arrow

‘प्रदेश राजधानीको टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
pradesh-5_sava_hall1.JPG

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश नं ५ को आज बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले राजधानीको नामाकरण र स्थानको टुङ्गो लगाउन ढिलाइ हुँदा जनप्रतिनिधिका कामप्रति जनतामा आशङ्का बढेको बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले राजधानीको टुङ्गो लगाउन बनेको समितिलाई अविश्वास सिर्जना गरेर काममा ढिलाइ गर्न नहुने बताए । “समितिको विषयमा विवाद गर्न हुन्न, समितिलाई काम गर्न दिउँ,” उनले भने ।

अर्का प्रदेशसभा सदस्य रमा घर्तीले राजनीतिक सहमतिका आधारमा राजधानीको नामाकरण र स्थान तय गर्नुपर्ने बताए। उनले समितिलाई विवादरहित ढङ्गले काम गर्न दिनुपर्ने बताए । प्रदेशसभा सदस्य भगवती गिरी भण्डारीले संसदीय समितिमा सबै सदस्यको प्रतिनिधित्व सम्भव नभएको बताए । अर्का सदस्य कमलराज श्रेष्ठले सदस्य थप गर्न नियमावलीले नमिल्ने बताए । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य विष्णु पन्थी, दिपेश थारु, निर्मला क्षेत्रीलगायतले प्रदेशलाई समृद्ध बनाउन सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।

प्रदेशको नामाकरण र स्थानको टुङ्गो लगाउन दिपेन्द्र पुन मगरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिमा अर्घाखाँचीका तीन, पाल्पा, बर्दिया, कपिलवस्तु र रुपन्देहीका दुई÷दुई तथा प्युठान, दाङ, गुल्मी र रोल्पाका एक÷एक जना प्रदेशसभा सदस्य सदस्यका रुपमा रहेका छन् ।

यस्तै आजको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नं ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र प्रदेश नं ५ प्रदेश पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ