arrow

सडक सुरक्षाको लागि डीला संग्रौलाले दर्ता गरिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
dila-sangraula1.jpg

काठमाडौं। संघीय संसद प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन्। प्रतिनिधि सभामा पुस २३ गते दर्ता गरिएको प्रस्तावको समर्थकमा सांसद सञ्जय गौतम र रंगमती शाही छन्।

पछिल्लो ५ बर्षमा भएका ४० हजार ७ सय ७७ दुर्घटनामा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको, बार्षिक सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउनु परेको तथ्यांक प्रस्तुत गर्दै सांसद डा संग्रौलाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा समसामयिक संशोधनका साथै सडक सञ्जाल र सडकको स्तरोन्नति लगायतका बिषय प्रस्तावमा उठाएकी छिन्। दोबाटो र चौबाटोहरुका आकाशे पुल, सबवे र अण्डरपासको व्यवस्था, दक्ष चालकको व्यवस्था, यातायातको नियमित परीक्षण, कच्ची सडक सुधार र सडक तथा यातायातका बारेमा यात्रु वा सर्वसाधरणमा जनचेतना जस्ता विषयमा ध्यान दिन पनि आफूले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको संग्रौलाले बताइन। 

सांसद संग्रौलाले सडक सुरक्षाको व्यबस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका साधनहरुलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान, शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चातको उद्धार र स्याहारको तदरुकतापूर्वक व्यवस्थापनलाई सघाउने उद्देश्यले सो प्रस्ताव दर्ता गरेको उल्लेख गरिन। 

नेपाल सरकारले अनुमोदन गरेको राष्ट्रसंघीय दिगो बिकास लक्ष्यले तोकेको सन् २०२० भित्र सडकजन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाईतेहरुको सख्या घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार र सरोकारवालाहरु निकायलाई घच्घच्याउन पनि सो प्रस्तावले सघाउने उल्लेख गरिन। उनले नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन सो सार्वजनिक प्रस्ताव दर्ता गरेको बताइन।

प्रतिनिधिसभाको कार्यव्यवस्था समितिले प्रतिनिधिसभाको बैठक बस्ने दिन यस विषयमा छलफल हुनसक्ने भएकोले उपस्थित हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवलाई उपस्थितिका लागि ध्यानाकर्षण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ