arrow

जलविद्युत् आयोजनामा इन्धन र निर्माण सामग्रीको अभाव

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
Hydro-Power.jpg.jpeg
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिहेको पाँच जलविद्युत् आयोजना इन्धन अभावका कारण निर्माणमा सोचेजति प्रगति हुन सकेको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि समस्यामा परेका ती आयोजनामा हाल पनि निर्माण सामग्रीको अभाव देखिएको छ भने सरकारले प्रर्याप्त मात्रामा इन्धन उपलब्ध गराउने बताएपनि अवस्थामा उल्लेखनीय सुधार हुन सकेको छैन । 
 
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेका माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणमा नै मुख्य समस्या छ । तामाकोसीको विद्युत्गृह गोगरबाट बाँधस्थलसम्म पुग्ने बाटो भूकम्पकाकारण सबैभन्दा बढी प्रभावित भएपछि आयोजनाले वैकल्पिक उपाय अपनाउन लागेको छ ।अप्ठ्यारो भीर रहेका कारण पुनः सडक निर्माण गर्न नसकिने भएकाले सुरुङ खन्ने वा अरु कुनै अरु विकल्प खोज्ने भन्ने बारेमा अध्ययन जारी छ । करिब ५०० मिटर बराबर सुरुङ खन्नै पर्ने वाध्यतामा आयोजना रहेको छ । आयोजनाका प्रवत्ता गणेशप्रसाद न्यौपानेले विद्युत् गृह पुग्ने पुहँचमार्ग निर्माण जारी रहेको जानकारी दिए । 
 
सरकारले सातामा कूल १२ हजार लिटर इन्धन उपलब्ध गराउने बताएपनि सो परिमाणमा इन्धन प्राप्त नभएका कारण समस्या कायम नै रहेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार इन्धन प्राप्त त भएको छ । तर मागअनुसार अझै पनि पाउन सकिएको छैन । प्राप्त भएको इन्धनलाई सदुपयोग गर्दै पहुँचमार्ग निर्माण गरिराखिएको छ । 
 
भूकम्पअगाडि सो आयोजनाको बाँध निर्माण ९० प्रतिशत सकिएको थियो भने सुरुङ निर्माण पनि लगभग अन्त्यको चरणमा पुगेको थियो । यस्तै भूमिगत विद्युत्गृह, सवस्टेशनको आधार तयार भइसकेको, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आइसकेका र प्रसारण लाइन निर्माण सुरु भएको थियो । सहज रूपमा इन्धन उपलब्ध हुने र निर्माण सामग्रीको अभाव नहुने हो सो आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्न सकिन्छ । 
 
सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरिसकेको अवस्थामा माथिल्लो तामाकोसी काठमाडौँ प्रसारण लाइनको काम युद्धस्तरमा अगाडि बढ्ने विश्वास लिइएपनि वन तथा संरक्षण क्षेत्रले अवरोध गर्दा थप जटिलता पैदा भएको छ । वन तथा भूसंरक्षण मन्त्रालयले आवश्यक निर्णय नगरिदिदा प्रसारण लाइन निर्माणमा समसया भएको आयोजनाले जनाएको छ । 
 
यस्तै रसुवामा आयोजना स्थल रहेका रसुवागढी, माथिल्लो सान्जेन, सान्जेनमा पनि इन्धन र निर्माण सामग्रीकै अभाव पछिल्लो दिनमा समस्याको रूपमा रहेको छ । रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनालाई सातामा १२ हजार लिटर इन्धन जरुरत पर्दछ । गत वैशाख १२ गतेको भूकम्पअघि सो आयोजनाको बाँध र सुरुङको काम ३५ प्रतिशत सम्पन्न भएको थियो । भूकम्पले नराम्ररी प्रभावित पारेको सो आयोजनामा हाल क्षतिग्रस्त आवासगृह र पहुँचमार्ग निर्माण भइरहेको छ । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको हालसम्म प्रसारण लाइन निर्माण सम्बन्धी ठेक्का प्रक्रिया नै सुरु गरिएको छैन । 
 
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नै निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण भईसकेको थियो । आयोजनाका प्रबन्ध सञ्चालक माधवप्रसाद कोइरालाले सातामा १२ हजार लिटर इन्धन पाउने भनिएपनि ६ हजार लिटर मात्रै प्राप्त हुने गरेकाले हाल भूकम्पले ध्वस्त पारेको आवास, पहुँचमार्ग निर्माणको काम भइरहेको बताए । त्यस्तै, माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजनाको काम पनि भुकम्पपछि करिब ५० प्रतिशत सम्पन्न भएको थियो । पछिल्लो दिनमा सरकारले सहज रूपमा इन्धन उपलब्ध गराउने वचन दिएपनि मागअनुसार प्राप्त हुन नसकेको आयोजना प्रमुख गिरिराज अधिकारीको भनाइ छ । 
 
यस्तै सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको पनि क्याम्प निर्माण, मुख्य सुरुङ निर्माणका लागि पहुँच सुरुङ खन्न सुरु भएकै अवस्थामा भुकम्पले समस्या थपिदिएको थियो । इन्धन र निर्माण सामग्रीको अभाव सो आयोजनाको हकमा पनि साझा समस्या भएको छ । प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया पनि अगाडि नबढेको सो आयोजना सहज रूपमा काम भएको खण्डमा आगामी तीन वर्षभित्र पूरा हुन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ