arrow

स्थायी समितिमा सरकारको आलोचना भएको छैन, वामदेवको फरक मत होईनः मन्त्री गुरुङ

logo
प्रकाशित २०७५ पुष ७ शनिबार
Kiran-Gurung.jpg

काठमाडौं। गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे। उनले भने,‘बैठकमा कोही पनि नेताहरुले सरकार असफल भयो भनेर बोल्नुभएको छैन्। तर, सरकार र पार्टी दुवैको कामबारे नेताहरुले सुझाव दिनुभएको छ। सरकारका काममा सुधार गर्नको लागि जोड दिनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए। उनले भने,‘सरकार असफल भयो भने पार्टी पनि असफल हुन्छ। त्यसैले सरकारले अब आफ्ना कार्यशैली सुधार गरोस भनेर नेताहरुले बैठकमा धारणा राख्नुभएको छ।’ 

बैठकभित्र नेताहरुले एउटा कुरा बोलेको तर बाहिर मिडियामा आउँदा अर्कै भएर आउने गरेकोमा भने उनले गुनासो पोखे। उनले भने,‘बैठकमा हाम्रा नेताहरुले यसो भन्नुभयो भनेर जे जति कुरा आएका छन्, त्यसमा कुनै सत्यता छैन। बाहिर त पार्टी नै फुट्न लाग्यो भनेर कुरा आयो। तर, बैठकभित्र त्यस्तो कुरा भएको छैन।’ 

उनले नेता वामदेव गौतमले बैठकमा सुझाव र आफ्नो विचारको रुपमा कुराहरु राखेको स्पष्ट पारे । उनले भने,‘उहाँको सुझावमात्रै हो । तर, बाहिर फरक मत भनेर आयो । उहाँको पेश गरेको कुरा सुझाव हो, तर फरक मत होईन् ।’ आफूहरुले बैठकमा लागेका कुराहरु निर्धक्क राख्ने गरेको सुनाउँदै उनले नेताहरुले कुनै आग्रह वा पूर्वाग्रह नपालेको पनि जिकिर गरे । आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा नेताहरुले जोड दिएको पनि उनले सुनाए।

स्थायी कमिटि बैठक यसअघि समयमै नबसेकोले विरोधका स्वरुहरु सुनिएको तर सरकारले बेठिक नै गर्यो भनेर कोही पनि नेताले टिप्पणी नगरेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘बरु बोल्ने नेताहरुले सरकार र पार्टीका कमिकमजोरीहरु सुधार गर्नुपर्छ भनेर बोल्नुभएको छ ।’

मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी बनाउनेगरि काम थालिएको पनि विश्वास दिलाए। उनले भने,‘हामीले यो प्रदेशलाई पर्यटकीय प्रदेशको रुपमा विकास गर्नेगरि काम अघि बढाएका छौं। प्रदेशका जनतालाई समृद्ध बनाउनेगरि काम गरिरहेका छौं।’अहिलेपनि गण्डकी प्रदेशका जनताको ‘पर–क्यापिटा इन्कम’ एक हजार २१ अमेरिकी डलर रहेको सुनाउँदै यसलाई आगामी पाँच वर्षभित्र बढाएर पाँच हजार पुर्याउने पनि उनले जनाए।

गुरुङले गण्डकी प्रदेश भुगोलको हिसाबले मध्य, जनसंख्याको हिसाबले सानो र मानवीय विकास सुचांकको हिसावले राम्रो अवस्थामा रहेकोले केन्द्रबाट प्राप्त हुने स्रोत, साधन र राजश्व बाँडफाँड कम लिएको पनि स्पष्ट पारे। आफूहरुले यो आर्थिक वर्षको लागि २४ अर्बको बजेट प्रस्तुत गरेको र बजेट यथार्थमा आधारित भएर आएको पनि उनले विश्वास दिलाए। उनले भने,‘हामीले ऋणात्मक ढंगले बजेट ल्याएको होईन।’

यो एक वर्ष नीति निर्माण, विधि निर्माण र संरचना निर्माणमा व्यतित भएकोले अब विकास निर्माणका कामहरु द्रुत गतिमा सुरु हुने गुरुङले जनाए। गण्डकी प्रदेशमा अब निजी क्षेत्रको लगानी भित्र्याउनेगरि आफूहरुले कामको थालनी गरेको पनि उनको भनाई छ। अबको चार वर्षपछि प्रति वर्ष २० लाख पर्यटक यो प्रदेशमा भित्र्याउनेगरि गुरुयोजना बनाएको पनि उनले सुनाए। उनले भने,‘हामी अब त्यहीअनुसारको संरचना पनि तयार गर्छौं। होटेलहरुपनि त्यही अनुसार बढाउँछौं।’आफूहरुले चाँडै अथिति देवो भवः अभियान पनि चाँडै सुरु गर्ने उनले जनाए। काठमाडौं–पोखरा पृथ्वी राजमार्गलाई चार लेन बनाउने उनले जनाए। 
गण्डकी प्रदेशकै राष्ट्रिय गौरवको योजना कोरला–त्रिवेणी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत यातायातका सञ्जाल अघि बढाउने पनि उनले सुनाए।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपनि अब चाँडै बन्ने भएकोले गण्डकी प्रदेशको विकास अब द्रुत गतिमा अघि बढ्ने गुरुङले जनाए। उनले औद्योगिक कोरिडोरको रुपमा पनि प्रदेशलाई विकास गरिने बताए। 
गुरुङले पोखरालाई फिल्मी नगरीको रुपमा समेत विकास गरिने बताए। अहिलेको बजेटको तीन गुणा बजेट बनाउनुपर्ने र त्यसको लागि निजी क्षेत्रको लगानी भित्र्याउनतर्फ आफूहरु लागिपरेको उनले जानकारी दिए। उनले भने,‘उत्पादनमा गाँसिएर लगानी भित्र्याउँछौं। यसले गर्दा यो प्रदेशका जनताको आयस्तर वृद्धि हुन्छ।’

गण्डकी प्रदेश प्राकृतिक, साँस्कृतिक र ऐतिहाँसिक रुपमा पनि धनी भएकोले समृद्ध प्रदेश बनाएरै छोड्ने गुरुङको उद्धघोष छ। उनले भने,‘हामी मध्ये क्षेत्रमा छौं। हामी सबैलाई जोड्न सक्छौं। सिँगो नेपालले नै गर्व गर्ने हामीसँग ईतिहाँस छ।’ आगामी १५ वर्षसम्म बहुमतसहित काम गर्न पाए नेपाललाई सिँगापुर र स्विट्जरल्याण्डजस्ता विकसित राष्ट्रको हाराहारीमा पुर्याउने पनि उनले दाबी गरे। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, विधान र लोकतान्त्रिक परिधिमा रहेर काम गरेको उनले स्पष्ट पारे। उनले भने,‘दुई तिहाई छ भन्दैमा सरकारले अहम र घमण्ड राख्ने छुट पाउँदैन्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ