arrow

कांग्रेसको जारी महासमिति बैठक र वहसमा हिन्दु राष्ट्रको एजेण्डा

logo
डम्बर अधिकारी,
प्रकाशित २०७५ पुष २ सोमबार
congress-meeting.jpeg

तनहुँ । नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक धारको नेतृत्व गर्दे आईरहेको पार्टी नेपाली कांग्रेसको महासमिति बैठक राजधानीमा जारी रहेको छ । शनिबार देखि शुरु भएको महासमिति बैठकमा देश विदेशबाट गरी २ हजार भन्दा बढी महासमिति सदस्यहरुले सहभागिता जनाई रहेका छन् । विधानत नेपाली कांग्रेसको महासमिति बैठक प्रत्येक बर्ष हुनुपर्ने हो तर अहिले ६ बर्ष पछि कांग्रेसको महासमिति बैठक बस्दैछ । यसबाट नै के स्पष्ट हुन्छ भने कांग्रेस संगठानात्मक रुपमा कति कमजोर धरातलमा उभिएको  रहेछ भनेर । आखिर ६ बर्ष पछि भएपनि महासमिति बैठक आयोजना भएको छ यसले पार्टीको आन्तरिक जीवनमा राम्रै ऊर्जा थप्छ  भन्ने आम कांग्रेसी कार्यकर्ताको ठम्याई रहेको छ ।

इतिहासको पाना पल्टाएर हेर्ने हो भने कांग्रेसकै नेतृत्वमा यो मुलुकबाट १०४ बर्षिय जहाँनिया राणा शासन, ३० बर्षिय पञ्चायती व्यवस्था , २ सय ४० बर्ष लामो निरङकुश राजतन्त्रको अन्त्य भएको छ ।त्यस्तै मुलुकमा संविधान जारी गर्ने देखि मुलुकलाई संघीय संरचनामा लैजाने विषयमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको घाम जस्तै छर्लङग छ । इतिहास देखि वर्तमान सम्म नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दे गर्दा पनि कांग्रेस गत  बर्षको प्रतिनिधी र प्रदेश सभा निर्र्वाचनमा भने नराम्ररी बढारिन पुग्यो । अर्थात चुनावमा  हार्न पुग्यो । जसले गर्दा प्रतिनिधी र प्रदेश सभामा कांग्रेसको उपस्थिती निकै कमजोर रहेको छ । तैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको ध्यान कांग्रेसमा केन्द्रित रहेको छ । यसै सिलसिलामा यतिखेर  राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको ध्यान  कांग्रेसको जारी महासमिति बैठकमा केन्द्रित रहेको छ ।

कांग्रेसको जारी महासमिति बैठकमा राजनीतिक ,आर्थिक र सांगठानिक विषयमा व्यापक रुपमा छलफल हुँदैछ ।जुन छलफलमा महासमिति बैठकमा सहभागी सदस्यहरुले उत्साहजनक रुपमा सहभागिता जनाउँदै छन् । तर महासमिति बैठकको सुरुवातीमा नै  विधान मस्यौदाको विषयमा देखिएको किचलोले बैठकमा सहभागी सदस्यहरुमा मात्र होइन आम कांग्रेसी कार्यकर्ताहरुमा महासमिति बैठकले जुन ऊर्जा थप्नु पर्ने हो त्यसमा केही कमी आउने संकेत देखिएको छ । त्यस्तै कांग्रेस महासमिति बैठक जारी रहेकै अवस्थामा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी ,पूर्व सांसद शंकर पाण्डे, नेपाली कांग्रेस डडलेधुरका सभापति कर्ण मल्ल लगायतका नेताहरुको अगुवाईमा ६ सय भन्दा बढी महासमिति सदस्यहरुको समर्थनमा  वैद्धिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि हस्ताक्षर संकलनको जुन अभियान अगाडि सारिएको छ ।यसले नेपाली कांग्रेसको आन्तरिक राजनीतिक एक तरङग उत्पन्न हुन पुगेको छ ।

 हिन्दु राष्ट्रको पक्षमा कांग्रेसको महासमिति बैठकमा जुन आवाज उठेको छ ।त्यसलाई कांग्रेस पार्टीले गम्भीरता पूर्वक नलिने हो भने भोली जनता माँझ जाँदा  महङगो मूल्य चुकाउनु पर्ने अवस्था सिर्जना हुन सक्दछ । सिङगो मुलुकबासीको भावनालाई मध्यनजर गर्ने हो भने वहुसंख्यक हिन्दुहरुको थलो रहेको नेपाललाई हिन्दु राष्ट्र घोषणाको  एजेण्डा कांग्रेस महासमिति बैठकले अगाडि बढाउनुपर्ने देखिन्छ ।तर विभिन्न वाह्य शक्तिको दबाबका कारण पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरु हिन्दु राष्ट्रको एजेण्डालाई अगाडि बढाउन सकिराखेका छैनन  । यहाँसम्मकि महासमिति बैठक अगाडि हिन्दु राष्ट्रको एजेण्डालाई सशक्त ढंगले उठाउँदै आएका महामन्त्री डा. शंशाक कोइराला समेत यतिखेर मौन हुन पुगेका छन् । महामन्त्री कोइरालाको मौनतालाई पनि यतिखेर निकै चासोका साथ हेरिराखिएको छ ।


कांग्रेस महासमिति बैठकमा अहिले हिन्दु राष्ट्रको मुद्धा जुन हिसाबले उठेको छ ।त्यो कुनै मजाक हिसाबले उठेको होइन ।मुलुकलाई धर्म निरपेक्षता घोषणा गरिएसगै चौतर्फी रुपमा हिन्दुत्व माथि प्रहार गर्ने काम भई रहेको छ ।  यहि हिसाबले हिन्दुत्व माथि प्रहार भईरहने हो भने हिन्दु धर्म र नेपाली सस्कृति एकादेशको कथा बन्ने निश्चित छ ।यस्तो अवस्थामा कांग्रेस जस्तो जिम्मेवार पार्टी गम्भीर नहुने भने मुलुकको अस्तित्व नै खतरामा पर्ने निश्चित छ । नेपाललाई धर्म निरपेक्षता घोषणा गरे लगत्तै कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले हिन्दु धर्मको पक्षमा खुलेर वहस चलाएका थिए । त्यतिबेला उनलाई भष्ट्रचारको दाग मेटाउनका लागि हिन्दु धर्मको खोल ओढेको आरोप समेत लागेको थियो । तर स्वर्गीय खड्काले उठाएको हिन्दु धर्मको मुद्धा अहिले कांग्रेस महासमिति बैठकमा बहसको विषय बन्न पुगेको छ ।

यद्यपी कांग्रेस केन्द्रीय कार्य समितिमा हिन्दु धर्मको एजेण्डा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उठाउँदै गर्दा कांग्रेसकै उपसभापति विमलेन्द्र निधीले हिन्दु धर्मको एजेण्डा उठाउने भण्डारी सहितलाई निधीले प्रतिगामीको संज्ञा दिएको अवस्था छ । कांग्रेस भित्र हिन्दु धर्मको एजेण्डा उठाउनेहरु निधीले भने जस्तै प्रतिगामी नै हुन त त्यो त इतिहासले मूल्याङकन गर्ने नै छ ।

यही बीचमा कांग्रेस महासमिति बैठकलाई सम्बोधन गर्दे कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सनातन धर्म जोगाउनलाई महासमिति सदस्यहरुलाई अपिल गरेका । केपी ओली नेतृत्वको दुई तिहाईको सरकारले नेपालको धर्म माथि प्रहार गरेको भन्दै महामन्त्री खड्काले यस किसिमको अपिल गरेका हुन् । महासमिति बैठकमा महामन्त्री खड्काले सनातन धर्मको विषयमा जुन अपिल गरेका छन् । त्यो अपिलको वर्तमानमा कुनै महत्व जस्तो नदेखिए पनि भावी पिढीले भने उच्च मूल्याङकन गर्ने निश्चित छ ।

(लेखक तनहुँबाट प्रकाशित हुने सेतीमादी दैनिकका सम्पादक हुन ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ