काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनका लागि महासमिति सदस्यको रुपमा काठमाडौं आएका केश बहादुर विष्ट सामाजिक संजाल र अनलाईन पोर्टलको फन्दामा परेका छन् । नेपाली कांग्रेस सल्यानबाट महासमिति सदस्य बनेका विष्टले कांग्रेस महामन्त्रीका उम्मेद्वार गगन कुमार थापाबारे टिप्पणी गरेको भन्दै केही अनलाईन पोर्टलले उनलाई जाेडेर भ्रामक समाचार प्रकाशन गरी अफ्ठ्यारोमा पारेका हुन् । अन्ततः उनले विज्ञप्ती निकालेर प्रष्टिकरण दिनु परेको छ ।
विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन र सामाजिक सञ्जालमा म र सल्यानका साथीहरूको नाम जोडेर आज प्रकाशित समाचार पूर्णतः निराधार रहेको अवगत गराउन चाहन्छु ।’ यस्तो तथ्यहिन समाचारमा मेरो नाम जोडिएर आएको प्रति म गम्भिर आपत्ति प्रकट गर्दछु ।’ विष्टले विज्ञप्तीमा नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा महामन्त्रीका उमेद्वार गगन थापाले आफुसंगको भेटमा अर्को प्यानलका उमेद्वारलाई मत मागेको भन्ने समाचार महाधिवेशनको चुनावी मैदानमा रहेका थापाको राजनीतिक चरित्र हत्या गर्ने उदेश्यबाट प्रेरित र महाधिवेशनलाई प्रभावित पार्ने अभिप्रायबाट भएको उल्लेख गरेका छन् ।
उनले पार्टीको महाधिवेशनमा स्वस्थ र लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्नुपर्नेमा बन्द कोठाभित्र बसेर गरिने अनेकन दुस्प्रचार र चरित्रहत्याका कुनै पनि हर्कतमा विश्वास नगर्न सम्पुर्ण महाधिवेशन प्रतिनिधी र सुभेच्छुक साथीहरूलाई आग्रह गर्दछु–भनेका छन् । महामन्त्रीका उम्मेद्वार
गगन थापाले आफुबारेको अफवाह निराधार र दुस्प्रचार भएको भन्दै यसअघिनै आपत्ति जनाएका छन् ।