काठमाडौं । कांग्रेस १३औं महाधिवेशनको दुई कार्य मध्ये एउटा कार्य सकिएको छ । नीति तथा कार्यक्रम पारित भएसंगै एउटा कार्य सकिएको हो । महाधिवेशनको तेस्रोदिन शनिबार साँझ बन्दसत्र सकिएपछि संचारकर्मीसंग कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले भने, ‘महाधिवेशनको दुई वटा काम हो, एउटो नीति तथा कार्यक्रम पारित गर्ने र अर्को निर्वाचन ।’ अब निर्वाचनको काम मात्र बाँकी छ । पौडेलले थपे, ‘त्यो पनि आइतबार सम्पन्न हुन्छ ।’ उल्लासमय वातावरणमा सुरु भएको महाधिवेशनको बन्द सत्र सकिएको बताउँदै पौडेलले नीति तथा कार्यक्रम, महामन्त्रीको राजनीतिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेनद पारित भएको जानकारी दिए ।
निर्वाचनमा सहयोग गर्ने सवै तह र तप्काका व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै पौडेलले भने, ‘देश विदेशबाट भएको उल्लेख्य सहभागिताले महाधिवेशन सफल भएको प्रमाणित भएको छ, त्यो पनि निकै सौह्वार्दपूर्ण वातावरणमा ।’ पौडेलले यो महाधिवेशन ‘हुनाहार प्रजातान्त्रिक अभ्यास’ भनेका छन् । सरकार चलाएर मात्र नेतृत्व नहुने भन्दै पौडेलले कांग्रेसले वैचारिक नेतृत्व गरिरहेको सुनाए । पौडेलले भनेका छन्, ‘संविधान हाम्रै नेतृत्वमा बन्यो, कार्यान्वयन पनि हाम्रै अगुवाईमा हुन्छ, व्यवहारिक कार्यान्वयनको अगुवाई समेत कांग्रेसले गर्छ ।’
आइबार निर्वाच, लगत्तै मतगणना
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने कार्यक्रम छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । सुरुमै सभापतिको मतगणना हुनेछ । सभापतिका कुनै पनि उम्मेद्वारले विजयका लागि ५१ प्रतिशत मत ल्याउनु पर्ने छ । जसले सभापतिको मतगणना पहिले हुने र यदी दोस्रो चरणमा निर्वाचनमा जानु पर्ने भए दोस्रो चरणको निर्वाचनपछी मात्रै अन्य पदको मत गणना हुनेछ ।