- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काडमाडौं । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले रक्षामन्त्री ईश्वर पोखरेलले पक्राउ परेको दाबी गरेका कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा खोई ? भन्दै सरकारसँग जवाफ माग गरेकी छिन् । शुक्रबार संसद्मा शुन्य समयमा बोल्दै नेता भुषालले दैनिक रुपमा बढ्दै गएको हत्या र बलात्कारका घटना नियन्त्रणको लागि सरकार असफल भएको आरोप लगाएकी छिन् । भुषालले राज्य संयन्त्र शान्ति सुरक्षा दिन र वास्तविक अपराधी पक्रिन भन्दा पनि अपराधीलाई संरक्षण गर्न तर्फ केन्द्रीत भएको आरोप लगाएकी छिन् ।
पुष ३ गते सुन्दरीजलमा भएको घटना, पुष ११ गते भएको सामुहिक बलात्कार पछिको घटनाहरु बढ्दो सामुहिक बलात्कारका घटनाको उदाहरणमात्रै रहेको भुषालको भनाई छ । उनले यो सरकार आएपछि अपराधीहरु कानूनसँग पनि डराउन छाडेको र राज्य संयन्त्रसँग पनि डराउन छाडेको प्रतिक्रिया दिईन् । ‘निर्मला पन्तको हत्यारालाई ४ महिनासम्म पनि यो सरकारले पक्रिन नसक्नु सरकारको नालायकीपन हो ।’ भुषालले भनिन् ‘निर्मला पन्तको हत्यामा प्रमाण कसको आदेशमा नष्ट गरियो ? यो खोज्ने हो भने हत्यारा सजिलै पत्ता लाग्छ । तर यसमा सरकारको आँट खोई ?’
मानव अधिकार दिवस मनाईरहँदा उपपधानमन्त्री तथा रक्षामन्त्रीले ‘अपराधी समातिसक्यौं अब सार्वजनिक हुन मात्रै बाँकी छ, प्रतिपक्षले राजनीतिक छाता नओढाए हुन्छ’ भनेर दिएको अभिव्यक्ति कहाँ पुग्यो भन्दै उनले सरकारसँग प्रतिप्रश्न गरिन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको अनुसन्धानमा केही त्रुटी भएको स्वीकारेको र सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि निर्मला पन्तको घटनामा केही कमजोरी भएको स्वीकारिसकेको अवस्थामा सरकारले यो घटनालाई गम्भीर रुपमा नलिएको भुषालले आरोप लगाईन् ।
सरकारले वास्तविक अपराधी समाउन नसकेपछि निर्दाेष व्यक्तिलाई यातना दिएर अपराध स्वीकार गर्न लगाउन थालेको प्रति पनि उनले गम्भीर आपत्ति जनाएकी छिन् । यसरी निर्दाेषलाई यातना दिएर अपराध स्वीकार गर्न लगाउँदा अन्तराष्ट्रिय जगतमा नेपालको छवि कस्तो बन्छ भन्दै उनले सरकारसँग प्रतिप्रश्न गरिन् । ‘हामी अन्यायमा परेका निर्मला पन्तका परिवारसँगै प्रदीप रावल र विशाल चौधरीका परिवारलाई न्यायको छाता ओढाउन चाहन्छौं ।’ भुषालले भनिन् ‘साक्षी प्रमाणको रुपमा रहेका बम दिदीबहिनीलाई अनुसन्धान गर्ने भन्दा प्रधानमन्त्रीको मन किन दुख्यो ।’ उनले यस्ता घटनाका साक्षीलाई सरकारले कारबाही नगरे प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी समेत दिईन् ।