काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम विविध कारणले ४५ मिनेट ढिला भई ८:४५ बजेबाट सुरु भएको हो । मतदानका लागि मतदान स्थलमा पाँचवटा छुट्टाछुट्टै ब्लकभित्र १३५ मतदान स्थल राखिएको छ । जसमा सभापतिका लागि छुट्टै, महामन्त्री र कोषाध्यक्षका लागि छुट्टै मतदानस्थल रहेको छ । यसैगरी खुल्ला सदस्य, प्रदेश सदस्य र आरक्षणका लागि पनि छुट्टाछुट्टै मतदानस्थल राखिएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सबैभन्दा पहिला मतदान गरेका छन् भने अर्को सभापतिका उम्मेदवार महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो क्रममा मतदान गरेका हुन् । यस्तै डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, महामन्त्री प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धा गर्दै छन् । तीनै समूहबाट महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा उम्मेदवार हुन्।
त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा काँग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्की वीच प्रतिस्पर्धा हुदैछ ।