काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् १३ औँ महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । देउवा बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन्। विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रेरित भएका देउवाले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक गरे । देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहेका छन् । देउवाका एक छोरा छन् । देउवाकी धर्मपत्नी आरजु पनि अहिले व्यवस्थापिका संसद् सदस्य हुन् ।
नेता देउवा २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचन तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुरा जिल्लाबाट विजयी देउवाले गृहमन्त्री तथा तीन पटक प्रधानमन्त्री समेतको जिम्मेवारी सम्हालिसकेका छन् । देउवा अहिले डडेलधुराबाट व्यवस्थापिका संसद् सदस्य छन् । विसं २०५१ मा भएको मध्यावधि चुनावपछि देउवा काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बने ।
विसं २०५९ मा प्रधानमन्त्री भएका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बने । नेपाली काँग्रेसको विभाजनपछि देउवा नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति भए । काँग्रेस र काँग्रेस(प्रजातान्त्रिक)को एकतापछि देउवा नेपाली काँग्रेसको वरिष्ठ नेता भए । विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिए । देउवा नेविसङ्घका प्रथम सभापति समेत हुन् ।
देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरिसकेका छन् । यसअघि पार्टीको ११ औँ र १२ औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेद्वार भएता पनि पराजित भएका थिए ।