arrow

धर्मको चंगुलमा कांग्रेस नफसोस

logo
बद्री ओझा,
प्रकाशित २०७५ पुष ३ मंगलबार
congress-mahasamiti.jpg

नेपाली कांग्रेसको राजधानीमा जारी महासमिति बैठकमा हिन्दु धर्मको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ।पुस २ गते बेलुका ७ः५० मा मेरा मित्रहरु, अजय, माधव र अखिलले चलाएको लोकप्रिय अनलाइन हाम्राकुरामा यो माथिको समाचार पढ्न पाएँ । अरुको विचार के छ त्यो उहाँहरुले बिस्तारै खोल्दै गर्नुहोला मलाईचाहीँ सारै खसखस लागेर यो गनथन लेखें । 

मैले सुने अनुसार भारत स्वतन्त्र भएपछि सन् १९४८ मा तत्कालीन भारतीय गृहमन्त्री थिए रे बल्लभ भाइ पटेल । प्रधानमन्त्री थिए, जवाहरलाल नेहरु । पटेलले एउटा प्रस्ताव राखेछन् । अब भारत त स्वतन्त्र भयो । यसै बेला भारत वरपरका ससना देशहरु जस्तै नेपाल,सिक्किम लगायतका मूलुक पनि भारतमा गाभ्नुपर्छ । 

त्यति बेलासम्म भुटानको स्वतन्त्र अस्थित्व विश्वसामु आइसकेको थिएन । केही तिब्ब्ती मूलका मानिसहरु डाँडाकाँडामा बसोबार गर्थे र समथर तथा बढी कृषि हुने ठाउँमा नेपालीहरु । कोही लगिएका र कोही लघारिएका । यो कसैप्रति आरोप होइन तर भुटान जानेमध्ये कतिपय मानिसहरु नेपालबाट डाँडा कटाइएका पनि हुन्थे रे । 

जानकारीको कमीकै कारण पटेलले भुटानको कुरो उठाएनन् होला । उपनिवेशको मारमा थलिएका भारतीयहरुले भुटानबारे खासै जानकारी नपाएका पनि हुनसक्छन् ।

पटेलको प्रश्नको जवाफ बढो तार्किक ढंगले दिए नेहरुले । पटेल तिमीले भनेको त ठिकै हो तर एउटा कुरा बुझ । हामी राजनीति गर्ने मान्छे । हामीलाई सत्ताको लोभ जाग्नु स्वभाविकै हो । तिमीलाई थाहै छ , नेपालमा बीपी कोइराला भन्ने नेता छन् । उनीलाई हामीलाईभन्दा बढी भारतीय राजनीतिबारे जानकारी छ । उनी भारतीय स्वतन्त्रता संग्राममा पनि तिमीहामी जति नै खटेका छन् । उनी हामीभन्दा माथिल्लो कोटीका व्यक्तित्व हुन् । त्यसैले हाम्रो सत्ता टिकाउन पनि बीपी जिउँदोहुञ्जेल नेपाललाई भारतमा मिलाउनुहुँंदैन । बरु हरतरहले नेपालका स्थापित संस्थाहरु कमजोर पार्दै नेपाललाई कालान्तरमा भारतमा मिल्न वाध्य पार्नुपर्छ । 

यसपछि पटेल चुप लागे । अर्को वर्ष पटेल मरे तर नेहरुले सन् १९६५ सम्म राज गरेर मर्ने बेलामा पनि आफ्नी छोरीलाई नेतृत्वमा ल्याएर गए । इन्दिराको त कुरै छोडौं, कंग्रेस नै कांग्रेस आइ अथवा इन्दिरा कांग्रेसको नामबाट अझै राजनीति गर्दैछ। सन् १८५० मा गठित कांग्रेसको नाम अहिले कांग्रेस आइका नामले परिचित छ । उनी मारिएसँगै छोरा राजनीतिमा आए, अहिले उनको नातिको जमाना आएको छ ।

यसबीचमा भारतले जहिल्यै पनि नेपाललाई कमजोर पार्ने दाउ खेलिरह्यो । मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड आदिबारे तथ्यागत छानबनि गर्न नसकनुपछि के कारण छ त ? भारतको दबाबबाहेक केही छ ? किन सेनाको परमाधिपतिले आफ्नो पतिको हत्यारा पत्ता लगाउन सकिनन् , सकिनन् कि डराइन् ? शुशिल कोइरालाको हत्या भयो भन्नेहरुको कमी छैन सत्य कुरो केहो ? किन सत्य बोल्न डराउँछन् नेताहरुरु कसको डर छ ?

भारतीय नेताहरुको हेपाहा नीति सहन नसकेर नेपालको अस्थित्व जोगाउनुपर्छ बरु जेल बस्नुपरे बसौंला भनेर बीपीले राजासँग मिल्न प्रस्तावसहित नेपाल फर्केका थिए । बीपीपछि केपी, जीपी, सुशिलदा हुँदै अहिले देउवा पार्टीको सत्तामा छन् । बीपी निर्वासनमा बसेकै बेला भरत शमशेरले नेपालमा जातीय दंगा फैलाएर आन्दोलन अघि बढाउने प्रस्वात लगेको बीपी स्वयंले लेखेका छन् । त्यतिबेला भरत शमशेरलाई बीपीले अरु सबै गरौं जातीय दंगाको कुरा नगर । यसले देशलाई नै खाइदिन्छ भनेर थुमथुम्याएका रहेछन् । 

पञ्चायत कालमै भारतले सिक्किमलाई भारतमा गाभ्न सफल भो भने भुटानलाई उपनिवेशमा राख्न सफल भयो । नेपालले उठाएको शान्ति क्षेत्रको प्रस्ताव अस्वीकार मात्र गरेन, नाकावन्दी गरेर देशलाई नेपाललाई कमजोर बनाउने प्रयत्न गर्यो । यही मौका पारेर प्रतिवन्धित पार्टीहरुले आन्दोलन गरे । पञ्चायत ढल्यो । त्यसयता स्थिरताको कुरा भएपनि अस्थिरता छायो । माओवादीको द्धन्द्धले देशलाई थल्यायो । 

यति लामो गनथन गरेको एउटा कारण छ, त्यो हो कांग्रेसको अवस्था । संविधान लेख्ने बेलामा र जारी गर्ने समयमा कांग्रेसलाई हिन्दु राज्य चाहिएन, अहिले किन चाहियो ? एजेन्डा नभए गाउँ पस्ने नि, संगठन बलियो बनाउने, गुटउपगुट मास्दै जाने नि । के कांग्रेसलाई डाक्टर केसी वा निर्मलाको हत्याराले मात्र राजनीति गर्ने मेलो सिकाउनुर्ने भो अब ? निर्मला वा डाक्टर केसीका मुद्दालाई नजरअन्दाज गरौं भन्ने आशय होइन तर खै त कांग्रेस सिर्जनशिल बनेको ? प्रजातान्त्रिक पार्टीले पनि कुनै एउटा धर्म, जात, सम्प्रदाय वा समूहको वकालत गर्न मिल्छ र ? कस्तो प्रजातान्त्रिक पार्टी बन्दैछ कांग्रेस ? बीपीका कान्छा छोरा तथा पार्टी महामन्त्रीको यही हो त सोच ? यसबेला कांगेसको भलो चाहने र कांग्रेसको ओतमा बसेकाहरुले पार्टी नेतृत्वलाई सजक तुल्याउनुपर्छ । एकदुई वर्ष विपक्षमा बस्दैमा कांग्रेसको आदर्श टुट्नुहुँदैन । प्रजातन्त्र अहिलेसम्मको उत्कृष्ट शासन पद्दती भनिन्छ । यदि त्यसो हो भने कांग्रेसले हतास हुनुपर्दैन । 

हल विश्वमा अमेरिकाभन्दा चीन ठुलो अर्थतन्त्र छ । अमेरिकाभन्दा कुवेतमा प्रतिव्यक्ति आय करिव दोब्बर छ । तर किन मानिस अमेरिका जान रुचाउँछन् रु किन चीन वा कुवेत जाने मन गर्दैनन् रु कारण एउटै छ, त्यो हो स्वतन्त्रता । अमेरिकामा व्याप्त स्वतन्त्रता जसका लागि मानिस सबै त्याग्न तयार छ । अमेरिकन लाइफ भन्ने भनाइ नै छ । 

नेपाली कांग्रेसले यो कुरा बुझोस् र हिन्दु वा गैर हिन्दु कुनै पनि धर्मको एजेन्डा नउठाओस् । यस्तो आकस्मिक लाभको सपना देख्नुहुन्न, प्रजातान्त्रिक पार्टीले । फेरि धर्मको दंगामा सपोर्ट नगरोस् । नेपालमा विस्तारै विस्तारै उत्तरकोरियाको छाया पर्दैगएको आरोप लगाइन्छ । यस्तो बेलामा प्रजातान्त्रिक पार्टी हिन्दु धर्मको नारा लिएर अघि बढ्ने कि जनताको छनोटको अधिकार सुरक्षित गर्नतर्फ लाग्ने ? योभन्दा राम्रो त संविधान लेख्ने समयमा नै धर्म र राजतन्त्रबारे छनोट गर्ने अधिकार जनतालाई नै दिऔं भन्न सक्नुपथ्र्यो नि हैन र ? 

अब पनि कांग्रेसले अपरिपक्व विचार अघि सार्दै जाने हो भने यो अतिवादीको चंगुलमा फस्नसक्छ । यसबाट देशलाई अझ ठूलो घाटा पुग्छ, बीपीको सिद्धान्त ओझेल पर्दै जान्छ र छिमेकीहरु नेपाल निल्न तयार हुन्छन्। त्यसैले यतिबेला कांग्रेस महासमितिले गम्भीर भएर सोच्ने बेला आएको छ । सोचौं र अतिवादको चंगुलमा नफसौं , फेरि भरत शमशेरको प्रस्तावलाई अंगिकार नगरौं भन्ने कांग्रेसको ध्येय होस् ।

(ओझा सामाजिक चासोका विषयमा कलम चलाउँछन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ