arrow

सुदूर पश्चिमका पहाडी क्षेत्रमा हिमपात, औल भेगमा ६ महिनापछि पानी

logo
सुनिल आउजी,
प्रकाशित २०७५ माघ ८ मंगलबार
sudur-pachim.jpg

धनगढी । सुदूर पश्चिमका पहाडी तथा हिमाली भेगमा सोमबार साँझदेखि हिमपात भएको छ भने औल भेगमा ६ महिनापछि पानी परेको छ । हिमपातले सु्दूरपश्चिम प्रदेशका बझाङ,बाजुरा, दार्चुला, बैतडी, अछाम, लगायत जिल्लाको जनजिवन प्रभावित भएको छ । ६ महिनापछि पानी पर्दा किसानहरु निकै खुशी भएका छन् ।

बाजुराका हिमाली गाउँपालिका, बुढिन्नदा नगरपालिका, छेडेदह गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र पाण्डवगुफा गाउँपालिकाका उच्च भागमा हिमपात भएपछि जनजिवन प्रभावित भएको छ । पाण्डुसैन र मार्तडीको विचमा पर्ने पोरखे लेखमा धेरै हिमपात भएपछि, सदरमुकाम देखि उत्तरी भेगमा पर्ने कोल्टि सम्मको यातायात समेत बन्द भएको छ । उच्च भागमा भारी हिमपात भएपछि घर भन्दा बाहिर निस्कन समेत ग्राहो भएको स्थानीयले बताएका छन् ।

यस्तै अछामको लेकाली क्षेत्र हिँउले ढाकेको छ । अछाम मेल्लेखको ऋषिदह, षोड्शा, विन्देवासिनी तथा नन्देगडामा हिमपात भएको छ । यस्तै पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्वर ८ बारलामा पनि हिमपात भएको छ । ‘हिउँ न परेको धेरै वर्ष भएको थियो, यस पटक हिउँदमा भने हिउँ देख्न पाइयो,’ अछाम मेल्लेखका रेबन्त अधिकारीले भने । हिउँ परेपछि पहाडी भेगका किसान हर्षित भएका छन् । नन्देगडाका किसान सुरत साउँदले हिउँ परेपछि यसपालि हिउँदे खेती र तरकारी खेती सप्रने बताए ।

 उनले भने,‘खेतीपातीमा सिँचाइका लागि समस्या भइरहेको बेला अहिले हिउँ परेपछि हामी खुसी छौँ ।’ बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपातका कारण बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग खुलाउन डिभिजन सडक कार्यालय पाटनबाट जेसिबी पठाइएको बताइएको छ ।

बिगतका बर्षहरुमा कार्तिकको अन्तिमतिर हिउँले सेताम्बे देखीने बुढिन्नदा, बडिमालिका यो बर्ष भने माघ महिनामा आएर हिमपात भएपछि बुधवार देखी बडिमालिकामा हिउँ देखिन थालेको कैलाशमाण्डौका स्थानीयले बताए । अर्कोतिर ६ महिना देखी पानी नआएको यो भेगमा पानि पर्दा किसानहरु खुशि भएका छन् । एकातिर लामो समय देखि पानी नपरे कृषि बाली सुक्न लागेका बेला हिमपात र पानी परेपछि कृषकहरु खुशी भएका छन । ४ महिना देखी पानी नपर्दा चिन्तित बनेका किसानलाई राहत भएको कृषक मन रोकायाले बताए  । उनले भने –‘गहुँ वाली सुकी सकेका थिए, पानी आउदा ठुलो राहत भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ