arrow

काँग्रेस नेता केसीले निर्वाचितहरुलाई दिए वधाई

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
arjun-narsingh.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसीले महाधिवेशनबाट निर्वाचित भएका पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष र अब निर्वाचित हुनुहुने सदस्यहरूप्रति बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका छन्। देश र दुनियाँले विशेष चासोका साथ हेरेको नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन पूर्ण लोकतान्त्रिक विधि र प्रक्रियाका साथ ऐतिहासिक रुपमा सुसम्पन्न भएकोमा केसीले खुसी प्रकट गरेका छन्।  
 
केसीको वक्तव्यको पूर्ण पाठ यस प्रकार छः 
 
देश र दुनियाँले विशेष चासोका साथ हेरेको हाम्रो पार्टी नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन पूर्ण लोकतान्त्रिक विधि र प्रक्रियाका साथ ऐतिहासिक रुपमा सुसम्पन्न भएकोमा म हर्षित तथा गौरबान्वित छु। महाधिवेशनबाट निर्वाचित हुनुभएका आदरणीय पार्टी सभापति, महामन्त्री, कोषाध्यक्ष र अब निर्वाचित हुनुहुने सदस्यहरूप्रति मेरो हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना छ।
 
महाधिवेशनलाई भव्यता र निर्विघ्नताका साथ सुसम्पन्न गर्न अथक मिहिनेत गर्ने सम्पूर्ण साथीहरूको हार्दिक सह्राना गर्दछु। पार्टीको महामन्त्रीका लागि मेरो उम्मेद्वारीमा मतदान गर्ने महाधिवेशनका प्रतिनिधि साथीहरूका साथै सहयोग र समर्थन पुर्‍याउने अन्य सबै साथीहरूलाई पनि म विशेष आभार व्यक्त गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछु। यस महाधिवेशनका दौरान मैले पार्टीको सुद्धीकरण तथा लोकतन्त्रको सुदृढीकरणका लागि उठाउँदै आएका एजेन्डाहरूलाई आगामी दिनमा पनि दृढताका साथ पूरा गर्न समर्पित रहनेछु।
 
निर्वाचनका दौरान उत्पन्न भएका तिक्ततालाई मेटाउँदै पार्टीभित्र उत्साही र प्रीतिकर वातावरण बनाएर लक्ष्यमा पुर्‍याउने परम जिम्मेवारी निर्वाचित साथीहरूका काँधमा आएको छ। पार्टीलाई नेतामुखी र नातामुखी होइन, नीतिमुखी बनाउने, आन्तरिक लोकतन्त्र, संस्थागत कार्यपद्धति र अनुशासनलाई प्रभावकारी बनाउने, पार्टीप्रति समर्पित भएर सक्रिय रहेका निष्ठावान कार्यकर्ता साथीहरूको न्यायोचित मूल्याङ्कनको परिपाटी बसाल्नुपर्ने, पार्टीका आधारभूत सिद्धान्त तथा नीतिलाई पुनःस्थापित गर्ने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको काँधमा आएको हुनाले यस्ता विषयमा मोलाहिजा नगरी कार्यान्वयन गर्ने जिम्मेवारी पूरा हुने मैले अपेक्षा गरेको छु। यी मूल्य र मान्यताहरूलाई कार्यान्वयन गर्नका लागि म सदैव प्रतिबद्ध रहने छु। 
धन्यवाद । जयनेपाल । 
अर्जुननरसिंह के.सी.
नेपाली काँग्रेस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ