमिति बलियो बनाउने र अधिकार प्रत्यायोजन गर्ने, सघीयतालाई अधिकार सम्पन्न बनाउने भन्दा केन्द्रिकृत विधान निर्माण गर्नेमा बढी जोड दिइएको पाइन्छ । 

काँग्रेसमा नयाँ पुस्ताको लागि लगभग निषेध जस्तै छ । पार्टीमा अनुशासन छैन । पार्टी निर्णयमा सहभागितामूलक छैन । विधानको पूर्ण पालना छैन । पार्टीको कार्यक्रमहरु प्रायः शुन्य छ । वैचारिक पक्ष कमजोर छ । अन्य पार्टीलाई हेर्ने दृष्टिकोण वस्तुपरक छैन । संंगठनभित्र काम गर्ने भन्दा चाकडी गर्नेको प्रवृत्ति हावी छ । जनप्रतिनिधिहरुलाई नियमन गर्ने मापदण्ड नै छैन ।

पार्टीको जनतासँग जोड्ने भावनात्मक सम्बन्ध नै छैन । पार्टी लगायत भ्रातृसंगठन समय अवधिमा विधिपूर्वक अधिवेशन गर्ने र नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको विकास भएको छैन । जनतालाई सुशासन दिने र वर्गीय मुद्दाहरु उठाउने चलनको कमी छ । विगतका निर्वाचनमा अनपेक्षित हार व्यहोरेको शिथिल काँग्रेस यावत् समस्याहरुको बीचमा काँग्रेस महासमिति बैठक हुँदैछ । समग्र काँग्रेसजनलाई महासमितिले उत्साह दिन्छ या काँग्रेस महासमिति विगतको जस्तो कर्मकाण्डी बन्छ ? हेर्न बाँकी नै छ । 

महासमितिले समग्र काँग्रेस सुधारको निर्मम समीक्षा गरी भविष्य उज्यालो बनाउने दस्तावेजीकरण बन्छ, बन्दैन ? समाज विकासको तिब्रगति रोलमोडल आयामहरु आत्मसाथ गर्छ, गर्दैन ? नयाँ नयाँ विचारहरुलाई समावेश गरी पार्टीलाई आशा लाग्दो एकता प्रदर्शन गर्छ, गर्दैन ? 

जिम्मेवारी र कर्तव्यको पालना गरी नयाँ पुस्तालाई आह्वान गरी अन्य पार्टीका मानिसहरुलाई काँग्रेसमा आउँ आउँ भन्ने वातवारण बन्छ या बन्दैन ? समग्र जनता, राष्ट्रसेवक, व्यापारी, वुद्धिजीवीलाई आम सुरक्षाको प्रत्याभूत गरी विदेशी लगानी भित्र्याउने, शिक्षा, स्वास्थ्य, रोजगार र आवासको व्यवस्था मिलाउने र भ्रष्टाचार मुक्त समाजको बाटोमा अगाडि बढ्छ, बढ्दैन ? 

अनेक विषयहरुलाई चिरफार गरी काँग्रेस संचालनमा पारदर्शी भएर समाज विकासमा आसा जगाउन सकिने विधानबाट मात्र पार्टी सुधार हुन सक्छ । पार्टीको विधानको पूर्ण पालना र स्वार्थी आचरण सुधार गरी काँग्रेस सुधार गर्ने दस्तावेज बनाएर अगाडि बढ्ने हो भने काँग्रेस नयाँ र बलियो बन्न सक्छ । 

प्रजातान्त्रिक परिपाटीमा गत निर्वाचनमा पार्टी नराम्रोसंग पराजित भएपछि नियम अनुसार पनि वर्तमान नेतृत्वले पार्टीको जिम्मेवारी अर्काे पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । त्यो केन्द्र मात्र होइन जिल्लादेखि वडासम्म जिम्मेवारीलाई बदलिएन भने काँग्रेस बदलिदैन । देश बदलिदैन । लोकतन्त्र, गणतन्त्र सृदृढ हुँदैन । तसर्थ अहिलेको पुस्ताले काँग्रेस सुधारको लागि विश्राम लिएर नेतृत्व हस्तान्तरण गर्छ गर्दैन भन्ने बहस मात्रै छैन ।

समग्र लोकतन्त्रको शुद्धिकरण काँग्रेसबाट खोज्नको लागि पटकौ पटक सांसद मन्त्री केन्द्रीय समितिमा भएकालाई मात्र होइन न की नयाँ नयाँ विचार सिद्धान्त बोकेका युवाहरुलाई दियो भने काँग्रेस सुधार हुन्छ । यो कार्य गर्न महासमितिले विशेष महाधिवेशनको आह्वान गरी पार्टी सुधार गर्नुपर्छ । (भण्डारी काँग्रेसका युवा नेता हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ