arrow

सबैभन्दा बढी उम्मेदवारी प्रदेशमा, सबैभन्दा कम दलित महिला कोटामा

logo
भीष्मराज ओझा,
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
congress.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको तेह्रौँ महाधिवशेनमा सबैभन्दा बढी प्रदेश केन्द्रीय सदस्यमा र सबैभन्दा कम दलित महिलाको कोटामा उम्मेदवारी परेको छ । आज मध्याह्न १२ बजेसम्मको निर्धारित समयमा काँग्रेस केन्द्रीय समितिले हालै मात्र बाधा अड्काउ फुकाउअन्तर्गत व्यवस्था गरेको १४ प्रदेश केन्द्रीय सदस्य पदमा १०२ जनाको उम्मेदवारी परेको छ । काँग्रेसले विधानमा रहेको प्रत्येक अञ्चलबाट एकजनाको दरले निर्वाचित हुने केन्द्रीय सदस्यको व्यवस्थालाई प्रत्येक प्रदेशबाट दुईजनाको दरले निर्वाचित हुने प्रावधान बनाएको छ । महाधिवेशनपछि पार्टीले विधानलाई संशोधन गरी प्रदेश समितिबाट निर्वाचित सदस्यबाट नै उक्त समिति बनाउने छलफल चलेसँगै प्रदेश सदस्यमा उम्मेदवारी बढेको बताइएको छ । 
 
त्यस्तै विधानले आरक्षणमा व्यवस्था गरेको दुई दलित महिला केन्द्रीय सदस्य कोटामा जम्मा छ जनाको मात्र उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । काँग्रेसले १२ औँ महाधिवेशनपछि आरक्षणको विशेष व्यवस्था गरे पनि पार्टीमा अझै दलित महिलाको उपस्थिति न्यून रहेकाले नै उम्मेदवारी कम परेको हुनसक्ने बताइएको छ । काँग्रेसको केन्द्रीय सदस्य पदमा कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएकाले मात्र उम्मेदवारी दिन पाउने प्रावधान छ । 
 
यस्तै दलिततर्फका तीन पुरुष केन्द्रीय सदस्यमा २१, मुस्लिमतर्फको एक सिटका लागि १० जना, मधेसी पुरुषतर्फ तीन सिटमा १८ जना र मधेसी महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् । आदिवासी-जनजाति पुरुष तीन सिटमा ५० जना, आदिवासी÷जनजाति महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको छ भने खुला २५ केन्द्रीय सदस्यमा ९४ जना, खुला महिला छ सिटमा ४० जनाको उम्मेदवारी परेको छ । सभापति र महामन्त्रीमा तीन-तीन, कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन आज फागुन २१ गते दिउँसो २ बजे, उम्मेदवारको नामावली सम्बन्धमा वर्णानुक्रमानुसार दाबी संशोधन दिउँसो ३ बजेदेखि ५ बजेसम्म र दाबी विरोध आजै २ बजेदेखि ५ बजेसम्म हुने तालिका रहेको समितिका संयोजक अधिकारीले जानकारी दिए  । 
 
त्यस्तै उम्मेदवारको नाम फिर्ता फागुन २२ गते बिहान ९ बजेदेखि ११ बजेसम्म, अन्तिम नामावली प्रकाशन सोही दिन ११ बजेपछि र मतदान फागुन २३ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रियसभा गृहमा हुने तालिका रहेको छ । मतगणना सोही दिन मतदान समाप्त भएलगत्तै गरिनेछ भने सभापतिको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृहमा भोलिपल्ट फागुन २४ गते बिहान १० बजेदेखि २ बजेसम्म गरिने तालिकामा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ