arrow

काँग्रेस महाधिवेशनले प्रभावित पशुपतिको शिवरात्री !

देशलाई रातारात धर्मनिरपेक्ष बनाएपछि मान्छेले धार्मिक आस्था छोड्दै गए, त्यसका कारण पनि भीड पातलिएको हुनुपर्छ

logo
दीपेन्द्र सापकोटा
प्रकाशित २०७२ फागुन २४ सोमबार
Pashupati_Shivaratri.jpg.jpeg
काठमाडौँ। भृकुटीमण्डपमा नेपाली काँग्रेसको सभापतिका लागि निर्णायक मतदान चलिरहँदा यता पाशुपत क्षेत्र महाशिवरात्रि पर्वमा व्यस्त थियो । 
 
तर त्यो व्यस्तता सधँैका वर्षभन्दा पातलिएको देखिन्थ्यो । नाकाबन्दी र भूकम्पबाट पीडित हिन्दुधर्माअलम्बीका कारण विशवरात्रिको रौनकमा कमी ल्याएको भएपनि काँग्रेस महाधिवेशनको पनि प्रभाव परेको बताउने पनि कम थिएनन् । 
 
राजनीतिसँग खासै रुचि नभएका एक नेपाली बाबा शिवनारायण दास बैरागीसमेत काँग्रेस महाकुम्भका कारण तुलनात्मकरुपमा पशुपतिमा भीडभाड कम भएको स्वीकार्नुहुन्छ । नेपाल साधु एकता एवम् सनातन धर्म समाजका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “काँग्रेसको महाधिवेशनले पनि हुन सक्छ ।” नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकामा असन्तुष्टि जनाएका उहाँले भन्नुभयो–“देशलाई रातारात धर्मनिरपेक्ष बनाएपछि मान्छेले धार्मिक आस्था छोड्दै गए, त्यसका कारण पनि भीड पातलिएको हुनुपर्छ ।” 
 
भारतको महाराष्ट्रस्थित उजैनमा जारी बाह्रवर्षे कुम्भमेलाका कारणले यसपटक भारतबाट कम साधुसन्त आएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डन करिब दुई हजारको सङ्ख्यामा भारतीय बाबाको आगमनमा कमी आएको बताउनुहुन्छ । उहाँका अनुसार गत वर्ष करिब सात हजार ५०० भारतीय आएकामा यो वर्ष पाँच हजार ५०० मात्र आए । उहाँले भन्नुभयो– “आफ्नै देशमा समानस्तरको मेला (बाह्रवर्षे कुम्भमेला) लागेका कारण कमी आएको हो, अरु केही होइन ।” 
 
स्वयम्सेवकका रुपमा खटिएका स्थानीय पशुपति क्लबका अध्यक्ष नन्द किराती भारतका बाबामात्र नभएर त्यहाँबाट आउने समग्र दर्शनार्थीमै कमी आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “भर्खरै नाकाबन्दीको मार खेप्नुपरेकाले यातायातको असुविधाका कारण दर्शनार्थीको आगमनमा कमी आएको होला !” 
 
प्रशासनले गाँजा, धतुरो, भाङलगायत मादक पदार्थमा लगाएको प्रतिबन्धले स्वदेशी युवाको भीडभाड कम भएको प्रहरी नायब निरीक्षक धनमाया थापाले बताउनुभयो । ‘ड्युटी’मा खटिएकी उहाँले भन्नुभयो– “अहिलेसम्म कुनै उत्श्रृङ्खल क्रियाकलाप भएका छैनन्, शान्ति सुरक्षाको अवस्था मजबुत छ ।” 
 
श्लेषमान्तक वनमा यताउता गरिरहेका युवाले प्रशासनले लगाएको मादक पदार्थमाथिको प्रतिबन्धलाई स्वागत गरे । बानेश्वरबाट आएका युवा जगतजङ्ग शाहले भन्नुभयो– “भगवान् शिवको नाम बेच्दै लागुपदार्थ खानेले समाजमा विकृति ल्याएका थिए, यस्ता क्रियाकलाप रोकेकै राम्रो ।” तर अर्का युवा राजन शर्माले शङ्का गर्दै भन्नुभयो– “कुरा राम्रो हो, तर मलाइ त लाग्छ, यो औपचारिकताका लागिमात्र ल्याइएको हो ।” 
 
यो वर्ष पशुपतिनाथमा करिब पाँच लाखको सङ्ख्याका दर्शनार्थीले पूजा गरेको तथा करिब ११ लाखले मेला भरेको कोषले जनाएको छ । यो पटक मलेसियाबाट पनि भक्तजन आएर रु १५ लाख बराबरको रकम कोषमा सहयोग गरेको सदस्यसचिव टन्डनले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ