काठमाडौं। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गरेका छन्। दि आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा पुसको तेस्रो हप्तामा पर्सा राष्ट्रिय निकुञ्जमा कला शिविर आयोजना गरेको थियो।
सोही क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएको हो। सो क्रममा तयार भएका १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृत समेत गरिएको छ। कार्यक्रममा कुलपति कर्माचार्यले उत्कृष्ट छनोट भएकी कलाकार सविता डंगोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गरे। कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा.प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रशंसा गरे। प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई कलाकारले चित्रकलामा उतारको छन्।