arrow

सुदूरपश्चिम प्रदेशमा रनपुतला पर्व शुरु

logo
बिमल बिष्ट,
प्रकाशित २०७५ माघ १ मंगलबार
ranputla.jpg

डोटी ।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रनपुतला पर्व हर्षोल्लासका साथ मनाउँदैछ ।

कलासंस्कृति र पर्यटकीय क्षेत्रका रुपमा धनी मानिएको यो प्रदेशको मुख्य सांस्कृतिक पर्वका रुपमा डेउडा, ठाँडी भाँका, हुडकेउली छलिया भुँवालाई लिइने गरिन्छ । परम्परागत रुपमा चल्दै आएको रनपुतला पर्व पनि पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरी–चेलीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा हेरिँदै आएको छ ।

रनपुतला पर्व पुस महीनाको १५ देखि शुरु भई माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ । देवीदेवताको पर्व वा छोरीचेलीलाई वर्षको एक पटक अनिवार्य भेट गराउने पर्व भएकाले यसलाई मिलन पर्वका रुपमा पनि लिने गरिएको जोरायल गाउँपालिका–५ की स्थानीयवासी दुर्गादेवी विष्टले बताए ।

उनले भने, “विवाह गरेर पराइ घर गएकी छोरीचेली एक ठाउँमा जम्मा हुने र घरपरिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन पर्व पनि भन्ने गरिन्छ ।” सुदूरपश्चिम प्रदेशको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातका रुपमा लिई रातभरि गाउँखाने कथाहरु हाल्ने, जागाराम बस्ने, तरुल, सकरखण्ड खाने रातका रुपमा लिने संस्कृति रहेको छ । सोही दिन रातीदेखि रनपुतला पर्वको शुरुआत भएको मानिने गरेको दीपायलकी स्थानीयवासी धौलीदेवी कठायतले बताए ।

पर्वको शुरुआत भएपछि रनपुतलाहरु माघ ३ गते पानी पँधेरोमा लगेर विसर्जन गरे देवीदेउता खुशी हुने चलन छ । सयौँ वर्षभन्दा अगाडि देखि शुरुआत भएको रनपुतला पर्व यहाँका पहाडी जिल्लामा निकै भव्यताका साथ मनाइने गरिन्छ । यो पर्वमा विवाह भएका छोरी–चेलीहरु राम्रो तथा सफा गुन्यूचोलो लगाएर पुतली जस्तै भएर सजिने र गाउँगाउँमा पुतली नाचे जस्तै गरी डेउडा लगायतका खेल खेल्ने चलन रहिआएको छ ।

विशेषगरी छोरीहरु विवाह गरेर आफ्नो पोइलघर गइसकेपछि उनीहरुले भोगेका दुःख–पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीमा विशेष धुमधामका साथ मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ