विराटनगर । उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले कमल थापा कै नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति बन्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै गच्छदारले यस्तो बताएका हुन् ।
व्यक्तिको विषयमा विवाद गर्नु उचित नभएको बताउँदै गच्छदारले कमल थापा कै नेतृत्वमा समिति बन्नुपर्नेमा जोड दिए । समिति बनेर विवाद समाधन हुनु प्रमुख कुरा भएकोले कस्को नेतृत्वमा समिति बन्यो त्यसमा विवाद गर्न नहुने मन्त्री गच्छदारको धारणा छ ।
सिमाङ्कनको विषय एकै पटकमा कुनैपनि मुलुकमा टुङ्गो नलागेको बताउँदै गच्छदारले संघियता सहितको संविधान जारीहुनुृ नै ठुलो उपलब्धी रहेकाले यसमा विवाद नगर्न मधेशी दललाइ आग्रह गरे ।
सात प्रदेशको खाकामा आफुलाई समेत चित्त नबुझेको कुरा राख्दै गच्छदारले संघीयताको खाका सहितको संविधान जारी हुनु आफैमा ठुलो उपलब्धी भएको जिकिर गरे । बाहिर बसेर संविधानको विरोध गर्नुको कुनै तुक नहुने बताउँदै दिगो शान्तिका लागि सहमतिमा आउनुको कुनै विकल्प नरहेको उल्लेख गरे ।