arrow

के पूरा होला त चीनको चन्द्रमा बनाउने सपना ?

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
china-artifical-moon.jpg

काठमाडौं । चन्द्रमाको प्रकाश र शीतलताको धेरैले प्रशंसा गर्ने गर्छन् । अझ सधैं चन्द्रमा उदाइरहने भए कस्तो हन्थ्यो होला ?  चीनले केही समयअघि यस्तै योजना अघि सारेको थियो । जसअनुसार आकाशमा तीनवटा कृत्रिम चन्द्रमा बनाउने तयारी गरिएको छ । राति सडकहरुमा उज्यालो छर्नका लागि चीनले यस्तो योजना ल्याएको हो ।

कस्तो हुनेछ कृत्रिम चन्द्रमा ?
चीनले अघि सारेको यो योजनाअनुसार सन् २०२२ सम्ममा तीनवटा कृत्रिम चन्द्रमा अन्तरिक्षमा राखिनेछ । वास्तवमा यो चन्द्रमाको आकारमा अन्तरिक्षमा शिशाबाट बनेको उपग्रह जस्तो हुनेछ । उक्त उपग्रहहरुमा ठोक्किएर सूर्यको किरण जमिनमा आइपुग्छ । चिनियाँ वैज्ञानिकहरुका अनुसार उक्त कृत्रिम चन्द्रमाले दिने प्रकाश यति धेरै हुन्छ कि जमिनमा सडक बत्तीको आवश्यकता नै पर्दैन ।
 
कति ठाउँमा दिन्छ यसले प्रकाश ?
अहिले ल्याइएको योजनाअनुसार कृत्रिम चन्द्रमाले ३६ सय देखि ६४ सय वर्गकिलोमिटरको क्षेत्रसम्म उज्यालो बनाउन सकिने बताइएको छ । चन्द्रमा वास्तविक प्रकाशभन्दा यसबाट आउने उज्यालो ८ गुणा बढी हुने सम्भावना छ । यसबाट चीनलाई १ अर्ब २० करोड चिनियाँ युआनबराबरको बिजुली बचत हुने बताइएको छ । साथै आवश्यकताअनुसार उक्त चन्द्रमाको प्रकाश घटाउने वा बढाउने पनि गर्न सकिने बताइएको छ ।
 
के के छन् चिन्ताहरु ?
यो योजनाबारे मानिसहरुमा केही चिन्ताहरु पनि रहेका छन् । जानकारहरुका अनुसार कृत्रिम चन्द्रमाबाट आउने प्रकाशले जनावरहरुमा नकारात्मक असर पर्नसक्छ । त्यसका साथै खगोलीय घटनाहरु देख्नका लागि पनि समस्या हुनसक्ने बताइएको छ । हार्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर कांग विमिनले भने यो चन्द्रमा त्यति धेरै चम्किलो भने नहुने बताएका छन् । यसले गोधुलीको जस्तो प्रकाश दिनेछ ।

यसअघिका प्रयास
चीनले अघि सारेको योजना विल्कुलै नौलो भने होइन । यसअघि पनि यस किसिमका केही योजनाहरु अघि सारिएको थियो तर उक्त योजनाहरु सफल भने हुन सकेका थिएनन् । रुसले पनि यस्तो प्रयास गरेको थियो । ९० को दशकमा रुसले यस किसिमको प्रकाशको लागि धेरै प्रयास गरेको थियो । यद्यपि योजना असफल भएको थियो । सन् २०१७ को जुलाईमा काजाकिस्तानले पनि अन्तरिक्षमा पनि यस किसिमको वस्तु पठाएको थियो । उक्त वस्तुलाई चन्द्रमापछिको सबैभन्दा चम्किलो वस्तु मानिएको थियो तर यसलाई अन्तरिक्षको कक्षमा भने राख्न सकिएको थिएन ।
 
यस्तोमा चीनले अघि सारेको योजना कत्तिको सफल हुने हो हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ