arrow

काँग्रेसमा तीनै समूहको सूची गोप्य, नाम नपरेका उम्मेदवार आक्रोशित

समय गुज्रिसकेपछि उम्मेदवारी फिर्ता लिए राजनप्रसाद पन्तले

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
NC-election-(12).JPG.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सभापतिका तीनै उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहसहित निर्वाचनमा होमिएका छन् । 
 
विहान ८ बजे सुरु हुने भनिएको मतदान सवा घण्टा ढिलो गरी ९:१५ मा सुरु भएको थियो । निर्वाचनमा पदाधिकारीसहित ६४ पदमा ३११ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । सभापतिका उम्मेदवारको तीन वटै समूहमा रहेका व्यक्तिको नाम सहितको सूची गोप्य रुपमा महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ । सभापतिका उम्मेदवार पौडेल र देउवा समूहले पूरै ६४ जनाको नामसहितको सूची आफ्ना पक्षका मतदातालाई तथा सिटौला समूहले केही नाम खाली राखेर सूची वितरण गरेको महाधिवेशन प्रतिनिधिले जानकारी दिएका छन् । 
 
तीनै सूचीमा सभापति, महामन्त्री, कोषाध्यक्ष, खुला सदस्य, आरक्षण सदस्य र प्रदेश सदस्य सहितका नाम उल्लेख छ । गोप्य रुपमा वितरण गरेको भनिएका ती सूची सार्वजनिक भएपछि सम्बन्धित समूहका तर सूचीमा नपरेका उम्मेदवार भने आक्रोशित देखिएका छन् । कतिपय उम्मेदवारले भने ती सूची भ्रामक भएको जनाएका छन् । 
 
केही मतदाताले मोबाइलबाट आफ्नो मतपत्रको फोटो खिंचेको भेटिएपछि प्रहरीले अहिले त्यसमा कडाइ गरेको छ । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन नौ किसिमका मतदानपत्र, पाँच ब्लक र १३५ कक्षको व्यवस्था गरिएको छ । मतपत्र लामो र विभिन्न किसिमका भएकाले मतदान गर्न १५ देखि २० मिनेटसम्म लाग्ने गरेको मतदाताले बताएका छन् । 
 
मतदानका लागि राष्ट्रियसभा गृहको द्वारबाट प्रवेश गर्ने र महेन्द्र पुलिस क्लबबाट बाहिरिने व्यवस्था मिलाइएको छ । आजै प्रदेश नं ५ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजनप्रसाद पन्तले उम्मेदवारी फिर्ता लिने समय गुज्रिसकेपछि फिर्ता लिएका छन्  । पन्तले विज्ञप्तिमार्फत संस्थापन पक्षका साथीहरुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिए  । यसअघि निर्वाचन कार्यतालिकाको समयभित्र शनिबार केन्द्रीय सदस्य का ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ