arrow

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष १५ आइतबार
push-15-festival-darchula-farwestern.jpg

दार्चुला। दार्चुलालगायत सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ। हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहिआएको छ। यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ। पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन रहेको छ।

यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ। यो दिन वनको पूजा गर्ने चलन छ। यो दिन यस क्षेत्रका मानिसले बनजंगलमा काम नगर्ने र बञ्चरो, हँसिया, बनारो, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्छन्। ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन्।

आज तरुल खानैपर्ने मान्यताअनुरूप शहरी क्षेत्रमा समेत तरुल किन्नेको घुइँचो लाग्ने गर्छ। पूर्वजका पालाका पौराणिक कथाहरुलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ। फुर्सदको समयमा मनाइने तिनै चाडपर्व अन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात् पुसे पन्ध्र। गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्स्दिलो महिनाका रुपमा हेर्न सकिन्छ पुस महिनालाई। पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रुपमा पनि अथ्र्याइएको पाइन्छ।

रातभर विभिन्न पौराणिक र लोक कथाहरु, गाउँखाने कथाहरु सुन्ने, सुनाउने साथै गीत–संगीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिन्छ पुस पन्ध्रलाई। यसले युवा–युवतीमा सिर्जनात्मक कलाको समेत विकास गर्ने र भावी दिनमा समेत सिर्जनशील जिन्दगी जीउन सघाउ पुर्‍याउँछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ