- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । क्रिश्चियानो रोनाल्डोको चार गोलको मद्दतले स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा रियालले सेल्टा भिगोविरुद्ध ७–१ को फराकिलो जित निकालेको हो । क्रिश्चियानोलाई बेच्ने तयारीमा रहेको रियाल नयाँ प्रशिक्षक जिनेदिन जिदान आएपछि सशक्त बन्ने आँकलन गरिएकामा त्यसो हुन सकेको छैन । यद्यपि, रियालले उपाधिमा होडमा पुग्न निकै मेहनत गरिरहेको छ ।
यो जितसंगै रियालले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसंग अंक दूरी कम गरेको छ । रियालका लागि मुख्य फरवार्ड रोनाल्डोले चार गोल गरे । खेलको ४१औं मिनेटमा पेपेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ५० देखि ७६ मिनेट सम्मको समय एकलौटी रोनाल्डोले कब्जा गरे । उनले ५०, ५८ ६५ र ७६औं मिनेटमा गोल गरे । बीचमा सेल्टाका एगोले एक गोल फर्काए । यस्तै, ७८औं मिनेटमा जेस रोड्रिग्वेज र ८१औं मिनेटमा ग्यारेथ बेलले गोल गरे ।
ला लिगाको अन्य खेलमा लस पल्मसले भिल्लारियललाई १–० ले हराउँदा सेभिया र गेटाफे १–१ को बराबरीमा रोकिए । यस्तै डेपोर्टिभो र मालागाले ३–३ को बराबरी खेले । यो संगै २७ खेलबाट ६९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ६१ अंक बटुलेको एथ्लेटिको मड्रिड दोस्रो तथा एक खेल बढी खेलेको रियाल मड्रिड ६० अंक सहित तेस्रो स्थानमा छ ।
रियालका लागि सर्वाधिक गोल गर्ने पहिलो खेलाडी
सेल्टाविरुद्धको चार गोलसंगै रोनाल्डोले रियालबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनी रियालबाट ३ सय ५० गोल गर्ने पहिलो खेलाडी बने । रोनाल्डोले अहिले सम्म विभिन्न प्रतियोगिता गरी ३ सय ५२ गोल गरेका छन् । अब रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।
रोनाल्डोले ला लिगामा हालसम्म दुई सय ५२ गोल गरे । सन् २००९ मा इङ्गलिश क्लव म्यानचेस्टर युनाइटेडबाट रियाल मड्रिड आएका रोनाल्डोले ला लिगाका दुई सय २८ खेलमा दुई सय ५२ गोल गरेका हुन् । रोनाल्डोले सन् १९४० देखि १९५५ को बिचमा दुई सय ५१ गोल गरेका टेल्मो जारालाई तेस्रो स्थानमा धकेल्दै ला लिगाको सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा नाम लेखाए ।
ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा बार्सिलोनाका मुख्य फरवार्ड एवं अर्जेन्टाइनी स्टार लियोनल मेसी छन् । मेसीले सन् २००४ देखि हालसम्म ला लिगाका तीन सय ३७ खेलबाट तीन सय पाँच गोल गरेका छन् । ला लिगामा यो सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डो पहिलो स्थानमा छन् । रोनाल्डोले यो सिजन ला लिगामा अहिलेसम्म २७ गोल गरेका छन् । दोस्रो स्थानमा झरेका बार्सिलोनाका लुइस सुआरेज २५ तथा तेस्रो स्थानमा रहेका रियाल मड्रिडका करिम बेन्जेमाले १९ गोल गरेका छन् । रोनाल्डोले यो सिजन रियालबाट सबै प्रतियोगितमा ३९ गोल गरिसकेका छन् ।