arrow

गुटैगुटका राजनीतिक दल

logo
विजय सन्तोषी राई,
प्रकाशित २०७५ पुष ११ बुधबार
nepal-poltical-party.jpg

नेपालका राजनीतिक दल भित्र यतिबेला गुटैगुटले भरिएका छन ।  चरम गुटबन्दीका कारण नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सकिरहेका छैन्न । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी ,नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राष्टिय जनता पाटी लगायतका दलहरु गुटैगुटले भरिएर थलिएर आफ्ना देश र दलको एजेण्डा भन्दा पनी नेताहरुको स्वार्थमा राजनीतिक दलहरु रुमलिएकाले नागरिकमा निरासा छाउन थालेको छ ।

आफ्ना पार्टीको गुट र उपगुटलाई व्यवस्थापन गरी पार्टीलाई लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व गर्न नसक्ने नेताहरुले देशको नेतृत्व गर्न सक्षम नहुने भएकाले हाम्रा देशका राजनीतिक दलहरुका नेताहरुले सवैभन्दा पहिले गुटैगुटले भरिएको आ आफ्नो पार्टीलाई व्यवस्थापन गरी व्यवस्थित र लोकतान्त्रिक बनाएर अव देश हाक्नसक्छन भन्ने विश्वास जनतामा दिलाउनु आजको पहिलो आवाश्यक्ता हो । राजनीतिक दलहरु भित्र विचार र सिद्धान्तद्धारा निर्देशित राजनीति नभएको, रणनीति नबनाएको र कार्यनिति मात्र रहेको,विचार नभएपछि गुटै गुट मात्र  भरिएका हुन ।

 हाम्रा प्रमुख राजनीतिक दलहरु भित्र विचारको मतभेत भन्दा पनि कार्यशैलीको मतभेत र नेतृत्वका लागी टकराप तथा लडाई भएकाले गुटदेखी उपगुटसम्म बनेको छ । नेतृत्वले आफु नेतृत्वमा पुग्नका लागी अधिवेशन तथा निर्वाचनका लागि पार्टी भित्र गुट बनाउछन नेतृत्वमा पुगेसकेपछि वा अधिवेशनमा निर्वाचन समाप्त भैसकेकेपछि स्वत गुट तथा समुहभंग वा विघटन हुनुपर्नेमा नेताहरुले आफु तह नै भैराख्नका लागि गुट तथा उपगुटलाई निरन्तरता दिईरहेका हुन्छन ।  विडम्वना त्यसमा कार्यकर्ताहरु पनि गुट उपगुट तथा समुहमा विभाजन भैराखेका हुन्छन ।

गुटबन्दी विशेषगरेर कहिलेकाही विचार नमिल्दा हुन्छ भने कहिलेकाही नितान्त व्यक्तिग टगराव स्वार्थ पूर्तिका लागि पनि हुन्छ । तर हाम्रा देशको राजनीतिक दलहरुमा भने नेताको व्यक्तिगत स्वार्थ पूर्तीका लागी गुटहरु,समुहरु,उपगुटहरु निर्माण हुने र निर्माण भएका गुट,उपगुट तथा समुहहरु निन्तिर रुपमा टिकाइराख्ने प्रचलन भएकोले यसले राजनीतिक दलहरुलाई दह्रो बनाउनका साट्टा कमजोर बनाउदै गैरहेको छ भने नेताहरु भने पार्टी भित्र चाही दर्हो भैराखेका छन ।

राजनीतिक दलहरुको जिवनमा दल भित्र अस्थायी तथा केही उपलब्धी हासिल गर्न गुट तथा उपगुहरु जन्मने ,बन्ने,भत्किने,भंग हुने निरन्तर प्रक्रिया भएता पनि अहिले भने दलहरुमा गुटहरुले स्थायी रुपमानै निरन्तरता पाईने भत्किनुको सट्टा झन दह्रो हुदै गएकाले गुट उपगुट र समुहले पार्टीहरुलाईनै भत्काउने, फुटाउने  र समाप्त गर्ने होकी भन्ने चिन्ता अव सबैमा बढ्न थालेको छ । चरम गुटबन्दीको कारणले गर्दा पार्टीहरुले  बेला बेलाका नराम्रोसंगले धोका पाइराखेको र निर्वाचनमा लत्जासपद पराजय व्यहोर्नु परिरहेको छ । भने किहिलेकाही विभाजन पनि हुदै जोडिदै पनि आईएका छन ।

पछिल्लो पटक देशमा समृद्धी र विकास गर्नका लागि राजा बाधक भयो भनेर राजा फाल्दिऔ,त्यसपछी संविधान पो बाधक भयो होला भनेर पुरानो संविधान च्यातेर नया संविधान बनाऔ त्यसपछि अस्थिर सरकारका कारणले पो देश समृद्धी र विकास हुन सकेन भनेर स्थिर सरकारका लागी संघ, प्रदेश र स्थानीयमा दुई तिहाई भन्दा बढी जनताले मत दिएर विजयी गराए स्थिर सरकारको निर्माण गरौ तर पनि  देशका विकास र समृद्धीको यात्रा सहज रुपमा अगाडी बढ्न सकेको छैन । यसको मुल कारण भनेको प्रमुख राजनीतिक पार्टीहरुमा गुटउपगुट र समुह उपसमुह दह्रो हुदै जानु हो ।

पछिल्लो पटक दुईवटा दलहरु  मिलेर बनेको नेकपा पार्टीको दुई तिहाई भन्दा वढीको सरकारले जनताको चाहना अनुरुप काम गर्ने सकिरहेको छैन विकास र समृद्धीको यात्रालाई पनि अगाडी बढाउन नसकिरहेको पनि त्यहा भित्रको गुट र गुट भित्र उपगुटैका कारणनै हो । नेकपा भित्र दृश्य -अदृश्य रुमपा  आधा दर्जन नेताको वरिपरिका गुट तथा  समुह  अहिले सतहमा देखिएका छन । त्यसभित्र पनि उपगुट तथा उपसमुह उत्तिकै आएका छन । प्रारम्भमा पूर्वघटकहरुका अलग समुह, गुट देखिनु स्वाभाविक भएता पनि एकतापछि पनि पुराना गुट र उपगुटले समेत निरन्तरता पाईरहेका छन ।

नेकपा भित्र अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दह्रो गुट छ, अर्का पार्टी अध्यक्ष प्रचण्डको गुट त्यसभित्रको नाराणकाजी, बादल, बर्षामान, जनार्दशन शर्माको छुट्टा, छुट्टै उपगुट छ ,अर्का वरिष्ठ नेता माधव नेपालको गुट, अर्का नेता बामदेव गौतमको गुट र अर्का वरिष्ठ नेता झलनाथ खनालको गुट रहेका कारण नेताहरुलाई देश मिलाउने भन्दा पनि आफ्नो गुट मिलाउनै  क्रियाशिल भैरहनु परेको छ ।

वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी एकता भएकैदिन देखि वरियताको एजेण्डा प्रमुख रुपमा वारम्वार उठाईरहनु, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट राजिनामा दिनु पर्ने अवस्था आउनु, अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्ना पक्षका नेताहरुलाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव भएको वारम्वार भनिरहनु र सरकारको विरोध  प्रमुख प्रतिपक्ष कांग्रेस भन्दा वढी आफ्नै पार्टीका वरिष्ठ नेताहरुबाट विरोध र आलोचना  भैरहनु गुटबन्दीको पराकाष्ट हो । भने अहिलेसम्म स्थानीय तह र गाँउपालिका तथा वडा तहमा पार्टीको समिति निर्माण गर्न नसक्नु अनी जनवर्गिय संगठनहरु मिलाउनु नसक्नु पनी नेकपा भित्रको चरम गुटबन्दी र व्यक्तिगत टकरामनै बाधक हो । तर पनि केपी ओलीको गुट भने नेकपा भित्र बलियो र एक ढिक्का छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र पनि अहिले हिजोको भन्दा पनि बढी चरम गुटबन्दी मौलाएको छ ।  प्रमुख प्रतिपक्षको भूमिका खरो र दह्रोसंगले निभाउन सेकीरहेको छैन । चरम गुटबन्दका कारण पार्टीले धेरै ठूला ठूला धोका पाईरहेको छ । यसको पछिल्लो उदाहरण गत तीनै तहरुको निर्वाचनहरुमा नराम्रोसंग पराजय व्यर्होनु पनि हो ।

गुटबन्दी कांग्रेसको जन्मकालकै पुरानै रोग हो । नेपाली कांग्रेस, राष्ट्रिय कांग्रेस हुदाकै बखत २००४ सालमा कावा अध्यक्षको बिषयलाई लिएर वीपी कोइराला र डिल्लीरमण रेग्मीबीच दुई समुह वा गुटको कांग्रेसमा उदय भएको  हो  । २००९ सालमा वीपी कोइराला र उनका दाजु मार्तकाप्रसाद कोइरालावीचको चरम गुटबन्दीको कारण  निर्वतमान पार्टी सभापति तथा बहालवाला प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई पार्टीबाट निष्काशन गरेको कारण उनले छुट्टै पार्टी गठन  गर्नु परेको थियो  ।

 २०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भएपछि कांग्रेस सत्तामा पुन पुगे पछि कांग्रेस भित्रको गुट फेरी सहतमा आयो । एउटा गुटको नेतृत्व  पार्टी सभापती कृष्ण प्रसाद भट्टराई र अर्का गुटको पार्टी महामन्त्री गिरिाजा प्रसाद कोइरालाले गरेका थिए  । २०४८ सातमा बहुमत ल्याएको पार्टी नेपाली कांग्रेसको संसदीय दलमा ३६ से र ७४ रे भनेर दुई समुह तथा गुट भएका कारण २०५१ सालमा नेपाली कांग्रेसको स्पष्ट बहुमतको सरकारका प्रधानमन्त्री गिरिजाप्रसद कोइरालाले मध्यावधि निर्वाचन गराएपछि पार्टीले नराम्रासंय पराजय भोग्नु पर्‍यो ।

२०५२ सालमा कांग्रेसका नेता शेर वहादुर देउवा मुलुकको प्रधानमन्त्री भएपछि देउवाले एन्टी कोइराला क्याम्प खडा गरी एउटा बलियो गुट कांग्रेसमा खडा गरेर सदावहार नेतृत्व गरिरहे । त्यसैकारण २०५८ मा नेपाली कांग्रेस दुई चिरामा फुट्न गयो । पार्टी बिभाजन भएको ५ बर्षपछि २०६३ सालमा पार्टी एककिरण भयो । तर पार्टी एकीकरण भएता पनि नेताहरु र कार्यकर्ताहरु भने भावानात्मक रुपमा एकता  हुन सकेका थिएन्न । जसले गर्दा पार्टी भित्र कोइरला र देउवा गुट त्यसभित्रको उपगुट प्रस्टसंग छुटिरहन्थ्यो । जसले गर्दा पार्टीको १३ औं महाधिवेशनमा दुई वटा गुटबाट वढेर चारवटा गुट हुन पुग्यो । कोइराला सहित पौडेल गुट, देउवा गुट, सिटौला गुट, खुमबहादुर गुट लगायत अन्य धेरै उपगुटहरुको पनि जन्म भएको छ । कांग्रेस भित्र गुट उपगुटले अहिले तिव्ररुपमा गाजेका कारण पार्टीले तल देखीमाथिसम्म दह्रो र खरो ढंगले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन । गुटैगुटले गाजेको कांग्रेसलाई अहिले आफैलाई समालिन समेत गाह्रो भैरहेको छ ।

त्यसैगरी दुईवटा पार्टी मिलेर बनेको  तेस्रो ठूलो दल संघिय समाजवादी फोरम पनि अहिले  उपेन्द्र यादव र अशोक राईको दुई वटा गुट त्यसभित्रको उपगुटमा बिभाजन भएको छ भने अर्को दल राजपा पनि त्यस्तै हालतमा छ त्यहा पनि महन्थ ठाकुर, राजेन्द्र महतो, सहिद सिंह भण्डारी, राजकिशोर लगायतका नेताहरुको चार पाच वटा गुट त्यसभित्रको अन्य उपगुटहरु रहेका छन । भने राजावादी दल राप्रपा पनि गुटउपगुटकै कारण फुट्ने जुट्ने प्रक्रियामा थलिदै आएको छ ।
 
नेपालका राजनीतिक दलहरुमा विचार नमिल्दा गुट भएको विरलै पाईको छ यहा त नेताको महत्वकाक्षा व्यक्तिगत वा सीमित स्वार्थ तथा नेताको व्यक्तिगत टकरापको कारण गुट उपगुटको जन्म भएको पाईन्छ । गुटबन्दी पार्टीको लागि ठूलो अभिशाप हो गुटबन्दीले पार्टीलाई धेरै र ठूलो नोक्सानी पुर्‍याउदै  समात्प पनि गर्न सक्छ । गुटबन्दीले आफ्नै पार्टीभित्र एकले अर्कालाई सिध्याउने समाप्त गर्ने । पार्टीको सम्पूर्ण संगठन अस्तव्यस्थ बनाउएको छ त्यतिमात्र नएर नेता तथा कार्यकर्ताहरुमा अन्यौलको वातावरण सृजना भई कार्यकर्ताहरु र सर्वसाधारण नाागरिकमा नैराश्यता सिर्जना  गरेको छ ।

नेपालको राजनीतिक पार्टीहरुमा अहिले मैलाउदै गएको गुट उपगुटहरुबाट गिरोहमा परिणत भयो भने नेताहरुलाई पनि सिध्याउछ र सिंगो पार्टीलाई पनि समाप्त गर्छ त्यसैले दलहरुमा देखिएको गुटउपगुटलाई गिरोहमा परिणत हुन नदिई बेलैमा गुटउपगुटलाई समाप्त गर्न जरुरी देखिन्छ  । यसका लागी  आ आफ्नो पार्टीको सिद्धान्त अनुरुप निर्माण गरिएको  विधान तथा निति कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वयन गर्दै हरेक पार्टीका नेताहरु बचि व्यक्तिगत फाईदाको लागी नभएर पार्टी र जनातको हितको लागि आपसरी समझदारी कार्यम गर्नु पर्छ । पार्टी भित्र निष्पक्ष रुपमा अनुसाशन कायम गरी काम गर्नेलाई पुरस्कार र पार्टी हित विपरित गर्नेहरुलाई दण्डको व्यवस्था गरी लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व चयन गरी पार्टी संचालन गर्न जरुरी भएको छ । अनी मात्र संमृद्धी नेपाल सम्पन्न नेपाली बनाउने यात्रा अगाडी बढाउन सकिन्छ नन्त्र गुटैगुटले भरिएको र थलिएको पार्टी र नेताहरुबाट समृद्ध नेपाल बनाउन असंभव छ ।

(लेखक धनकुटा कांग्रेस सचिव एवं नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष र नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ