arrow

प्रधानमन्त्री ओलीको संसदलाई सम्वोधन, 'पालो सासुको मात्र हैन बुहारीको पनि आउँछ ' 

'शेर चुपचाप लागेर बसेको छ, ब्वासाहरु नक्कली शेर बनेर उफ्रन थालेका छन्'

logo
अनुराग एच,
प्रकाशित २०७५ माघ ५ शनिबार
kp-oli-presents-n.jpeg

सभामुख महोदय,
डाक्टरको सल्लाह अनुसार केहि दिन चुप लागेर मात्र के बसेको थिए यी बैरीका पोथ्राहरुले खेद्नु खेदे। सडकदेखि सदनसम्म जताततै मलाई होच्याउने, अपमानित गर्ने र मेरा बिरुद्दमा कुप्रचार गर्ने काम भएको छ। सहनुको पनि सिमा हुन्छ सभामुख महोदय, त्यसैले धेरै दिन अचानो बन्न सकिन र आज सबैलाई स्तर र दर्जा अनुसारको जवाफ दिने कि भनेर रोष्टममा उभिएको हुँ। 

सभामुख महोदय,
मेरा बिरोधीहरु मलाई बोल्छ मात्रै काम गर्दैन भन्ने आरोप लगाउने गर्छन् त्यो मित्थ्या आरोप मात्र हो। बरु सत्यता त के हो भने मैले काम गरेजति बोल्न चैं नसकेको हो । मैले टिकामा हजारौ नेपालीलाई टिका लगाएको, कसैलाई भने? भनिन। महामहिम राष्ट्रपतिलाई २० करोडको गाडि किन्ने कुरा, कसैलाई भने ? भनिन । उहाँकै लागि ठाउँ नपुगेपछि प्रहरी प्रशिक्षण प्रतिष्ठान नै हटाएर ठाउँ बढाउने मात्र हैन नयाँ हेलिकप्टर ल्याउने कुरा अगाढी बढेको छ, मैले कसैलाई भने? भनिन। युएनमा डोनाल्डट्रम्पसंग हात मिलाएर आएको कुरा मैले कसैलाई भने ? भनिन । नाथे एनजीओको राष्ट्रिय सम्मेलन आयोजना गर्दा साथीहरु कत्रो हल्ला खल्ला गर्छन् । मैले त्यत्रो बडेमानको आइएनजीओको अन्तराष्ट्रिय सम्मेलन गरेर केहि भने ? भनिन । मैले के गरे के गरिन त्यो सबै जगजाहेर हुँदाहुँदै पनि मलाई केहि गर्न नसक्ने हुतिहारा प्रमाणित गर्न खोज्नुको पछाडि देशी बिदेशी प्रतिक्रियावादीहरुको गहिरो षडयन्त्र छ भन्ने मेरो ठम्याइ छ। सभामुख महोदय, भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भन्थे साँच्चै हो रै छ। मैले गरेका राम्रा कामलाई फुटेको आँखाले पनि देख्न नचाहने नाथेहरुलाई मेरा समग्र कामहरुको मुल्याङ्कन गर्ने नैतिक अधिकार छ कि छैन ? 

सभामुख महोदय , 
सुतेर सपना देख्नु अल्छिहरुको काम हो। म सुतेर सपना देख्नेहरुमा परिन । म दिउसै, जागै अनि बिपनामा सपना देख्ने मान्छे हो। हावाबाट बिजुली निकाल्छु भने कस्तो हावा कुरा गर्छ भनेर भने ? चुलोचुलोमा ग्याँस पुर्याउछु भनेर भन्दा प्रधानमन्त्री भएर पनि बुढाले किन ग्याँसको उपचार नगरेको होला? भनरे उत्ताउलो जिज्ञासा राखे। मैले समृद नेपाल अनि सुखी नेपालीको सपना देखे के बिराए ? मैले गण्डकी, कोशीमा जहाज कुदेको सपना देखे के बिराए ? दुई वर्षमा मेचीकाली रेल कुदेको सपना देख्नु के मेरो शोप्नदोष हो र? काठमाण्डौलाई सिंगापुर अनि नेपाललाई स्वीजरल्याण्ड बनेको देख्न नसक्ने आरिसेहरुका हरेक प्रश्नको जवाफ दिइरहनु जरुरी त छैन र पनि मेरो कमलो मन च्यात्ने बानि परेकाहरुका बचनबाण सहने धैर्य अब मसंग छैन। अरुणा लामाको गीतले भनेझैः यीनका वचनबाणले देब्रेतर्फ फाटेको मनलाई बिहान तुन्छु भरे फेरि दायाँतर्फ फाट्छ। यता तुन्यो उता फाट्छ ,तल तुन्यो माथि फाट्छ। यसरि फाटेर धुजामुजा भएको मुटु लिएर कतिदिन बाँच्न सकिन्छ सभामुख महोदय ?

सभामुख महोदय , 
यो देश सीता अनि भृकुटीहरुको माइती देश हो । छोरीचेलीको इज्जत कसरी राख्नुपर्छ भनेर कसैले मलाई नैतिक सन्देश नदिए हुन्छ। फेरि प्रधानमन्त्री भएको नाताले हरेक नेपाली चेलीको अस्मिताको रक्षा गर्नु मेरो नैतिक जिम्मेवारी हो । निर्मलाको बलात्कार पछि हत्या गरिएको जुन घटना छ त्यसको जति निन्दा अनि भत्सर्ना गरेपनि कमै हुन्छ तर निर्मला प्रकरणलाई जुन ढङ्गले अतिरन्जीत गरिदैछ त्यसमा मेरो घोर आपत्ति छ। सडकमा रमिता गरेर अपराधी समाउन सकिने भए पुलिस किन चाहियो ? अनुसन्धान किन गर्नुपर्यो ? पुलिसलाई चुपचाप काम गर्न दिएको भए निर्मलाका हत्यारालाई मात्र हो र मदन आश्रित अनि बिरेन्द्रका हत्याराहरु पनि उहिल्यै समातिएका हुन्थे। पुलिसलाई काम गर्न नदिने पनि हामी अनि पुलिसले केहि काम गर्न सकेन भनेर आरोप लगाउने पनि हामी नै । बिगतमा डनलाई गनले सोतर पार्ने अनि वर्तमानमा गृहमन्त्रालयमा संकटको कालो बादल मडारिएको बेलामा पनि राम नाम जपेर अहोरात्र खट्न सक्ने सर्बेन्द्रलाई केहि गर्न सकेन भन्नु कति हास्यास्पद छ? सतिप्रथाको अन्त्य भएको यति वर्ष पछि जाबो एउटा हत्याकाण्डको लागि यत्रो सरकार, गृहमन्त्रालय अनि आइजीलाई समेत सति पठाउन खोज्नु कहाँसम्म न्यायसंगत हो ?

सभामुख महोदय ,
सरकारलाई बादलको सानो डल्लोले क्षणभरका लागि छोपेको नाथे घटनालाई खग्रास ग्रहण लागेको झै हल्लिखल्लि गर्न मिल्छ कि मिल्दैन ? सरकारले अपराध अनुसन्धानका लागि पुलिस खटाएकै हो, पुलिसको अनुसन्धान गर्न छानबिन आयोग गठन गरिएकै हो, छानबिन आयोगको पनि छानबिन गर्न अर्को छानबिन आयोग गठन गरिएकै हो। सरकारले यो भन्दा धेरै गर्न सक्ने ठाउँ भए कि देखाइदिनु पर्यो हैन भने बिरोधका लागि बिरोध मात्र किन गर्नु ? सभामुख महोदय, यत्रो नवनिर्माणको लक्ष लिएर हिडेको सरकारलाई जाबो एउटा व्यक्तिको  डिएनए परीक्षणमा अल्झाएर राख्न मिल्छ ? समात्न त दिलिपलाई समातेकै हो नि । कण्डमले धोका दियो । नाथे कण्डमले पनि यति बलियो ढालको काम गर्छ भन्ने जानेको भए गालपारा काममा पनि कसैले हात हाल्थ्यो र ?  डिल्लिहरुले सिल्लि काम गरे भन्दैमा त्यसको सम्पुर्ण दोष सरकारलाई दिन मिल्छ कि मिल्दैन ? 

सभामुख महोदय ,
म आफु पनि खान्न र अरुलाई पनि खान दिन्न भनेर मैले प्रधानमन्त्री भएकै दिन भनेको हुँ । भ्रष्टाचारमा शुन्य सहनशीलता भएको मान्छेलाई भ्रष्टाचार नियन्त्रण गर्न केहि पनि गरेन भन्न मिल्छ ? हुँदाहुँदा मेरै कार्यकालमा त्यति न्यारो बडि भएको बिचरा रविन्द्रलाई तेत्रो वाइड बडि खाएर ओकार काढ्यो  भनेर पनि भन्न भ्याए ।  यो त गड्यौलाले अजिङ्गरलाई जिउदै निल्यो भन्या झै हास्यासपद भएन र ?  हसाउनु को पनि सिमा हुन्छ ।

सभामुख महोदय , 
मेरो मूल्याङ्कनमा सुगतरत्न नेपालका इमान्दार अफिसर मध्य एक हुन्  । उनले न खान जानेका छन् न खुवाउन जानेका छन् । बालुवाटार बसेर संगै एकछाक खाऊँ भन्दा लज्जाउने नेवारको छोरोले जहाँज खायो भनेर कोहि पत्याउछ ? चन्द्रमामा दाग छ भन्दैमा बेदाग मान्छेमा दाग लगाउन मिल्छ ? सास फेर्दा निगमको निस्वास लिने, हाँस्दा निगमनै मुस्कुराउने अनि रुदा निगमकै आँसु झार्ने मान्छेलाई बेतुकको आरोप लगाउन मिल्छ ? सामान दिएर बिल नदिने कम्पनि अनि अवगाल चाँहि सुगतलाई ?  सके कम्पनीलाई भन्नु नि सामान दिएर बिल किन नदिएको भनेर । मकै खाने भालु चोट पाउने कालु भनेको यहि हो, सभामुख महोदय।  फेरि, शुद्द नेपाली भाषामा सफत खाने ढङग नभएको मान्छेले हवाइजहाजका पाटपुर्जा खायो भनेर कसैले बिश्वास गर्छ ? पौराणीक कालका अमुक बाहुबलीहरुले लाउडा, धमिजा, सुडानहरु एकै गाँसमा कुप्लुक्क निलेका किस्सा कहानीहरु लाई कलियुगमा आरोपित गर्न मिल्छ ? सुहाउने कुरा पो गर्नुपर्छ ?    

सभामुख महोदय ,
यो लेखा समितिको नाम सुन्नेबित्तिकै मेरो कन्पोरा तातेर आउँछ। आफैले हेरेर ,रोजेर अनि टेष्ट गरेर ल्याएको जहाजलाई नेपालमा आएर यसोउसो भन्न मिल्छ ? लभ पर्दा आहा, डेटिङ जाँदा आहा अनि घर  प्रवेश गराएर हनिमुन गरेपछि छ्या भनेर मिल्काउन मिल्छ? दुनियाले के भन्लान भनेर ख्याल गर्नुपर्दैन? अरुको चरित्र हत्या गर्न पल्केको लेखा समिति, लेखा समिति नभएर ले खा समिति हो । भाग बन्डा मिले तैं चुप मै चुप हुने ले खा समितिका सदस्यहरु हामीले चिनेका छैनन् र ? आग्रह , पूर्वाग्रह अनि दूराग्रह राखेर सुगतको ढाडमा टेकेर रविन्द्रको टाउको छिनाल्न पाइन्छ ? रविन्द्रको टाउकोसंग मेरो अनि मेरा पूर्ववर्तीहरुको टाउको पनि जोडिएको छ भन्ने कुरा यी भुसुनाहरुले किन बिर्सिएका होलान् ? अब उच्चस्तरिय न्यायीक छानबिन समितिले वाइडबडीको होइन कि ले खा समितिको छानबिन गर्छ । कुन्नी के जातिलाई घ्यु पच्दैन भन्थे हो रै छ । अब मिनि, माइक्रो नामधारी सबै किसिमका संसदहरु खारेज गरिनुपर्दछ , सभामुख महोदय । यीनलाई मात पनि कम्ता चढेको छ र ? संबैधानिक परिषदले गरेको निर्णयलाई संसदीय बिशेष सुनुवाई समितिले खारेज गरेको घटना पुरानो भा छैन सभामुख महोदय । हामीले सिफारिस गरेको निरपराध अनि निर्धो बाहुनको छोरोलाई रछ्यानमा मिल्काएर सामन्त राणाको छोरोलाई छानेर सर्वोच्चमा पुर्याउने यिनै नाथेहरु होइनन् र ?   

सभामुख महोदय ,
राम्रोसंग जाउलो पचाउन नसक्ने मान्छेलाई ३३ किलो सुन खायो सम्म भन्न भ्याए । सुन खानेकुरा नभएर, प्रशाधनको सामग्री हो भन्ने कुरा पनि यीनलाई कसले सम्झाइदेवस् ? बुझेर बझपचाउनुको पनि सिमा हुन्छ नि ?  फेरि, पहेलो देखिने सबै बस्तु सुन हुन्छ भन्ने कुनै ज्ञारेन्टि छ र ? जुन पहेलै छ, सूर्य पहेलै छ, ताराहरु पहेलै छन् के ति सबै सुन हुन् र ? त्यसो भए त सयपत्रीलाई पनि सुन भने भैगो नि । कुन चैं सिल्लि मोराले ३३ किलो सुन भनेर पितल ल्याको रै छ। धन्न पुलिस भाइहरुले एयरपोटमा समाते र नत्र कति धेरै मानिसहरु ठगिन्थे ? जाबो पितल पनि के जतन गरेर राख्नु भनेर एउटा भैयालाई कबाडको भाउमा बेच्देको मोरोले कलकत्ता पुर्याएछ। यत्रो ठगी हुनबाट जोगाउनेलाई स्यावासी दिनुको साटो उल्टै आलोचना गर्ने ? आलोचना गर्नुअघि त्यसको बारेमा हेक्का राख्नु पथ्र्यो कि पर्थेन ? सतीले सरापेको देशमा भलो गर्नेको कहिल्यै भलो हुदैन भन्थे साँच्चै हो रै छ । 

सभामुख महोदय , 
कर्मी माहुरी कामचोर भएपछि रानो माहुरीको मात्र केहि दाल गल्दैन रहेछ । मेरो पनि त्यस्तै हालत भएको छ । कर्मचारीले इमान्दार भएर  काम गरेको भए मेरा तमाम सपनाहरु उहिल्यै सार्थक बनिसक्ने थिए । मेरो धरहरा मै बनाउछु भन्दा बनाउन नदिने को ? यीनै । त्रिशुलीका तुइन बिस्तापित गर्छु भन्दा असहयोग गर्ने को ? यीनै । मेलम्चीको काम अबिलम्ब गर भन्दा बिलम्ब गर्ने को ? यीनै । सगरमाथा अनि धौलागिरीका चुचुराहरु केवलकारले जोड्छु भने, मुख मोड्ने को ? यीनै । सिंहदरवार जनताको घरदैलोमा पुर्याउछौ भन्यौ , चन्द्रशमशेरको आत्मादेखि होसियार भनेर जनतालाई तर्साउने को ? यीनै । नेपालका कम्निष्टहरु त्यसै नास्तिक भएका होइनन् , सभामुख महोदय । बागमतीको ढललाई जल बनाउ भनेको यत्रो वर्ष भयो ? ढलमल नगरेर लम्पसार हुने को ? यीनै । रानीपोखरीमा पानी हाल भन्दा शिलाकी जवानी हेरेर बस्ने को ? यीनै । अनि कसरी देश बन्छ ? काम नगर्ने अनि माम मात्रै खोजेर पाइन्छ ? अल्छि अनि अटेरी मोराहरुले भन्न पनि कसरि सकेका होलान् ? लालबाबुले झेल गर्यो रे ? थपलीयाले घप्ला गर्यो रे ? आजीवन सहरमै बस्ने रहर छ भने जागिर छोडेर काठमाण्डौमै क्यासिनो खोले भैगो नि ? 

सभामुख महोदय , 
अन्त्यमा , मेरा प्रतिपक्षका मित्रहरुको भद्रताप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । मेरा आफन्त भनौदाहरुको उग्रता र उहाँहरुको सालिनता देखेर म हैरान, परेशान भएको छु। यस्तो अनौठो परिस्थितिको सामना गर्नुपर्दा मलाई ताजुब लागिरहेको छ। नेपालमा सत्तापक्षका मानिसहरुले प्रतिपक्षको जस्तो र प्रतिपक्षका मानिसहरुले सत्तापक्षको जस्तो अस्वाभाबिक ब्यवहार देखेर सारा संसार चकित परेको छ । म झनै आश्चर्यचकित परेको छु । शेर चुपचाप लागेर बसेको छ , ब्वासाहरु नक्कली शेर बनेर उफ्रन थालेका छन् । कर्मचारी र गोबिन्द नाम गरेको ब्रम्हचारीलाई मेरा बिरुद्द उक्साउने पनि यीनै ब्वासा हुन् भन्नेकुरा अब घाम र जुन जत्तिकै छर्लङ्ग भएको छ ।

हस् त , पालो सासुको मात्र होइन  बुहारीको पनि आउँछ भन्ने कुरा अवगत गराउँदै अहिले बिदा माग्छु । धन्यवाद ।।

(लेखक अनुराग व्यङ्ग्य लेख्न मन पराउँछन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ