arrow

सपनाको सयर

logo
सुरेन्द्र सिटौला,
प्रकाशित २०७५ माघ ९ बुधबार
surendra-sitaula.JPG

बिपनामा मरि तरि उकालो चढ्दै 
सपनामा हवाई जहाज सयर गर्छ मान्छे ।
सपनाको यथार्थ 
बिपनामा मुर्दा भैदिँदा 
फेरि मृगतृष्णाको घोडा चढेर 
सपनाको मरुभूमि तर्छ मान्छे ।

सपनाको घोडा चढेर दौडेको 
मान्छेको बिपना 
गन्तव्यको चौबाटोमा अलमलिएपछि 
प्रारब्धको चौतारीमा थकाइ मार्दै 
आफ्नै कर्मको झुपडीमा फर्किन्छ मान्छे ।

तृष्णाको महासागरमा 
सपनाको पानी जहाज दौडाउने मान्छे 
यथार्थताको सानो तलाउमा 
चुर्लुम्म डुबेपछि 
निस्सासिएर आफैसँग तर्छिन्छ मान्छे ।
सपनाको सयर बूढो भएपछि 
फेरि बिपनाकै झुपडीमा 
फर्किन्छ मान्छे ।

बिपना र सपनाको रस्सा कस्सिमा 
सधै अड्किन्छ मान्छे ।
सपनासँग बिपना 
सधै पराजित भएको देखेर 
रिसको आबेगमा 
आफैसँग कड्किन्छ मान्छे ।

सपना र बिपनाको 
अनन्त यदुबम्सी युद्धमा 
दुबै हारेपछि 
चिताग्नीको न्यायालयमा
आ–आफ्ना गुनासा जाहेर गर्दै 
समयको अनन्त गर्भमा 
आफै हराउँछ मान्छे ।

पुर्खाले जति हन्डर खाए पनि 
फेरि सपनाको जहाज सयर गर्दै 
बिपनामा जोडतोडले  
 कराउँछ नयाँ मान्छे ।

      अस्तु !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ