arrow

एनआरएनएले प्रधानमन्त्रीलाई बुझायो विज्ञ सम्मेलनको सारांश र सुझाव

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
nrna.jpg

काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) ले  गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको  सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहिबार प्रधानमन्त्री केपी शर्मासँग शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत  ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसा योग्य भएको बताए । सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।

नेपालमा  नलेज बैंक स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उनले  अरु सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताए ।  यस्तै प्रधानमन्त्री ओलीले नेपालमा रहेको हिमाली श्रृंखलाले उपमहाद्विपको वातावरण सन्तुलनमा खेलेको भूमिकामा सतर्क गराउन आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश प्रवाह गर्न  आग्रह गरे।

कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले विज्ञ सम्मेलनको सारांश पेश गर्दै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराए । साथै उनले 'भिजिट नेपाल २०२०', विद्यार्थी भर्ना अभियान  लगायत सरकारले लिएका कार्यक्रमहरु सफल पार्न संघ लागि पर्ने विश्वास दिलाए।

यस्तै  संघका उपाध्यक्ष एवं सम्मेलनका संयोजक कुमार पन्तले अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको पृष्ठभूमि लगायत सम्मेलन सम्पन्न गर्नका लागि गरेका सम्पूर्ण गतिविधीको बारेमा  स्मरण गराएका थिए ।  यस्तै  सम्मेलनका अर्का संयोजक डा हेमराज शर्माले सम्मेलनको बारेमा विस्तृत जानकारी गराएका थिए ।  संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

फरक प्रसङ्गमा   संघका पदाधिकारीहरुले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विद्येयकलाई संघले राखेको सुझाव सहित पारित गरी कार्यन्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य,  महासचिव  डा बद्री केसी, प्रवक्ता भूषण घिमिरे,  विज्ञ सम्मेलन समितिका सदस्य हरि दाहाल, सल्लाकार डा। हेमराज शर्मा, आइसीसी सदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदी सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ