arrow

कांग्रेस महासमितिको अफबिटः नेताहरुको लभ अफेयरदेखि बानीब्यहोरासम्म

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुलाई गाली गर्न खासमा विपक्षी नचाहिने रहेछ । आफ्नै कार्यकर्ताले काण्ड पुर्याउँदा रहेछन् । पार्टीको भावी रणनीति, विधान, कार्यकर्ता परिचालनका नयाँ मार्गदर्शनमा गतिलो नतीजा निस्केला भनेर आफ्नै खर्चपर्च व्यहोरेर राजधानी छिरेका जिल्ला जिल्लाका नेता कार्यकर्ता लगभग निराश बनेर फर्किने छाँट देखिएको छ । 

महासमिति सदस्यहरुलाई जे विषयमा चासो छैन, शीर्ष टोपलिने नेताहरुलाई त्यही चाहिएको छ । जे विषयमा उनीहरुको चासो र शीर्षहरुलाई त्यसको वास्तै छैन । महासमितिले पार्टीलाई पुनर्जीवन देओस्, कार्यकर्तामा उत्साह भरोस् भन्ने उनीहरुको मुख्य चासो छ । 

नेता शीर्षहरु कसलाई पल्टाउने, कसलाई उचाल्ने कसलाई थचार्ने, कस्का कुरा समेट्ने कसलाई उडाउने यस्तैमा केन्द्रित भएका छन् । यो मन गणन्ते कुरा होइन । जिल्ला जिल्लाबाट राजधानी आएका काँग्रेसका इमान्दार कार्यकर्ताको भित्री चाहना देखियो । 

खासमा पदाधिकारी संख्या कति राख्ने, कसरी राख्ने भन्ने विषयमै लफडा देखिएपछि शीर्षहरुले सिंहदरबारमा केन्द्रीय समिति बैठक राखे सोमबार दिउँसो । पार्टीका शीर्ष नेताहरु सिंहदरबार लागेपछि, महासमिति प्रतिनिधिहरु फुर्सदिला भए । कतिले प्रश्न पनि उठाएः बिधानका सबै कुरा केन्द्रीय समितिले नै मिलाउने भए हाम्लाई के खान बोलाको ? 

बस्ने ठेगाना पनि आफैंले व्यहोर्नु पर्ने, सबै उनीहरुले नै भनेको मान्नुपनि पर्ने ? यस्तै पाराले त हो नि चुनावमा सोत्तर भइएको । उदयपुरबाट आएका हरिबहादुुर खड्काले र धनुुषाका मनहरि श्रेष्ठले एक्कैचोटी रिस पोखे । 

सबै लाद्ने मात्रै । भन्न त हुँदैन खासमा नेताहरुको सोच अझै सामन्ती नै छ । जमिन्दारी पारा कायमै छ । हामीले जे भन्छौं त्यो सबै कार्यकर्ताले पालना गर्नैपर्छ । जनसम्पर्क बढाउन जानु छैन । राजधानी छाड्नै मन नगर्ने । अनि भोट चाहिँ हामीले नै हालिदिनुपर्ने रे । पार्टीको हीत कसरी हुन्छ भन्नुस् त । अर्का प्रतिनिधि कड्किए ।

समय कटाउन नेताहरुको प्रसंग – को नेता कस्ता ? 
काँग्रेस महासमिति बैठकमा १५ सय हाराहारीका प्रतिनिधि यतिबेला राजधानीमा छन् । शीर्ष नेताहरु आफ्ना लागि (प्रतिनिधिहरुको भनाइमा) कुरा मिलाउने कसरतमा लाग्दा, उनीहरुले पुराना साथीहरुसँग गफ्फिने फुर्सद पाएका छन् । 

पुराना दिन, अनि नेताहरुको प्रसंग उक्काउनेहरुको बातै अलग छ । सिराहाबाट आएका रहेछन् एकजना नेता । नाम नभन्दिनु भने पत्रकार हो भनेर चिनेपछि । उनले प्रदीप गिरीको प्रसंग उक्काए । भाषण त साह्रै राम्रो गर्छन् । पैसाको लोभ गर्दैनन् । तर उनलाई कताबाट पैसा आउँछ, पत्तै हुँदैन । 

पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीदेखि नेतृ सुजता कोइरालासम्मलाई चुनावको बेला आर्थिक सहयोग गर्दा रहेछन् नेता गिरीले । उनलाई सहयोग विदेशतिरबाटै आउने ठोकुरा गरे उनले । विद्वान बाहेक पार्टी भित्र र चिने जानेकोले उनलाई लभर बोइको रुपमा चित्रित गरे । पार्टीका शीर्ष तहमा पुुगेका नेतृसँगको अफेयर सुनाए उनले, गिरीसँग जोडेर । निधारमा चोटको खत समेत छ त, उहाँको त । त्यो पनि चक्करै कारण हो नि, उनले दाबी गरे । त्यसो त बेलाबखत गिरी आफैंले लेखेरै आफ्नो प्रेम प्रसंगबारे बोलेका छन् । 

तपाईंले थाहा पाउनु भएन गिरिजाबाबुको कुरा ? अर्का नेता रौसिए । शारदा शर्माले लेखेकै छिन् नि भारतको अस्पतालमै गिरिजाबाबुले सुम्सुम्याउनु भो भनेर । तर गिरिजाबाबुको स्मरण क्षमता चाहिँ अचम्मकै थियो उनले थपे ।

गिरिजाबाबुसँग एक पटक अलिकति कुरा भयो भने, १० वर्षपछि भेट्दा पनि नामै तोकेर बोलाउने के छ कसो छ भनेर सोध्ने । तर कृष्णप्रसाद भट्टराई भने आज भेटेको मान्छे भोली नै बिर्सिने रे । त्यसैले संगठन बनाउन गिरिजाबाबु एक नम्बर हो, उनले सुनाए । 

त्यही हुलमा अहिलेका जल्दा बल्दा नेता बालकृष्ण खाणको प्रेम प्रसंग पनि उठ्यो । ती नेताले सुनाए, जसको घरमा भाडामा बसे नि, त्यही घरकी मालिक्नी उडाए नि उनले त । मान्छे हिरो थियो अनि अफेयरमा खक्कु पनि । अहिले खाण देउवाको दाहिने हात छन् । 

त्यही मेसोमा सभापति शेरबहादुर देउवाको प्रसंग पनि उठ्यो । देउवाले जसलाई च्यापे उसले पार्टीमा माथिल्लो तहमा ठाउँ पाएको उनले सुनाए । चक्करमा कत्तिको लाग्थे नि देउवा ? जान्न मन लायो । नामै त नभनुम् दुुई चार जना त मलाई थाहा नै छ । उनी पनि आरजुसँग नबाधिँदासम्म त खग्गु नै हुन् नि । आरजुसँग बिहे भएपछि भने उनी त्यसरी हिँडेको थाहा छैन, उनले सुनाए । 

रामचन्द्र पौडेलको पनि थाहा छ ? मैले उनीसँग भने खासै हिमचिम बढाइन । त्यसैले उनको भित्री कुरा चाहिँ थाहा भएन है । उनी टक्टकिए । 

हिन्दु राष्ट्रको प्रसंग–
महासमिति बैठकमा भाग लिएन आएका सदस्यले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान नै चलाएका छन् । बैठकमा भाग लिन आएका करीब आधाजति प्रतिनिधिले हस्ताक्षर गरेका छन् । तीमध्येका एक हुन् गुल्मीका गोकर्ण पौडेल । 

लामै समय गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव बनेका पौडेलले चेतावनीकै भाषामा भने, विधानमा नेपाल हिन्दु राष्ट्र भनेर लेख्ने छाँट देखिएन भने हस्तक्षेप नै गर्नु पर्ने अवस्था आउँछ, हेर्दैजानु होला । काँग्रेसले हिन्दु राष्ट्रको एजेण्डा छाडेर पाप कराएको समेत हस्ताक्षरकर्ताको भनाइ छ । 

उनीहरुको जिकिर छः २००७ सालदेखि उदाएको काँग्रेको पक्षमा त यति धेरै मत छ, कार्यकर्ता छन्, साढे २ वर्षदेखिको राजसंस्थाका मान्छे छैनन् भन्ने हुन्छ ? काँग्रेसले हिन्दुराष्ट्रको पक्षमा वकालत गर्न थाल्ने हो भने, ती सबै राजाबादीहरुले समेत मत दिन्छन् । 

व्यवस्थापनका कुरा -
नेपाली काँग्रेसले महासमिति प्रतिनिधिका लागि दिउँसोको खाजा र बिहान बेलुकाको लागि राम्रै खानाको व्यवस्था गरेको छ, तर बस्नका लागि उनीहरु आफैंले बन्दो बस्त गर्नुपरेको छ । बिधान मस्यौदाको विषयमै नेताहरुले झमेला निकाल्दा बैठक लम्बिने छाँट देखिएको छ ।

उनीहरुले भने अस्तीको दिन शेरबादुर दाइले हिजो रामचन्द्र दाइले ख्वाउनु भो अब आज भोली कस्ले ख्वाउने हुन् थाहा छैन । यति बैठक लिम्बयो भने यिनीहरुले हामीलाई होटलको समेत व्यवस्था गर्नुपर्छ । 

उनीहरुको चित्त दुखाई महाधिवेशन स्थलको विषयमा पनि छ । केही न कामको फोहर फाल्ने ठाउँमा ल्याएर राखेको छ । काठमाडौंमा अन्त अलि राम्रो ठाउँमा बैठक गर्ने ठाउँ छैन हो ? हेर्नुस् त कस्तो छ यहाँको फोहर ? केही प्रतिनिधिहरु फोहरको डुुंगुर थुपारेको ठाउँमा बसेर गनगन गर्दैथिए । 
 
जम्मा दुुई जनाको कुरा हो - 
नेपाली काँग्रेसमा स्थापना कालदेखि नै दुुईजनावीच दुुई शीर्षहरुको टक्कर पर्दै र सहकार्य हुँदै  आएको हो । बीपी—मातृका । बीपी—सुर्वण । कृष्णप्रसाद—गिरिजा । गिरिजा—गणेशमान । गिरिजा—शेरबहादुर । सुशिल—शेरबहादुर र अहिले शेरबहादुर–रामचन्द्रको टक्कर । 

अनौपचारिक छलफलमा रमाउँदै गरेका प्रतिनिधिले ठीकै भने अहिले पनि देउवा र पौडेलको कुरा मिल्यो भने दुुई मिनेटमा बिधान मस्यौदाको विवाद सकिन्छ । करीब डेढ घण्टाजति गफिँदै गर्दा उनीहरुले भावी नेतृत्वबारे पनि बोल्न भ्याए । 

उनीहरुको भनाइ थियो, देउवाले कोइराला परिवारका कुनै एक सदस्यलाई आफ्नो तिर पार्न सके पनि फेरी उनैले बाजी मार्छन् । नत्र त उनका लागि सभापतिको यात्रा बिट मर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ