- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली जनताले कतै मन नपराएको भएपनि एउटा कार्यक्रम सम्पन्न भैसकेको थियो मंसिर मध्यमा । आयोजकले एशिया प्याशिफिक समिट भनेपनि अरु सबैले त्यसलाई इसाई धर्म सम्मेलन भनी चिने । उद्घाटन, समापन, ब्लेजिङ देखिका सबै कामहरुले नै यो सम्मेलन कस्तो हो भन्ने आफै परिचित भयो ।
जे होस त्यो सभापछि प्रधानमन्त्रीले पाएको एकलाख डलर इनाम हो कि पुरस्कार ? भन्ने बाहेक अरु कुराहरु सामान्यतया विर्सँदै गइएको थियो । प्रधानमन्त्रीले पाएको एक लाख डलर देशको अस्तित्वसंग जोडिएको हुनाले यसले कतै अन्यथा गर्ने हो कि, दातासंस्थाले बढी नै खेलाउने हो कि भन्ने चिन्ताले यसको चर्चा पछिसम्म भैरहेको हुनुपर्छ । त्यसैपनि यो एउटा पुरस्कारका रुपमा आएन । त्यसकारण नै यो इनाम हो कि पुरस्कार ? भन्ने प्रश्नको घेरामा परेको हुनुपर्छ । दिनेले पनि गोजिबाट खुसुक्क झिकेर दिए र लिनेले पनि खुसुक्क गोजिमा राखे । यो दृश्य देखिरहेकाहरुले यहीबाट यसमाथि प्रश्न खडागर्न थालेका हुन जो आहिलेसम्म कायम छ र शंका बढाउँदैछ ।
त्यसैबेला देखिनै यो रकमलाई पुरस्कार भन्नेमा स्वयं प्रधानमन्त्री मात्र एक्ला थिए । उनले यसलाई पुरस्कार नै भनिदिन सबैसंग धम्कीपूर्ण आह्वानपनि नगरेका होइनन टेलिभिजन मार्फत । उनको गुनासोमा आफनो प्रधानमन्त्रीको मान–सम्मानसम्म गरिएन भन्ने थियो । तर विज्ञहरुले चाहिँ आफुले पनि त आफनो इज्जतको ख्याल गर्नुपर्छ भनिरहेका छन र जस्तो देखे त्यस्तै लेखिरहेकै र बोलिरहेकै छन । यहाँ नेर प्रधानमन्त्रीको ‘मूर्छा मन्त्र’ले पनि काम दिएन ।
यता देशभित्र यस्तो चलिरहँदा उता यस्तो रकमदिने संस्थाको हेडक्वार्टरबाट पनि केही थप कुराहरु आउन थाले जो इमान असूलीका सन्दर्भमा बुझन सकिन्छ । अर्को पक्षको त उद्देश्य नै त्यस्तै थियो जो पुरा भयो र सम्मेलनको भोलि पल्टैदेखि र नेपाल भूमिबाटै यसका आयोजकले मनाउन थालेका विजय दिवस कोरिया फर्किएर पनि अझै निरन्तरनै चलिरहेको पाइयो जसमा नेपाल पुरै क्रिश्चियन भएको दावी गरिरहिएको छ । कतिसम्म भने परमेश्वरका स्वाघोषित कथित छोराछोरी नेपाल आउँदा यहाँको सर्वोच्च निकाय संसद र राज्यले राष्ट्रिय शन्ति दिवस मनाउने भएछ । पछिल्लो सम्मेलन पनि यो देशका लागि त्यस्तै राष्ट्रिय दिवस नै भयो अरे । सम्मेलनपछिका रिपोर्टहरुले यस्तै बुझाउन खोजेका पाइयो ।
नेपालका कुनै पनि राष्ट्रिय दिवस तोक्ने काम पनि अव यो चर्चले गरिदिने भयो । महत्वपूर्ण पदमा बसेका व्यक्तिहरुले कसैको शब्दजाल र रकम जालमा लोभिएर जथाभावी यसरी इनाम ग्रहण गर्दा, यस्तो इनामको लोभमा त्यस्ता ठग प्रकारका व्यक्तिहरुको अनावश्यक चाकरी गर्दा त्यसले देशको अवस्था कस्तो हुँदो रहेछ भन्ने भर्खरै कायम हुन थालेका छन उदाहरणाहरु । यसको परिणाम ओइरिन थालका छन र नै प्रधानमन्त्रीको काम देशको अस्तित्वसँग जोडिन गायो यति छिटै । यो बेलासम्म नेपालकाबारे दिन थालिएको गलत परिचय सम्वन्धमा सरकार मौन छ । प्रश्न उठेको छ यो मौनताको पृष्ठभूमि प्रधानमन्त्रीले प्राप्त गरेको त्यो एकलाख डलर त होइन ?
त्यो धनराशी र त्यसको प्रकारको कुरा उठदा एउटा प्रश्न फेरी पनि उठछनै यो पुरस्कार नै थियो भने गौरव मान्नु पर्नेमा यतिबेला खेद प्रकट भैरहेको दु:खद अवस्था किन आयो ? हो, पहिले इनाम दिइएको भनिँदा प्रधानमन्त्रीलाई रिस उठेको हुनुपर्छ त्यसलाई स्वाभाविक मानौ । तर अहिले त यति रकम दिएर यतिकाम गर्न लगाइयो र भविश्यमा अझै यस्त यस्ता काम गराउनु पर्छ भनी नोट गरिएका कुरा आउन थालेका छन भने त यसको जवाफ प्रधानमन्त्रीले दिनै पर्छ ।
सरकारले किन ढाट्यो
केही अघि सम्पन्न भएको धर्मसभाको यो एउटा घटनामा सरकारले आफना नागरिकलाई दुई कुरामा गम्भीर रुपले ढाटेछ । सरकारको भनाइ थियो यो धर्मसभा होइन । दोस्रो, यसको आयोजक सरकार होइन भनिनै रहियो पछिसम्म । तर यो कुरा यता सरकार भन्दै गयो र उता उधाँरिदै पनि । यूपीएफको टेलिभिजन च्यानल पिस टिभीका अनुसार यो धर्मसभा नै हो र आयोजक आफुसहित नेपालको केन्द्रीय सरकार । यसो हुँदा प्रभावमा फेरी जोडिन आयो त्यही एक लाख डलर । नत्र किन आफु आयोजक होइन भनियो र चर्चको भेलालाई धर्म सभा मानिएन, अनि यसका सम्पूर्ण काम चाहि आफैबाट सम्पन गरियो र यता आफना जनतासामू चाहि लुक्दै हिडिनु पर्ने भयो ? नेपाली जनताले आफनो सरकार संग सोधेको यो प्रश्न अहिलेसम्म निरुत्तर छ ।
एक लाखको उद्देश्य
यो सभा सकिएको हप्ता डेढ हप्तामै यो एकलाख डलरको उपलब्धता एउटा खास मिसनका लागि रहेछ भन्ने क्रमश खुल्न थाले । यो कुरा परमेश्वरकी एक्ली छोरी सहितको यो टोली कोरिया फर्किएपछि प्रकट हुन थालेका थिए जो जारी छन् । पहिले सम्मेलनको मात्र कुरा थियो । अब नेपालको परिचयनै फेर्न तयार भयो त्यो इशाइ धर्मप्रचार संस्था । त्यति हुँदापनि नेपाल सरकारले नदेखे जस्तो गरिरहेको अवस्था छ यतिबेला जुन त्यही इनामको प्रभाव वा भनौं त्यसको सोझो गरिरहिएको मानेकाछन विज्ञहरुले ।
अपमान गर्ने रिपोर्ट
यूपीएफ टेलिभिजन च्यानलको एउटा रिपोर्ट हेरियो भने त आम नेपालीलाई रिस नै उठछ । यसबारे सांसदसम्मले कुरा उठाए तर सरकार मौन छ । ‘१.३ अर्ब जनसंख्या रहेको कम्युनिष्ट देश चीन र १.२ अर्ब जनसंख्या रहेको प्रजातान्त्रिक देश भारतको बीचमा रहेको नेपालमा १३ वर्ष अगाडि सच्चा मातापिताले पहिलोपटक भ्रमण गर्नुभएको थियो । नेपालको संसदले त्यस दिनलाई नेसनल डे अफ पीस (राष्ट्रिय शान्ति दिवस) घोषणा गरेको थियो ।’ यो रिपोर्ट प्रति सांसद गगन थापाले तुरुन्तै सरकारको ध्यानाकर्षण गराए । उनको जोडदार माग थियो यास्तो गलत रिपोर्ट संसार भर फैलाउने त्यो संस्थालाइ नेपालमा प्रतिबन्ध लगाउ । यसको खण्डन हुनुपर्ने थियो सरकारबाट तर भएन । प्रधानमन्त्रीको पेटमा परिसकेको हुँदा सरकार बेखबर नै बस्न रुचाएको भन्ने आरोप लाग्यो सबैतिरबाट ।
थापाको ट्विटमा लेख्छन् ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यूपीएफको प्रचार आफैंमा झूटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’एक व्यक्तिले भनेजस्तो यूपीएफको प्रचार आफैंमा झूटो, कपोलकल्पित र बदनियतपूर्ण छ भनी सरकारले भनिदिएको भए देशको परिचय अर्को हुने थियो । त्यसो नगरिदा यो कथित चर्चका जो कोहीले भ्रमणगरे भने त्यो नेपालका लागि राष्ट्रिय दिवस हुने भन्ने परिचय दिलाउन खोजिएको छ । यस्तो बेला सरकार मौन बस्छ भने देशका लागि यो भन्दा अर्को दूर्भाग्य के होला ।
कोरियामा यस्तो प्रचार
यूपीएफ च्यानलको एउटा रिपोर्ट –‘नोभेम्बर २९ मा सच्चा माता नेपाल पुग्नुभयो । उहाँको त्यहाँ भव्य स्वागत भयो । उच्च राष्ट्रिय सुरक्षाका साथ उहाँको सवारी हुँदा पाँच हजार मानिसहरुले काठमाडौंमा जयजयकार गरेका थिए । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सच्चा मातालाई भ्रमणमा निम्ता गर्नुभयो ।
सम्मेलनको आयोजना यूपीएफ र नेपालको केन्द्रीय सरकारले संयुक्त रुपमा गरेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, १२ पूर्व राष्ट्रपति र प्रधानमन्त्रीहरु, १७ मन्त्री, ७ संसद अध्यक्ष, उपाध्यक्ष, ३०० विधायक र ५० धार्मिक नेतासहित ४ हजार ५ सयको उपस्थिति थियो । नेपालका प्रधानमन्त्री ओलीले सिंगै विश्व एक परिवार भएको बताए । (यहा ओलीलाइ उनी पनि आफ्नै परिवार अर्थात एकनाथ ढकालको क्रिश्चियन परिवारको सदस्य भनी चिनाउन खोजिएको बुझिन्छ प्रधानमन्त्रीको यो उद्धरणको प्रयोग बाट )
यसैगरी, ७ सय मेयर र उनका पति र पत्नीहरु र २ हजार एक सय शान्ति दूत जोडीहरुले माताबाट ब्लेसिङ लिए जून अत्यन्तै ठुलो ब्रेक थ्रू हो । माताले प्रधानमन्त्री ओलीलाई नेतृत्व तथा सुशासन अवार्ड प्रदान गरिन् । सात सय जना मेयरहरुले अन्तराष्ट्रिय मेयर एसोसिएसन गठन गर्ने प्रतिज्ञा गरे । नेपालको राष्ट्रिय टेलिभिजनसहित १० वटा मिडियाले सम्मेलनका सबै गतिविधिहरु कभर गरे । १० लाख मानिसहरुले टेलिभिजन लाइभमा कार्यक्रम लाइभ हेरे ।’
प्रधानमन्त्रीको काम चर्चको मूल्यांकन
‘यो सभामा सहभागी तिमीहरु सवैले आ–आफ्नो ठाउँमा परमेश्वरको नाममा राष्ट्र बनाउनू !’ भनी परमेश्वरकी स्वघोषित छोरीबाट परमादेश भएको थियो यो सभाको उदघाटनका दिन । त्यो आदेशलाई शिरोपर गर्नेमा सभामा अरुसंगै सहभागी थिए प्रधानमन्त्री ओली । यो सभामा सहभागी हुन अरु देशबाट जोजो जुनजुन पदधारक आएका थिए तिनको उद्देश्य नै यही थियो त्यसकारण सबैको आँखा नेपाली प्रधानमन्त्रीमाथि परेको हुनुपर्छ । उनी यो धर्मको अवलम्वनकर्ता यसअघिसम्म थिएनन । नेपालका प्रधानमन्त्रीले ती माताबाट परमेश्वरको यस्तो सन्देश ग्रहण गरे, समापनका दिन इसाई नस्लवादी रक्सीको प्रसाद खाए र यो सभालाई भव्यतासाथ सम्पन्न गराएको भनी एकलाख डलरको इनाम थापे त्यसपछि यसका आयोजकले भन्न पाए –नेपाल पुरै क्रिश्चियन भैसक्यो, अव यही देशमा विश्व समिट हुन्छ ।
आयोजकले देखेको अर्को महत्वपूर्ण पक्ष हुनुपर्छ, यस्तो धर्मसभाका लागि संसार भरी नै यो देश नेपालका प्रधानमन्त्रीको जस्तो लगाव भेटन सकिदैन । पुरै तीन रात प्रधानमन्त्री आफ्नो सरकारी निवास छाडेर सभाका लागि अएका पहुनाहरु बसेको होटेलमा सरे । सम्मेलनका तीन दिन पुरै सरकार आफ्ना दैनिक काम छाडेर यसमा लाग्यो । प्रधानमन्त्रीकै निर्देशनमा नेकपाका मेयरहरु हाजिर भए । यी सबैको अर्थ हो एउटा धर्मनिरपेक्ष राष्ट्रका कार्यकारी प्रमुख तथा राष्ट्रपतिले आफ्नो धर्मका लागि यस्तो ज्यानै दिन खोज्नु यस्ता धर्म प्रचारक संस्थाका लागि सामान्य कुरा हुंदै होइन । त्यो पनि यसो एक सभालाखको इनाम दिएपुग्ने अवस्थाको । त्यसैकारण उनीहरुमा आंट आएकोहुनु पर्छ– नेपाल इस्लामिक राज्य स्थापना भयो भन्ने ।
चर्चले राखिदियो –इश्वरीय नेपाल नाम
नेपालमा दुइदिने यो सभा यसरी सम्पन्न हुदा यो सस्थाकालागि चाहि दिगविजय नै भएछ । समाचार विवरणमा आए अनुसार डिसेम्बर २ मा नेपालको सभा सकियो । ३ मा नेपाल च्याप्टरका प्रमुखले नेपालमै पहिले र ६ मा मदर मुनकै अध्यक्षतामा भिक्ट्री सेलिब्रेसन (विजय उत्सव) को आयोजना गरेका थिए । उक्त विजयोत्सवमा यूपीएफका ३ हजार पाँच सय जना अन्तर्राष्ट्रिय लिडर र शान्तिदूतहरु उपस्थित थिए । कार्यक्रममा तीन क्षेत्रीय अध्यक्ष, महासचिवहरुले विश्व भ्रमणका बारेमा रिपोर्ट प्रस्तुत गरे । एकनाथ ढकाल यूपीएफ एसियाका अध्यक्ष एवं पूर्वमन्त्री समेत हुन । उनले यो उत्सवमा विशेष ब्रफिङगरेका रिपोर्ट आइरहेका छन । ढकालका अनुसार ‘माताले नेपाल भ्रमण गर्नुभयो र नेपालमा उहाँले थुप्रै राज्य र सरकारहरुका अगाडि ईश्वरीय एसिया प्यासिफिक, ईश्वरीय नेपाल र ईश्वरीय हिमालयको घोषणा गर्नुभयो ।’
यतिले पुगेन । माताका बारे उनले थपे, ‘त्यहाँ माताले आफूलाई अन्ली बिगटन डटर (जिससकी एक मात्र छोरी) घोषणा गर्नुभयो । कसैले पनि विरोध गरेन । सबैले स्वीकार गरे । यसबाट सच्चा मातालाई जिससकी एक मात्र छोरीको वैधानिकता प्राप्त भएको छ । त्यसैले मातालाई बधाई छ ।’
सत्य केहो तर रिपोर्टमा चाहि यस्तै आयो । एकनाथले यसो भन्दा माताले खुशी भएर ताली बजाइन् । अन्त्यमा उनले भाषण गरिन् । बाइबलको लाइन उद्धृत गर्दै माता मुनले भनिन ‘पहिलो अन्तिम हुनेछ र अन्तिम पहिलो हुनेछ । अहिले विश्वको नेतृत्व गरिरहेका विकसित राष्ट्रहरुको तुलनामा मैले भ्रमण गरेका जिम्बाबे, साउथ अफ्रिका र नेपाल पिँधमा छन् । तर, जब हामी उनीहरुलाई स्वर्गिय राज्यबाट हेर्छौं, यी राष्ट्रहरु माथि छन् । हामीले नेपालजस्ता राष्ट्रलाई सहयोग गर्नुपर्छ ।’
यता चाहिँ ठूलो विरोध
‘माताले आफुलाइ जिससकी एक मात्र छोरी घोषणा गर्नुभयो । कसैले पनि विरोध गरेन । सबैले स्वीकार गरे ।’ कोरियामा एकनाथले यस्तो दावी गरे पनि नेपालमा चाहि यसको विल्कूलै भिन्न, सवैतिरबाट विरोध भएको विषय थियो यो । यस्ती मातालाइ स्वागत गर्ने सरकारका लागि अरु दिनका भन्दा झनै डरलाग्दा विवाद देखिए । उता, जुन कार्यक्रमको देशैभरी जस्तो विरोध भयो यता सरकार चाहिँ यसलाई सफल पार्न त्यो भन्दा झनै बढी सकृय भयो यो अलग पक्ष हो । नेपालमा पहिलो पटक इसाई धर्मले औपचारिक सभा गर्न पायो । यसलाई सम्पन्न गर्न प्रधानमन्त्री जति सकृय भए यस्तो विगतमा कहिल्यै देखिएको थिएन कतिसमम भने नेपाल सरकार आयोजक भएको आठ देशको विमस्टेक सम्मेलनमा पनि सरकरा यति क्रियाशील थिएन । सरकार यति समर्पित भएपनि यता नागरिकको आमतहमा त विरोध भयो नै स्वयं इसाई धर्मावलम्वीहरुका लागि पनि स्वीकार्य भएन । यी कुरा त्यसैबेला सार्वजनिक भएका हुन ।
नेपाल सरकारको सक्रियतामा सम्पन्न भएको यो सम्मेलनमा नेपाली क्रिश्चियनहरूको छाता संगठन क्रिश्चियन महासंघले सहभागिता नै जनाएन । महासंघका अध्यक्ष सिबी गहतराजले ‘धर्ममाता भनिने हाक जा हान मुनको अन्तिम लक्ष्य सरकार प्रमुखका अगाडि जिससकी छोरी हुँ भनेर घोषणा गर्नु थियो, उनी सफल भइन तर, यो कार्यक्रम बाइबल विपरीत हो, धर्मलाई बदनाम गर्न आयोजना गरिएको हो, यस्तो कार्यक्रमले समग्र क्रिश्चियन समुदायलाई चोट पुर्याएको छ, आक्रोसित बनाएको छ ।’ इसाईहरुले समेत यसो भनेपछि कार्यक्रमको कत्रो विरोध भयो होला अनुमान गर्न सकिन्छ । यस्तो वास्तविकतालाई आयोजक मानिएकै व्यक्तिले कोरियामा चाहिँ कसैले बुझनै नसक्ने गरी केरमेट गरिदिए ।