arrow

काँग्रेस महाधिवेशन : निर्वाचन कार्यक्रम प्रकाशन, धनुषा ५ मा प्रतिनिधि छनोट बाँकी

फागुन २० गते विहान ८ बजे देखि बेलुकी ५ बजे सम्म उम्मेद्वारी दर्ता गरिसक्नु पर्ने

logo
जीवन भण्डारी :
प्रकाशित २०७२ फागुन १८ मंगलबार
congress.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार मंगलबार दिउसो २ बजे मतदाताहरुको नामावली प्रकाशन भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएको नामावलीमा २८ सय ६८ जनाको नाम रहेको काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए ।   
 
धनुषा क्षेत्र नम्बर ५ बाहेक अन्य सवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु छानिएको केसीले जानकारी दिए । प्रकाशित नामावलीमा केही भ्रातृ तथा सुवेच्छुक संगठन र विदेशस्थित जनसम्पर्क समितिहरुबाट आउनु पर्ने नामावली समावेश नभएको केसीले बताए । उनीहरुको नामावली आउनेक्रममा रहेकाले निर्वाचनको अन्य प्रक्रिया सुरु हुनु भन्दा अगाडी नै उनीहरुको नामावाली समावेश गरिने सुनाए ।  
 
निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते विहान ८ बजे देखि बेलुकी ५ बजे सम्मलाई तय गरेको छ । उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन भोलीपल्ट फागुन २१ गते विहान ११ बजे हुने छ । प्रकाशित नामावलीमाथी संशोधनको समय २१ गते विहान ११ बजे देखि १ बजे सम्म तोकिएको छ, भने दावी विरोधका लागि २ बजे देखि ४ बजे सम्म समय कायम गरिएको छ । निर्वाचन समितिमा परेको दावी विरोध अनुसार निर्वाचन समितिले गर्नु पर्ने जाँचबुझ भने सोही दिन बेलुका ६ बजे सम्म सक्ने तयारी छ । 
 
उम्मेदवारी दर्ता गरेका उम्मेद्वारहरुलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते विहान ९ बजे देखि ११ विहान बजे सम्मको समय तोकेको छ । उम्मेदवारी फिर्तालिने समय सकिने वित्तिकै विहान ११ बजे नै निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गर्ने छ । 
 
काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सुचनाहरु प्रकाशित हुने सचिव केसीले बताए । मतदान राष्ट्रिय सभागृहमा हुनेछ । केसीका अनुसार फागुन २३ गते विहान ८ बजे देखि अपराहन्न ४ बजे सम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि उमेद्वारहरु र निर्वाचन समितिको संयुक्त बैठकको निर्णय अनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ । विद्युतीय यन्त्रबाट मतदानको व्यवस्था नहुने भएकाले मतगणनाका लागि केहीदिन लाग्न सक्ने केसीले अनुमान गरे । प्राविधिक समस्याका कारण विद्युतीय यन्त्र मार्फत मतदानको कार्यक्रम नहुने निर्णय भएको जानकारी दिए ।  
 
काँग्रेसको १३औं महाधिवेशन फागुन २० गते देखि २३ गते सम्म काठमाडौंमा हुदैछ । सहभागि हुने महाधिवेशन प्रतिनिधि तथा काँग्रेस नेता कार्यकर्ता काठमाडौं आउनेक्रम बढीसकेको छ । काँग्रेस नेता तथा कार्यकर्ताहरु काठमाडौं आउन थालेपछि काठमाडौंमा काँग्रेस महाधिवेशनको सरगर्मी चुलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ