भीमदत्तनगर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायीको हत्या गर्ने चारजना युवालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। आइतबार मध्यरातमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरस्थित होटल बैतडीका सञ्चालक ३८ वर्षीय दामोदर अवस्थीको हत्यामा संलग्न सोही नगरपालिकाका चार युवालाई मङ्गलबार प्रहरीले सार्वजनिक गरेको हो।
हत्यामा संलग्न हुनेमा झलारीपिपलाडी नगरपालिका–११ का १८ वर्षीय सुरज साउद, १८ वर्षीय ईन्द्रदेव भट्ट, १९ वर्षीय प्रदीप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन्। उनीहरुले होटल व्यवसायीको हत्यामा संलग्न चक्कु, होटलबाट लुटेको रु तीन हजार ५२०, मोबाइल सेटसमेत प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले हत्यामा संलग्न युवाले अत्यधिक मादक पदार्थ सेवन गरेर व्यवसायी अवस्थीको हत्या गरेको बताए। सोमबार बिहानै घटनास्थल पुगेको प्रहरीले सुरुमा हत्यामा संलग्न सुरज साउदलाई सोही क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। “सुरज पक्राउ परेपछि उनको बयानका आधारमा हामीले सबै हत्यारालाई पक्राउ गर्न सफल भयौँ” प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस