रामेछाप। लामो समय त्रीपाल भित्रको कष्टकर जिवन विताउँदै आएका खिम्ती गाविस वडा नं १ मा बसोवास गर्ने भुकम्प पिडीतहरु गर्मि मौसमको आरम्भ सँगै उपियाको मारमा परेका छन्। उनीहरु सँगै गाउँमा पिडीतहरुको तथ्याकं संकलन गर्न पुगेको टोली पनि उपियाको कारण हैरानीमा परेका हुन्।
गत वैशाखमा आएको विनासकारी भुकम्पले आफुहरु वस्दै आएको घर भत्किएपछि अस्थायी टहरा र त्रिपाल मुनी वस्दै आएका भुकम्प पिडीतहरु अधिकासंको पुराना घरमा उपिया परेको र उक्त उपिया आफु वसेको अस्थायी टहरामा समेत फैलिएपछि त्यसवाट भुकम्प पिडीत सँगै आफुहरु समेत समस्यामा परेको लगत संकलन गर्न गाउँ पुगेका खिम्ती १ का सर्भेयर सजन पाण्डेले वताए। उनले भने उसै त एउटा घरको सवै काम सक्न कम्तीमा आधा घंण्टा लाग्छ त्यस माथी घर भित्र पस्नासाथ उपियाँको आक्रमणले काम गर्न पनि समस्या भईसक्यो।
उनले भने– सुन्दा सामान्य लाग्न सक्छ तर हामीलाई अनिवार्य रुपमा फोटो खिच्नको लागि घर भित्र पस्ने र वस्नै पर्ने, घर वरीपरिवाट समेत फोटो लिनु पर्ने हुँदा आफुहरु समेत उपियाको मारमा पर्नु परेको छ। उनीहरु सँगै नियमित रुपमा घरमा वस्दै आएका भुकम्प पिडीतहरुको लागि भने उपिया अभिषाप नै सावित भएका छन्। उपियाका कारण रातभर सुत्न सक्ने अवस्था छैन्। यति धेरै मात्रामा उपिया परेको अहिलेसम्म आफुलाई कुनै पनि जानकारी नभएको खिम्ती गाविस १ आत्मारामकी टिकादेवी खड्काले बताइन।
स्थानिय सामाजीक परिचालक प्रकाश खत्रीले भने अलिअलि उपिया परेको त थाहा थियो। यसरी सुत्न त के घर भित्र पनि पस्न नसक्ने गरी उपिया परेको त अहिलेसम्म पनि थाहा थिएन। बसेको टहरो छाडेर जाउँ कहाँ जाउँ उजुर गरौं कहाँ गरौं यस्तो अवस्था भयो। अरु त कुरै छाडौं लगत संकल गर्न आएको इन्जिनियरहरुको टोली समेत हाम्रा घर भित्रको उपियाले हैरान भएका छन्। जुन समस्या खिम्ती गाविसका अन्य वडाहरुमा समेत देखा पर्न थालेको छ।
गत माघ १७ गतेवाट लगत संकलनको काम सुरु गर्न पुगेको तीनवटा टोलीले नियमित रुपमा आफनो काम गरिरहेको र सो क्रममा वडा नं १ मा मात्र २ सय ५० घरको लगत संकलन काम सम्पन्न भैसकेको जानकारी तथ्याकं अधिकृत सुरेन्द्र रावलले जानकारी दिए। त्यसैगरी खिम्ती गाविसका विभिन्न वडाहरुमा काम सकलन गरिरहेका तीनवटा टोलीले करिव ७ सय घरपरिवारको लगत संकलन गर्ने काम पनि गरेको रावलले वताए।