काठमाडौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कुसीयारीले नेपालको संविधानमा एक प्रतिशत भन्दा कम विषयमात्रै मिल्न बाँकी रहेको बताएका छन् । रिपोर्टर्स क्लवको साक्षात्कारमा कुसीयारीले भने,‘ संविधानमा १ प्रतिशत भन्दा थोरै विषय मिल्न बाँकी छ । मेरो नेपालका सबै नेताहरुसँग कुराकानी भएको छ । अलिकति सीमांकनको विवाद मात्रै हो । मिल्छ भन्नु भएको छ । मलाई विश्वास छ, छिट्टै त्यो विषय मिल्छ र नेपालको संविधान कार्यान्वयनका सबै समस्या समाधान भएर जान्छन् । संविधान बनाएकोमा नेपाली नेताहरुलाई धन्यवाद छ । ’
साक्षात्कारमा कुसीयारीले सबैले संविधान बन्दैन भन्दा आफूले बन्छ भनेर भनेको स्मरण गर्दै नेपालको संविधान कार्यान्वयन भएर नेपाल समृद्धिको दिशामा अघि बढ्ने विश्वास गरे । कुसीयारीले नेपालको संविधान संसोधनपछि आशाको किरण देखिएको भन्दै राजनीतिमा सबै माग जायज नहुने भएकोले जायज मागको पहिचान गरेर सम्बोधन गर्नु पर्ने बताए । उनले भने,‘ नेपालको समस्या लगभग समाधान भइसक्यो । केही क्षेत्रको केही असन्तुष्टी छ । मलाई नेपाली नेताहरुमा विश्वास छ । बाँकी समस्या पनि छिट्टै हल भएर नेपाल अगाडी बढ्छ ।’
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूप्रति लक्षित गरेर दिएको अभिव्यक्तीप्रति टिप्पणी गर्दै कुसीयारीले दाहालले आफूलाई अभिभावक भन्ने गरेकोले सोही आधारमा भनेको हुनु पर्ने धारणा राखे । कुसीयारीले भने, ‘प्रचण्डले मलाई गार्जेन भन्छन् । उनले गार्जेन भनेर त्यस्तो भनेका होलान् । हामी नेपालमा नाकाबन्दी होस्, नेपाली जनताहरु भोकै मरुन भनेर चाहदैनौं । नेताहरुले देशको प्रगतिकोलागि जे आवश्यक छ त्यो मात्रै बोल्नु पर्छ । भारतसँगै नेपालको पनि प्रगति हुनु पर्छ ।’ उनले थपे,‘ प्रचण्डले आउट अफेक्सनले बोलेका होलान्, उहाँले हतियार छाडेर आएकोले उहाँको कुरालाई हामी सकारात्मक रुपमा लिन्छौ ।’
भारतको नेपाल नीति असफल भएको हो भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले जेलमा रहेका दुई कैदी बाहिर हेर्दा एउटाले हिलो देखेको र अर्कोले तारा देखेको उदाहारण दिदै भने,‘ कसैको नीति फेल भएको छैन सक्रमणकालमा यस्ता कुराहरु आईरहन्छन । अहिले नेपाल र भारत दुबै पास भएका छन् ।’ कुसीयारीले नेपालमा भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा भएको प्रर्दशनप्रति टिप्पणी गर्दै आफ्नै मुखको दातले जिब्रो टोक्दा दात उखेलेर नफालिने तर्क गरे । उनले भने,‘ नेपालले ३० प्रतिसत ईन्धन ल्याउन ग्लोबल टेण्डर गरेको छ अनि कम दियो भनेर भारतलाई गाली गर्छन । काग्रेस, एमाले, माओवादी सबै भारतले गर्दा भन्छन । यसरी चल्दैन ।’
नयाँ यूगमा प्रवेश गरेको नेपाल अब आत्मनिर्भर र स्वालम्बि हुनु पर्ने धारणा राख्दै उनले आफूले पशुपति नाथ र डोलेश्वर महादेबसँग पनि नेपाल आफ्नो खुट्टामा आफै उभियोस भन्ने कामना गरेको सुनाए । कुसीयारीले सन् १९५० को नेपाल भारत मैत्रि सन्धीको विरोध हुने गरेको प्रति लक्षित गर्दै सन्धी पढेर मात्रै विरोध गर्न सुझाव दिए ।
उनले भने, ‘भारत नेपाललाई भाइको नाताले सहयोग गर्न तयार छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाली जनताले जुन अपेक्षासहित नेपालमा उहाँको स्वागत गरेका थिए त्यसलाई पुरा गर्ने पक्षमा छन् । तर त्यसकालागि नेपालले माग राख्नुपर्छ । हामी बद्रीनाथमा रेल पुग्दा पशुपतिनाथमा पनि पुग्नु पर्छ भन्ने पक्षमा छौ ।’
नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याएको, चीनीया सहयोग र चीनले रेल नै ल्याईदिन लागेको विषयमा राखिएको जिज्ञासामा कुसीयारीले चीनबाट तेल आउने भए काठमाडौको सडकमा किन तेलको लागि लाईन लागेको त भनि प्रश्न गरे ? उनले भने,‘ नेपालले चीनसँग सहयोग लिनु पर्छ । तर, चीनले नेपालमा रेल ल्याउने भए भारत र बंगलादेशबाट ल्याउनु पर्छ ।’ कुसीयारीले आफू कुनै धर्मको प्रचार गर्न नआएको भन्दै आफूहरुको चिन्ता धर्म परिवर्तन गराउने कार्य नहोस भन्ने मात्रै भएको स्पष्ट पारे ।