arrow

बागलुङको बजेट सात अर्ब

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ । जिल्ला विकास समिति बागलुङले आगामी आर्थिक वर्ष २०७३-०७४ का लागि सात अर्ब बढीको बजेट विनियोजन गरेको छ । जिल्ला विकास समितिको २४औँ जिल्ला परिषद्ले कुल सात अर्ब ६४ करोड १६ लाख ६५ हजार बजेट पारित गरेको हो । जिल्लाको विकास योजना–कार्यक्रम सञ्चालन र प्रशासनिक खर्चतर्फको अनुमानित आय–व्यय सार्वजनिक गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।  
 
प्रस्तावित कुल बजेटमध्ये पँुजीगततर्फ पाँच अर्ब १९ करोड २२ लाख आठ हजार ८ सय ४८ विनियोजन गरिएको छ । त्यस्तै, प्रशासनिकतर्फ दुई अर्ब ४८ करोड ९४ लाख ५६ हजार ६ सय ८३ प्रस्ताव गरिएको छ । जिल्लाभित्र क्रियाशील सरकारी तथा गैरसरकारी निकाय–संस्थाबाट प्रस्तावित बजेटलाई एकमुष्ट गरी आय–व्यय अनुमान प्रस्ताव गरिएको हो । 
 
यसमा सरकारी कार्यालयको पुँजीगततर्फको बजेट एक अर्ब ५५ करोड ८३ लाख ८६ हजार र चालुतर्फ एक अर्ब ८४ करोड ६३ लाख ७२ हजार रहेको छ । सरकारीतर्फ पुँजी र चालु गरी कुल तीन अर्ब ४० करोड ४६ लाख ६३ हजारको बजेट प्रस्ताव गरिएको छ । गैरसरकारी संस्थाको बजेट सरकारी कार्यालयको तुलनामा बढी छ । 
 
आगामी आवका लागि जिल्लामा सञ्चालित गैरसरकारी कार्यालयबाट चार अर्ब २७ करोड ७० लाखको बजेट प्रस्ताव गरिएको छ । स्थानीय विकास अधिकारी गौतमका अनुसार इलाकास्तरबाट प्राथमिकतामा परेका आयोजनाका लागि बजेट विनियोजन गरिएको छ । जिविसको स्रोत साधनले नपुग्ने आयोजना केन्द्रीय तहमा पठाउने गरिएको छ । 
 
बस्ती, वडा, गाविस, इलाका गोष्ठी हुँदै जिल्ला परिषद्मा आएका आयोजना छनोट गर्ने गरिएको छ । इलाका परिषद्पछि जिल्लामा विषयगत कार्यालयसँगै छलफल, योजना तर्जुमा गोष्ठी हुँदै जिल्ला परिषद्को बैठक राखेर आगामी आवको बजेट सार्वजनिक गरिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ