काठमाडाै । कांग्रेस नेता गगन कुमार थापाले पुरानै ढर्रामा चलिरहेको कांग्रेस पार्टी संचालनको तवर तरिका परिवर्तन गर्न आफुले महामन्त्रीमा उम्मेद्वारी दिएको बताएका छन् । नेपाली कांग्रेसको जारी महाविधेशनस्थलको मिडिया सेन्टरमा शनिबार पत्रकार भेटघाटका क्रममा थापाले कठोर निर्णय गरेर उम्मेदवारी दिएको प्रस्ट्याए ।
तपाई आफ्नै ससुरा अर्जुननरसिहं केसीलाई चुनाव जिताउन र सशांकलाई चुनाव हराउन उम्मेदवारी दिएको चर्चा छ नी ? भन्ने संचारकर्मीको प्रश्नको जवाफमा थापाले भने, ‘पार्टी सभापति सुशील कोइराला जीवित छँदा केसी र कोइरालाले भन्दा पनि पहिले महामन्त्री बन्ने निर्णय गरेको थिए, केसी र कोइरालाले अहिले आएर उम्मेदवारी दिनुभएको हो ।’ थापाले थपे ‘कसको छोरा वा कसको बुबा’ लड्नु भएको छ, भन्ने विषय होइन, नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको छु ।’
नेता थापाले आफु मूर्ख राजनीतिज्ञ नभएको प्रष्ट्याउँदै आफनै प्रतिद्वन्द्वी सशांक कोइरालाले सञ्चार माध्यममा दिएको अभिव्यक्तिप्रति असन्तोष जनाए । थापाले भनेका छन्, ‘ संघीयता, समावेशीता र गणतन्त्रको विषय पुनरावलोकन गर्न खोज्ने लज्जास्पद कुरा हो ।’ अहिले पाएको उपलब्धिबाटै भावि राजनीतिक कोर्सलाई पूरा गर्न सक्नु पर्दछ ।
यसअघि, उम्मेद्वारी घोषणा गर्दा थापाले अबको १५ वर्ष अर्थात् २०८८ भित्र देशको उन्नत्ति गर्ने महत्वपूर्ण समय भएको भन्दै आफ्नो राजनीति गर्ने उमेर भए पनि आफुसंग समय नरहेको बताएका थिए । थापाले २०८८ मानव वर्ष मानेर आफुहरु अघि बढेको जानकारी समेत दिएका थिए ।