नेपालमा सबैभन्दा बढी प्रदेश २ मा कुष्ठ रोग प्रभावित
नवलपरासीमा प्रिभलेज रेटभन्दा बढी प्रति १० हजारमा ३ जनालाई कुष्ठरोग
प्रकाशित २०७५ माघ १३ आइतबार
1.4k
Shares
काठमाडौं। नेपालले कुष्ठरोगलाई जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमा निवारण भैसकेको सन २०१० मा घोषणा गरे पनि देशका बिभिन्न भागमा अझै पनि बर्सेनी लगभग ३ हजारको हाराहारीमा नयाँ कुष्ठरोगी देखापर्ने गरेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाले जनाएको छ।
सन् २०१० मा नेपालले कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई कुष्ठरोग निवारण भनिन्छ। तर नेपालको नवलपरासीमा प्रति १० हजारमा ३ जनालाई कुष्ठरोग भएको भेटिएको छ। विश्व स्वास्थ्य सङ्गठनले विसं २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि नवलपरासीमा भने अझै कुष्ठरोग निवारण हुन नसकेको तथ्य सार्वजनिक भएको हो।
नवलपरासीमा हरेक वर्ष नयाँ कुष्ठरोगीको संख्या वढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार जिल्लामा प्रति दश हजार जनसंख्यामा ३ जनामा कुष्ठरोग देखा परेको छ। प्रति दश हजार जनसंख्यामा एक जना भन्दा कम रोगी भए मात्रै कृष्ठरोग निवारण भएको मानिन्छ।
यसपछी बाके, कपिलबस्तु, झापा, धनुषा लगायतका तराई जिल्लामा कुष्ठरोगका बिरामी धेरै भेटिएको तथ्यांकले देखाएको छ। नेपालमा ७७ जिल्लामध्ये १८ जिल्लामा कुष्ठरोग देखा परेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाका प्रमुख डा.रवीन्द्र बाँस्कोटाले जानकारी दिए।
७ प्रदेश मध्ये २ नम्बरमा सबैभन्दा बढी कुष्ठरोग देखिएको छ। २ नम्बर प्रदेशमा ८ जिल्ला मध्ये ७ जिल्ला नै प्रति १० हजारमा प्रिभिलिएज रेट १ भन्दा बढीलाई कुष्ठरोग भेटिएको हो। नेपालमा सन २०१० मा कुष्ठरोगको प्रिभलेज रेट शुन्य दशमलब ७७ रहेकोमा यो बिस्तारै बढदै अहिले २०१७ मा शुन्य दशमलब ९४ मा पुगेको छ। यसरी नै बढ्दै जाने हो भने यो दर एक भन्दा माथी पुग्ने सम्भावना अत्यधिक रहेको डा बास्कोटाले औल्याए।
यो दर घटाउनु सबैभन्दा चुनौती रहेको उनले बताए। २०७४/७५ मा कुल ३ हजार एक सय ८७ नयाँ बिरामी फेला परेको शाखाका प्रमुख बाँस्कोटाले जानकारी दिए। त्यसमध्ये एक हजार ४ सय ३४ जना महिला र २ सय ७८ जना बालबालिका भएको शाखाले जनाएको छ।
कुष्ठरोगले अंगभंग हुने भएकोले समाजमा अपहेलित हुने डरले धेरै कुष्ठरोगीले रोग लुकाउने गर्दा उपचारमा चुनौती हुने गरेको छ। शरीरको कुनै भागमा नदुख्ने फुस्रो दाग देखापर्नु, अनुहार र कानको नजिक गिर्खाहरु देखिनु, हातखुट्टाका औँलाहरु लाटो, कमजोर, खुम्चिदै जानु जस्ता कुष्ठरोगका लक्ष्य देखिनासाथ स्वास्थ्य संस्थामा जाँच गराए कुष्ठरोग समयमै निको हुने उनले बताए।
कुष्ठरोगको लक्षण देखिएपनि उपचारका लागि विरामी समयमै अस्पताल नआउने र रोग लुकाउने प्रबृत्तिका कारण रोगको प्रभाव बढ्दै गएको छ। “कुष्ठरोग कार्यक्रमको गन्तब्य, गलत धारणा र विभेदको अन्त्य” भन्ने नाराको साथ ६६औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाईंदैछ। अंगे्रजी वर्ष जनवरीको अन्तिम आइतबार ‘कुष्ठरोग दिवस’ मनाउने प्रचलन रहँदै आएको छ।
के हो कुष्ठरोग ?
कुष्ठरोग छाला र स्नायुमा प्रभाव पार्ने रोग हो। रातो तथा हल्का फुस्रा दाग देखिने, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, गिर्खा देखिने, स्नायुमा असर गर्दा हातगोडा झमझमाउने, मांशपेसी कमजोर हुने, डाबर तथा दाग भएका ठाउँमा चिलाउने, हत्केला वा पैतालामा नदुख्ने घाउ देखापर्ने, हत्केलाको मासंपेसी सुकेर जाने, नाक थेप्चो हुनेजस्ता लक्षण देखापर्छन्।
कुष्ठरोग प्रभावितका लागि सरकारी सहयोग
सरकारले कुष्ठरोग नियन्त्रण गर्नका लागि सबै जिल्लामा कुष्ठरोगका बिरामीलाई निःशुल्क उपचार र औषधी उपलब्ध गराउँदै आएको छ। कुष्ठरोगको उपचार पुरा गरी फर्केकालाई यातायात खर्चबापत एक हजार रुपैया दिने गरेको छ भने बिच बिचमा जटिल समस्याको उपचारका लागि अस्पताल भर्ना गर फिर्केकालाई पनि एक हजार यातायात खर्च दिने गरेको छ। साथै यो बर्गलाई समाजमा पुर्नस्थापनाका लागि समुह मिलेर केही आयमुलक काम सुरु गर्न २० हजार देखि ५० हजारसम्म प्रत्येक समुहलाई उपलब्ध गराउदै आएको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाले जनाएको छ।