arrow

क्यान इन्फोटेक २०१९ मेला माघ १५ बाट

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
can-info2019.png

काठमाडौं। सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ। ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आयोजना गर्न लागेको हो।

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी तथा विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कूल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहनेछ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ। माघ १७ गते बिजनेस डेका दिन भने सबैले रु १०० शुल्क तिर्नुपर्नेछ। मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रुपमा उपयोग गर्नसक्ने महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए। यसपटकको मेलामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिनेछ।

नयाँ सफ्टवेर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। हरेक तीन-तीन घण्टामा चिट्ठामार्फत अवलोकनकर्तालाई उपहार प्रदान गरिनेछ। मेलामा एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिनेछ। नेपाललीले बनाएका दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ।

‘नयाँ–नयाँ प्रविधिको अवलोकनसँगै जागिरको अवसर पनि’ नारासहित आयोजना हुने मेलामा सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीले मेलास्थलमै व्यक्तिगत बिवरण बुझाउन सक्नेछन्। सो बिवरण महासङ्घले आइटी कम्पनीमा पठाई रोजगारीका लागि सहजीकरण गरिदिने छ। इन्फोटेकको २५औँ संस्करणको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा लि र एशोसिएट प्रायोजक ई सेवा रहेका छन्।

प्रादेशिक इन्फोटेक

राजधानी काठमाडौँबाहिर प्रदेश नं १ को विराटनगरमा गत पुस १९ देखि २३ गतेसम्म इन्फोटेक मेला आयोजना गरेको महासङ्घले क्रमशः प्रदेश नं २ को वीरगञ्जमा यही पुस २७ देखि ३०, प्रदेश नं ३ को चितवनमा आगामी माघ २५ देखि २९ गतेसम्म मेला गर्ने जनाएको छ। त्यस्तै, गण्डकी प्रदेशको पोखरामा आगामी फागुन २४ देखि २८, प्रदेश नं ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ गतेसम्म प्रादेशिक इन्फोटेक आयोजना गरिने आयोजकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ