arrow

चिकित्सा शिक्षा विधेयक असहमतिबीच उपसमितिबाट बहुमतले पारित, डा गोविन्द केसी पत्रकार सम्मेलन गर्दै 

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौं । सत्याग्रही प्राडा गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिबाट आइतबार बहुमतका आधारमा पारित भएको छ ।

उपत्यका बाहिरको सन्दर्भमा आयोगले चाहेमा अहिलेकै विश्वविद्यालयबाटै सम्बन्धन दिन सक्ने बाटो खोल्दै उपसमितिबाट विधेयक पारित भएको हो । यो डा केसीसँगको सहमति विपरीत हो ।

उपसमितिको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सांसद गगनकुमार थापाले बारम्बार डा केसीसँगको सहमति र सत्तापक्षी नेकपा सचेतक देव गुरुङले विधेयकमा हालेको संशोधनकै आधारमा प्रतिवेदन दिन आग्रह गरे पनि सत्तापक्ष मत विभाजनमा गएको थियो ।

पारित प्रतिवेदन बैठकमा उपस्थित सबै सदस्यलाई नबाँढी संयोजक भैरवबहादुर सिंहले मत विभाजनमा लगेर पारित भएको घोषणा गरेका थिए । 

सो क्रममा थापाले आपत्ति जनाएपछि समिति सचिवले थापाले राखेको फरक मतलाईसमेत प्रतिवेदनमा फरक मतकै रुपमा पूर्ण समितिमा पठाइने जानकारी गराएका थिए ।

त्यसैगरी विधेयकको प्रस्तावनामा माथेमा कार्यदलको नाम नराखिकनै प्रतिवेदन उपसमितिबाट पारित भएको छ ।

त्यसैगरी सिटिइभिटीको सन्दर्भमा पिसिएल मुनिका कार्यक्रमलाई समेत आयोगको कार्यक्षेत्रभित्र राख्ने र पाँच वर्षभित्र फेजआउट गर्ने विषयमा पनि सहमितिअनुसार नगरी स्तरोन्नति वा फेजआउटको विकल्प दिइएको छ ।

के गर्लान् डा केसीले ?
डा केसीसंग शिक्षा तथा स्वास्थ्य समिति संयोजक जयपुरी घर्तीले सहमतिका लागि समय मागेपछि पुस २५ गतेसम्म आमरण अनसन नबस्ने भन्दै डा केसी इलामबाट काठमडौं फर्केका थिए ।

तर डा केसीले भनेका थिए – बीचको समयमा कुनै धोकाधडी भए तत्कालै आन्दोलनको घोषणा गर्नेछु । 

केसीसँग भएको समझौता विपरीत संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले पारित गरेको चिकित्सा विधेयक सम्बन्धमा उनले सोमबार बिहान ९ बजे पत्रकार सम्मेलन गर्दैछन् । 

उनले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ