तेह्रथुम । दुई साता अघि भीरबाट लडेर सिकिस्त बनेका तेह्रथुमको हमरजुङ–८ का शुक्रराज लिम्बुको उपचारमा समस्या भएको छ । परिवारको कमजोर आर्थिक श्रोतका कारण लिम्बुको उपचार रोकिने अवस्थामा पुगेको उनका नातेदारले बताएका छन् । गोठाला गएका लिम्बु गएको माघ २७ गते भीरबाट लड्दा ३ वटा करङ भाँचिनुका साथै फोक्सो, किड्नी र कलेजोमा समेत असर परेको देखिएपनि उपचारकालागि पर्याप्त रकम नहुँदा सहयोगको याचना गर्नुपरेको दाजु सन्तोषकुमारले बताए । लिम्बुको अहिले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रष्तिठान, धरानमा सर्जरी आई.सी.यु. वेड नं. ४ मा उपचार भइरहेको छ ।
परिवारको अवस्था निकै कमजोर रहेको र छरछिमेकमा ऋण गरेर गरी अहिलेसम्म २ लाख रुपैयाँ बढी खर्च भइसकेको परिवारले जनाएको छ । घाइते लिम्बुको उपचारमा झन्डै तीन साता बितिसकेपनि अझै दुई वटै खुट्टा चल्दैनन् । छोराको उपचारमा सहयोग गरिदिन आमा छविमायाले याचना गर्नुभएको छ । शुक्रराजका बुवा यसअघि नै बितिसकेका छन् । आमा छविमायाले आफ्नो छोरा जीवन मरणको दोसाँधमा रहेकाले जीवनदान गरिदिन सबैसँग आग्रह गरिन् ।