काठमाडौं। उपत्यकामा पछिल्लो दुई महिनामा मौसमी रुघाखोकीको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा प्रकाश साहका अनुसार पुस महिनामा एक जना र माघ महिनामा ४ जनाको मौसमी रुघाखोकीका कारण ज्यान गएको पुष्टि भएको छ।
मौसमी फ्लू लाग्दा सुत्केरी, मिर्गौला रोगी, निमोनिया ग्रस्त गरी पाँच जनाको मृत्यु भएको डा साहले जानकारी दिए। ओम अस्पताल, हिमाल अस्पताल, काठमाडौ मोडल अस्पताल, काठमाडौं मेडिकल कलेज र स्टार अस्पतालमा आएका बिरामीको मौसमी रुघाखोकीका कारण ज्यान गएको हो। उनीहरु सबै काठमाडौँ उपत्यकाकै हुन्।
महाशाखाका प्रमुख डा विवेककुमार लालले उपत्यकामा फैलिएको मौसमी रुघाखोकी मात्र भएकाले स्वाइन फ्लु भएको हल्लामात्र भएको बताए। अहिले उपत्यकामा मृत्यु भएकाहरु मौसमी रुघाखोकीसँगै अन्य रोग पनि भएको जोखिममा रहेका व्यक्तिहरु रहेको महाशाखाले जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही सञ्चारमाध्यममा स्वाइन फ्लुको संक्रमण फैलिएको कुरालाई ‘हल्ला मात्रै’ भन्दै खण्डन गरेको छ। महाशाखाले केही बिरामीमा मौसमी रुघाखोकी देखिएको जनाएको छ। अहिले मौसमी रुघाखोकी मात्र देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए। तर मौसमी रुघाखोकीलाई पनि वेवास्ता नगरी समयमै उपचार गर्न भने सबैलाई महाशाखाले सचेत गराएको छ।
हाल देखापरेको यो रोगलाई संचार माध्यमहरुमा स्वाइनफ्लु भनिएको भएता पनि यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) मात्र भएको महाशाखाले जनाएको छ।
के हो सिजनल इन्फ्लुएन्जा ?
सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वास–प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीव्र खाले संक्रामक रोग हो। जाडो मौसममा तथा मौसम परिवर्तन हुने बेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरोबाट प्रभावित बिरामीहरुको संख्या बढ्ने गरेको पाइएको छ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छिउँ गर्दा सर्न सक्छ। यो रोग प्राय सामान्य रुघाखोकीको रुपमा देखा पर्दछ र यी लक्षणहरु केही दिनमा आफैँ हराएर जान्छ भने केही मानिसमा जटिलताहरु पनि देखा पर्न सक्छ।
बिशेष गरी गर्भवती, ५ वर्ष मूनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग (जस्तै मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धिरोग, दम र अन्य श्वासप्रश्वास सम्बधि दीर्घ रोग, आदि)बाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ।
इन्फ्लुएन्जा रोगको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिर महिना देखी पुस २६ सम्म ३३४ जना बिरामीहरुको घाँटीको र्यालको नमुना परीक्षण गरिएकोमा १६८ जना बिरामीमा इन्फ्लुएन्जा प्रमाणित भएको छ। ती मध्ये १४६ जनामा इन्फ्लुएन्जा ए (एच १ पीडीएम ०९), ९ जनामा इन्फ्लुएन्जा एच ३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको छ।