arrow

क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
can_2.png

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा' नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्ने क्यानले जनाएको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिनेछन्।

नयाँ-नयाँ स्किम
क्यानले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ-नयाँ स्किमहरु ल्याएको छ । सुबिसुले अवलोकनकर्तालाई लक्षित गरी ल्याएको नयाँ-नयाँ स्किमबारे मेलास्थलमै जानकारी गराउनेछ ।
मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर समेत पाउन सक्नेछन्। बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक-एक जोडीले दुई रातका लागि खाने–बस्नेसहित जाने–आउने टिकट पाउनेछन् ।  

त्यस्तै, दैनिक पुरस्कार अन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा र्‍याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच ग्रुप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिने जनाइएको छ। यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँबराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । 

मेलाको अनलाइन टिकट ईसेवाको वेबसाइट तथा खल्ती एपबाट खरिद गर्दा  बाट १० प्रतिशत छुटप्राप्त गर्न सकिनेछ। त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको पनि स्टल रहनेछ । यस स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थ्रिजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन् । त्यस्तै, एनसेलको 'एनसेल एप' को बारेमा जानकारी लिनका साथै डाउनलोड बुथबाट उक्त एप डाउनलोड  गर्न सक्नेछन् ।  मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, प्रिजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्दै छ ।  यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन् ।

मेलाका आकर्षण
यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको क्यानले जनाएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ। 

सूचना प्रविधिदेखि बैंक, बिमासम्मको सहकार्य
२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् । मेलाको सिल्भर स्पोन्सरमा प्रोलिङ्क, एस–पावर बिपिई प्रा.लि. र टेक्नोस कर्पोरेसन (नेपाल) प्रा.लि. तथा प्रिन्ट स्पोन्सरमा एक्सन प्वाइन्ट नेपाल रहेको छ। क्यान इन्फोटेकको अफिसियल पार्टनर नेपाल क्लियरिङ हाउस लिमिटेड, अफिसियल बैंक प्रभु बैंक, बिमा पार्टनर प्रभु इन्स्योरेन्स लिमिटेड, अफिसियल स्पोन्सरमा नेपाल टेलिकम र अफिसियल अनलाइन टिकेटिङमा एफ वान सफ्ट इन्टरनेसनल प्रा.लि. रहेका छन्।

जानकी टेक्नोलोजी प्रा.लि. अफिसियल एसएमएस पार्टनर र अफिसियल डिजिटल मार्केटिङ पार्टनरको भूमिकामा रहेको छ । मेलाको अफिसियल अनलाइन पेमेन्टमा ई–सेवा फोनपे प्रा.लि., अफिसियल इन्टरनेट सर्भिस प्रोभाइडरमा सुबिसु केबल नेट प्रा.लि. र अफिसियल सिसिटिभी पार्टनरमा ई–थ्री सेल्स एन्ड सर्भिस प्रा.लि. रहेका छन्।

कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ।
प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन् । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ