arrow

बायोडाइनामिक्स प्रविधि थाल्दै पूर्वी इलामका चिया किसान

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
jaubari.jpg.jpeg
इलाम । जिल्लाको पूर्वी क्षेत्रका चिया किसान बायोडाइनामिक्स चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । छिमेकीमूलुक भारतको खर्साङमा अग्र्यानिक चिया कारखाना मकैबारी ‘टी–स्टेट’सँगको सहकार्यमा चिया किसानले बायोडाइनामिक्स चियाखेती गर्न थालेका हुन् । फिक्कलस्थित गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाइँले आफ्नै पहलमा खर्साङका प्राविधिक ल्याएर बायोडाइनामिक्स प्रविधि भित्र्याउन किसानलाई प्रोत्साहित गर्नुभयो । 
 
गाईभैँसीको गोबरमा विभिन्न जैविक पदार्थको मिश्रण गरी चियामा प्रयोग हुने मल, विषादी र अन्य तत्वहरू मिसाएर तयार गरिने ‘बायोडाइनामिक्स’ प्रविधि हो । गत कात्तिकदेखि पूर्वका केही अग्र्यानिक चिया बगान तथा कारखानामा बायोडाइनामिक्स चिया खेती सुरू गरिएको छ । यो प्रविधिबाट उत्पादन गरिएको चिया गुणस्तरीय हुने र महँगोमा विदेशमा बिक्री हुने भएपछि किसान यसप्रति थप आकर्षित बनेका हुन् । 
 
फिक्कल, पशुपतिनगर, कन्याम, कोल्बुङ, पञ्चकन्या, गोदक क्षेत्रका करिब २०० किसानले यो प्रविधि अपनाउन थालेको कोल्बुङका गणेश अर्याल बताए । “खर्साङ्मा यो प्रविधि निक्कै चर्चित र प्रख्यात छ, यसलाई सबैतिर लैजानुपर्छ,” मकैबारी टि–स्टेटका अध्यक्ष स्वराज व्यानर्जीले भने –“चियाखेतीको विकासका लागि इलाममा बायोडाइनामिक्स प्रविधि उत्तम हुन्छ ।” 
 
मकैबारी टि–स्टेटका प्राविधिक सञ्जय दासले किसानलाई बायोडाइनामिक्स विधि सिकाएपछि यहाँका किसानले समेत ‘स्प्रे’ बनाउन थालेका छन् । जर्मनी, डेनमार्क र युरोपियन राष्ट्रहरूमा प्रमाणित भइसकेको बायोडायनामिक्स कृषि पद्दति इलाम र नेपालमै पहिलो पटक प्रयोग भइरहेको गोर्खा टि–स्टेटका सञ्चालक चापागाईंले दाबी गरे । “पूर्णरूपमा बायोडायनामिक्समा लैजान दुईवर्ष लाग्छ,” मकैबारी टि– स्टेटका अध्यक्ष व्यानर्जीले भने –“बायोडायनामिक्स पद्धतिको प्रयोग गरिए चियाले झनै उच्च मूल्य पाउँछ ।” गोर्खा टि–स्टेटले पाँच हजार प्रतिकिलोमा अग्र्यानिक तयारी चिया बिक्री गर्दै आएको छ । कारखानाबाट सोझै जर्मन जाने चियाको मूल्य बढाउन र दिगो खेतीका लागि बायोडाइनामिक्स प्रविधि जरूरी रहेको चिया उद्यमी चापागाईं बताउछन् । 
 
अग्र्यानिक चियाखेतीको अभियानमा जुटेका चिया विज्ञ चापागाईंको सक्रियतामा पूर्वका इलामका चारवटा चिया सहकारी संस्थामार्फत ३१७ चिया किसानसँग जोडिएको गोर्खा टी–स्टेटले चियाबगानलाई अग्र्यानिक बनाउन किसानलाई गाई समेत वितरण गरेको छ । यसको अलवा किसानलाई सहयोग गर्ने, अग्र्यानिक प्रमाणित गराउन सहयोग गर्ने र उनीहरूले उत्पादन गरेको हरियोपत्ती बजार मूल्य भन्दा उच्च दरमा खरिद गरिदिने गरेको छ । 
 
कोल्बुङस्थित इको चिया सहकारी संस्थाका अध्यक्ष माधव निरौलाले अग्र्यानिकमा गईसकेका चिया किसान बायोडायनामिक्स प्रविधि अपनाउन लागिपरेको बताउनुभयो । जिल्लाका साँखेजुङ, माइपोखरी, फिक्कल क्षेत्रमा एक दर्जनभन्दा बढी अग्र्यानिक चिया कारखाना सञ्चालनमा छन् । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ