काठमाडौं । कांग्रेस नेता गगन थापाले आफ्नो उम्मेद्वारीबारे अफवाह फैलाइएको बारे आपत्ति जनाएका छन् । थापाले सामाजिक सञ्जाल र केही अनलाईन पोर्टलहरुले आफ्नो उम्मेद्वारीबारे अनर्गल, कपोलकल्पित र भ्रामक दुस्प्रचार गरिएको घटनाले आफुलाई दुखि बनाएको भन्दै खेद जनाएका हुन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘काँग्रेस भित्रको परिपक्व पुस्ताको विश्वास एवं स्नेह र उर्जाशील युवा साथीहरुको भरोसा एवं साथका कारण आज म महामन्त्रीको उम्मेद्वारको रुपमा महाधिवेशनको मैदानमा छु । पार्टी भित्रको स्वस्थ प्रतिस्पर्धामा लागिरहेका बेला आज केही अनलाइन र सामाजिक संञ्जालमा मेरो उम्मेद्वारीका बारेमा अनर्गल, कपोलकल्पित र भ्रामक दुस्प्रचार गरिएको घटनाले मलाई दुखित बनाएको छ । विगतमा पनि मेरो राजनीतिक विश्वासलाई कमजोर र खण्डित बनाउन त्यस्ता प्रयास नभएका होईनन् । यस किसिमका कुनै पनि अफवाहको पछि नलाग्न र थप उत्साहका साथ चुनावी अभियानमा लाग्न सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
थापाले आफ्नो उम्मेद्वारीबारे अनर्गल प्रचार भएपछि विज्ञप्ती समेत जारी गरेका छन् । थापा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीको उम्मेद्वार छन् । थापाले महाधिवेशन प्रतिनिधीमाझ समेत आफुले उम्मेद्वारी दिनुको औचित्य समेत प्रस्ट्याएका छन् ।