arrow

काँग्रेस महाधिवेशनको समाचार संकलनका लागि बुधवारबाट परिचयपत्र वितरण हुने

logo
जीवन भण्डारी :
प्रकाशित २०७२ फागुन १९ बुधबार
13th-congress.png.png.png
काठमाडौँ। नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिअन्तर्गतको मिडिया सेन्टरले आजदेखि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। नेपाली काँग्रेसको पहिलेदेखिको आधिकारिक वेबसाइट www.nepalicongress.org खोलेपछि रातो रङमा देखिने तेह्रौ महाधिवेशन प्रचार समितिमा क्लिक गरेपछि महाधिवेशनसम्बन्धी सामग्री पाइने व्यवस्था गरिएको छ।
 
मिडिया सेन्टर समितिका सहसंयोजक कृष्ण केसीले आजदेखि वेबसाइटमा सामग्री राख्न थालिएको र विस्तारै महाधिवेशनसम्बन्धी अरु विवरण राखिने जानकारी दिए। उनका अनुसार वेबसाइटमा समाचार, फोटो, भिडियो, अडियो, विज्ञप्ति आदि राख्ने व्यवस्था गरिएको छ। समितिको आजै बसेको बैठकले मिडिया सेन्टरको कार्यालय आजैदेखि महाधिवेशनको बन्दसत्र सञ्चालन हुने भृकुटीमण्डपमा स्थापना गर्ने निर्णय गरेको छ।
 
समितिले महाधिवेशनको समाचार सङ्कलनका लागि पत्रकारलाई छुट्टै परिचयपत्रको व्यवस्था गर्ने तयारी पनि गरेको छ। परिचयपत्र वितरण कार्य भोलिदेखि हुने समितिले जनाएको छ । वरिष्ठ पत्रकार कवीर राणा संयोजकत्वको मिडिया सेन्टर समितिले पत्रकारलाई समाचार सङ्कलनका लागि अघिल्ला महाधिवेशनमा भन्दा धेरै सहज बनाउने गरी गृहकार्य गरिरहेको जनाएको छ ।
 
समितिको सहसंयोजकमा कृष्ण केसी, उपसंयोजकमा शिव लम्साल रहनुभएको छ भने सदस्यमा अनिता विन्दु, ईश्वरी ओझा, रामजी दाहाल, रामप्रसाद दाहाल, अजयबाबु शिवाकोटी, सरोज अधिकारी, शरदराज सुवेदी, कुमार भट्टराई, शलोजा दाहाल, खिला कार्की, जीवन भण्डारी, नकुल अर्याललगायत रहनुभएको छ ।
 
यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको प्रचारप्रसारलाई प्रभावकारी बनाउन केन्द्रीय प्रचार समितिको मातहतमा अन्य उपसमिति पनि गठन गरिएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, बद्री सिग्देलको संयोजकत्वमा विदेशी मिडिया समन्वय र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरिएको हो ।
 
काँग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भने काँग्रेसका प्रचार विभाग प्रमुख तथा पूर्वसञ्चार मन्त्री डा मिनेन्द्र रिजाल हुनुहुन्छ । रासस



नयाँ