arrow

समयको कसीमा गगन थापा

logo
सर्वोच्च भण्डारी,
प्रकाशित २०७२ फागुन २६ बुधबार
Gagan-Thapa_img.jpg.jpeg
काठमाडौं। नेपाली राजनीतिमा संभवतः सर्वाधिक आशा गरिएका र सर्वाधिक लोकप्रिय नेता गगनकुमार थापा नेपाली काँग्रेसको महामन्त्री हुन रोकिएपछि अहिले अनेक दृष्टीकोणबाट विश्लेषण भईरहेको छ। काँग्रेसको पराम्परागत राजनीति भन्दा फरक र साहसीक तरिकाले भएको थापाको उम्मेदवारीबाट उनलाई भएको राजनितिक फाईदा बेफाईदाको जोड घटाउ पनि भईरहेको छ । 
 
मुख्यतः यो काँग्रेसका यूवाहरु जसले परिवर्तनका लागि सडकको अग्रभागमा मोर्चा सम्हालेका थिए उनीहरु अझै पनि पार्टीको देशभरका निर्णायक तहमा सानो संख्यामा मात्र रहेछन् भन्ने महाधिवेशनको परिणामले पुष्टी गरेको छ। गणतन्त्रवादीलाई भन्दा विगतका आन्दोलन र तिनका उपलव्धी माथी प्रश्न उठाउनेलाई, कार्यकर्ताको पङतिबाट निखारिएर आउने भन्दा बंश परम्परालाई निरन्तरता दिन खोज्नु काँग्रेसमा अझै पनि यथास्थितिवादीहरुकै बोलवाला धेरै छ भन्ने स्पष्ट भएको छ। काँग्रेस आफैमा परिवर्तनकारी शक्ति हैन, अरुले धेकेलेर परिवर्तनको नेतृत्व गर्न मात्र पुगेको हो भन्नेलाई अहिलेको नतिजाले बल पुर्याएको छ। काँग्रेस महाधिवेशनमा आएका कार्यकारी तहको नेतृत्वको चेहरा र व्यक्त विचारपछि अहिले काँग्रेसको विगतमाथि समेत प्रश्न उठ्न सक्ने देखिदै छ। काँग्रेस महाधिवेशनका तीन हजार १ सय भन्दा बढी प्रतिनिधिहरु मध्ये गगनले पाएको ५ सय ८४ जनाको मतलाई हेरेर पनि अन्य राजनीतिक दलसँग आवद्ध र विश्लेषकहरुले काँग्रेस बंशवादी, यथास्थीतिवादी र प्रतिगमनतर्फ जाने त होइन भन्नेमा शंका गर्न थालेका छन्। गणतन्त्रका बारेमा पुर्नविनचार गर्नु पर्छ भन्नेहरु कार्यकारी तहमा निर्वाचित हुँदै गर्दा वाहिर यो सन्देश प्रसारित हुनु स्वभाविक पनि हो।  
 
काँग्रेसको संगठन राम्रो भएन नेताहरुले विगारे मात्र भनेर सार्वजनिक तथा व्यक्तिगत भेटघाटमा पनि चर्चा गर्नेहरुले अवसर पाउँदा संगठनको रुपान्तरणका लागि काम गर्छु भन्नेहरुलाई विश्वास गर्न नसकेको गगनको पराजयले पुष्टी गरेको छ। देश विकास र पार्टी हितको लागि सधै नेताहरुले केहि गरेनन् भन्नेहरुले नै यो पटक फरक केहि गर्छु भनेर आएकाहरुलाई बाटो छेकेको चर्चा पनि नागरिक वृत्तमा छ। यस अर्थमा यो हार गगन जस्ता पार्टीका परिवर्तनका चेहराहरुको हार पार्टीका यथास्थितिवादीहरुको जीत हो। अझ यो जीत परिवर्तन विरोधीहरुले आफ्नो पक्षमा पार्न सक्ने खतरा देखिदै गर्दा यसको दुरगामी राजनीतिक र सामाजिक प्रभाव र संक्रमण बढ्ने छ।
 
पार्टी बाहिरका मञ्चहरुमा यूवाहरुलाई अवसर भएन भन्ने काँग्रेसका यूवाहरु जो अवसर पाउँदा आफ्ना समकालिन र आफ्ना प्रतिनिधीलाई जिताउँदा यूवाहरुको भावनाले जित्थ्यो भन्ने सोच्नुभन्दा आफू पछाडी परिन्छकी भन्ने सोचका कारण पनि महामन्त्रीमा गगन थापा जित्न सकेनन् भन्ने टिप्पणी पनि सुनिएको छ। बरु आफ्ना समकक्षीहरुलाई अगाडी सार्नुभन्दा पुरानैहरुको समर्थन लिएर अगाडी बढ्न सकिन्छ भन्ने चेतका कारण पनि यो पटक पार्टीभित्रका यूवाहरुको भुमिका गगन जस्ता उनीहरुका प्रतिनिधीका पक्षमा देखिनुपर्ने जति देखिएन। यसले काँग्रेसलाई यूवाहरुको नेतृत्वमा अगाडी बढ्दै गरेको पार्टीको रुपमा चित्रित हुने अवसर गुमेको छ। साथमा काँग्रेसले आउने दिनमा स्थानिय निकायदेखि सबै निकायहरुको चुनावमा र अन्य मञ्चहरुमा आफ्नो यूवा प्रतिनिधीलाई पार्टी नेतृत्वमा पुग्नबाट रोकेकोमा कैयन प्रश्न उठ्नेछ। स्थानिय नेताहरुसँग यस्को चित्तबुझ्दो जवाफ हुनेछैन। यसको घाटा काँग्रेसले व्यहोर्नुपर्नेछ। 
 
काँग्रेसको संगठनको पूननिर्माण र सिद्धान्तको पूनर्व्याख्या गर्नुपर्ने मत राख्नेहरु जसरी उनीहरुका प्रतिनिधी गगन थापासँग जोडिन पुगेका थिए उनीहरुले त्यो सहकार्य  महाधिवेशनसम्म गर्ने हिम्मत जुटाउन सकेनन्। रणनीतिक रुपमा एकले अर्कालाई प्रयोग गर्ने रणनीति पनि यूवा भनिने नेताहरुमा देखियो। यो यूवाहरुको नाममा गरिएको सबैभन्दा भद्दा मजाक थियो। जसरी पनि नेतृत्वमा पुग्नुपर्ने र पार्टीको संगठन र सिद्धान्तलाई तिलाञ्जली दिन तयार हुने मानसिकता यूवाहरुको लागि पीडाको बिषय भयो। यूवा नेतृत्वमा देखिएको यहि प्रवृतीलाई पार्टीको नेतृत्वमा पुग्नेहरुले आफ्नो अनुकुलमा ढाले। जस्का कारण पार्टी राजनीतिमा प्रवेश गर्न चाहने कैयन यूवाहरु, जो परिश्रमबाटै नेतृत्वमा स्थापित हुन सकिन्छ भन्ने धारणा राख्छन, उनीहरु काँग्रेस प्रवेशमा रोकिने अवस्था समेत सिर्जना भएको छ। कैयन यूवा काँग्रेसहरु पार्टीको राजनीतिबाट विमुख हुने अवस्था आएको छ। 
 
कतिपयको बुझाईमा थापाले चुनाव हार्न तयार भए तर हिम्मत हारेनन भन्ने छ। नेपालको परम्परागत राजनीति र बिरासतको बिरुद्ध परिवर्तनका पक्षमा तमाम युवाको प्रतिनीधिका रुपमा उनले उठाएको साहसिक जोखिम आफैमा राजनीतिक विजय हो। शशांक कोईरालाको विजयका अनेकन कारण होलान तर गगनको पराजयको एउटा महत्वपूर्ण कारण सायद उनी नेताको छोरा नहुनु मात्रै हो। उनले निर्वाचनको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा पनि भनेका थिए, “म पार्टीका लागि आवश्यक छु, मैले महामन्त्रीको जिम्मेवारी लिनु अपरिहार्य छ सवैले भन्छन, तर पनि विजयी भईन भने त्यो केवल म कुनै बंशविषेशको नहुनु मात्रै मेरो पराजयको कारण बन्ने छ ।” दुर्भाग्य गगनलाई त्यही नै भयो । तर यस्ले अर्को पनि प्रश्न काँग्रेस वृत्तमा जन्माइदिएको छ। के काँग्रेसको नेतृत्वमा पुग्न कुनै वंशको हुनै पर्ने र त्यो वंशको कुनै प्रतिनिधीलाई अनुमोदन गर्नैपर्ने अवस्था आयो भने के यस्ले क्षमताका बलमा काँग्रेसको नेतृत्वमा पुग्छु भन्नेहरु काँग्रेसमा आउन कति हिम्मत गर्लान? 
 
गगनले हारेर यस पटक पार्टीको नेतृत्वमा पुग्न नसकेपनि उनको राजनितिक उचाई भने घटेको छैन, बरु बढेको छ र उनीमाथी लगाईएका कतिपय आरोपहरु मिथ्या सावित भएका छन्। यसरी आफूलाई ढाडस दिनेहरु पनि छन्। आफ्ना ससुरा अर्नुननरसिंह केसीलाई जिताउन उम्मेदवारी दिएको आरोप लगाउनेहरुको सायद मुख थुनिएको छ। तर उनीहरुको मुख थुन्नु मात्र गगनको उमेद्वारीको लक्ष्य थिएन सायद। उनी जित्न चाहन्थे। उनी पार्टीलाई रुपान्तरण गर्न चाहन्थे। त्यो रुपान्तरणको यात्रा कतै प्रतिगमनतर्फ जानेहोकी भन्ने चिन्ता यतिखेर काँग्रेस र राजनीतिक वृत्तमा छाएको छ। गगनको जीत नहुँदा देखिएको अर्को साइड इफेक्ट हो यो। 
 
गगनको उमेद्वारीलाई भिमबहादुर र नरहरी आचार्यको जस्तै डेढ दुईसय मतसँग जोडेर अग्रज नेताहरुको अवमुल्यन गर्दै गगनलाई निरुत्साहित गर्नेहरु आफै निरुत्साहित भएका छन्। साथै काँग्रेसको राजनितिमा विराशत होईन क्षमताको कदर हुनु पर्छ भन्ने आम काँग्रेसको आवाज बुलन्द गर्ने साहसी कदम पनि उनैको भएको छ। उनी नयाँ पुस्ताको आवाज पनि भएका छन्। यसले उनलाई वर्वाद होईन, जवरजस्त थप शसक्त र स्थापित गराएको छ। विराशतमा होईन क्षमतामा विश्वास गरौ भन्ने बहस बढाएको छ। विराशतको मानसिकता लोकतान्त्रीक मानसिकता होईन भन्नेहरुलाई थप आँट दिएको छ। 
 
परिर्वतनलाई आत्मसाथ गर्न हिच्किचाउने मानसिकताले कम उमेरको र बेला नभएको भन्दै अरु तिर नै लागे। यो कुरा थाहा हुँदा हुँदै हिम्मत र साहसका साथ मैदानमा उत्रिनु पनि गगनको जीत थियो। हारमा पनि गगनले धेरै शुभेच्छुक र कार्यकर्ताको मन जितेका छन्। " न सम्बन्धसंग डरायौ न हारसँग, तिम्रोबारेमा मिथ्या प्रोपोगण्डाहरु पनि फिजाइए, अव अझ साहस गर निरन्तर। बिचल्ली नभई लागिरहनु । तिमीले देखेको देश बनाउने सपना पुरा गर्न निरन्तर लागि रहनु। अव परिर्वतन चाहने पुस्ताको लागि पुरातनबादीहरुसँग लड्ने नेतृत्वदायी जिम्मेवारी तिम्रो काँधमा आएको छ। गगन तिमीलाई नयाँ पुस्ताले रोजेकै छ भन्ने कुराको पुष्टी यो मतले पनि पुष्टी गर्छ।” सुभेच्छुकहरुको यस्तै भावनाहरु सामाजिक सञ्जालहरुमा पोखिएका छन्। चिया चर्चा देखि भान्सासम्मा काँग्रेस र यूवा पुस्ताको बहश छिराएर गगनले फेरि एक पटक मुद्धा जीतेका छन।   
 
गुटबन्दीका अफ्ठ्यारा पर्खाल नाघेर दिएको मत, हजारौं काँग्रेसजनको शुभेच्छा, जनसमर्थन र उत्प्रेरणाको बलमा पार्टी पुनर्निर्माणका लागि उनको यात्रा थप सशक्त बनोस भनेर शुवेच्छुकहरुले दिएको सुवेच्छा भारी भने गगनले कसरी वहन गर्ने हुन त्यसले अवको उनको राजनीतिको बाटो तय गर्छ। प्राविधिका रुपमा भएको हार वा जीत भन्दा माथि पार्टीमा मुद्धा स्थापित गराएर पार्टीलाई आफ्नो मुद्धामा डोहोर्‍याउन सक्ने हिम्मत भने गगनले निरन्तर गरिरहनुपर्छ। काँग्रेसभित्रको स्वार्थी र हिसावकिताव गर्ने समुहबाट माथि निस्केर गगनले यसमा अगाडी बढ्नु नै बुद्धिमतापूर्ण कार्य हुनसक्छ। 
 
अहिलेको नतिजासंन नडराई अब महामन्त्री भएमा जे गर्दछु भनेका थिए, ति अधिकाँश काम पराजित महामन्त्रीले पनि गर्न मिल्ने हुन्छन्, ति गर्नु पर्दछ। काँग्रेसको सांगठनिक र बैचारिक अभियान चलाउन कसैले रोक्न मिल्दैन र सक्दैन पनि। निर्वाचित महामन्त्री र मनोनित महामन्त्री भन्दा धेरै काम गरेर देखाउन सकेमा कार्यकर्ताहरुले उनले घोषणा गरेको बाँकी १५ बर्षको राजनीतिक जीवन भित्रै उनलाई पार्टी नेतृत्व सुम्पन सक्छन। कहिल्यै नहारेका गगनलाई यो हारले आफूलाई समिक्षा गर्ने राम्रो अवसर पनि दिएको छ। समिक्षा गरुन र नयाँ योजना बनाउन। पार्टी र देशको नेतृत्व यवाहरुको हातबाट अन्यत्र जाने कुरै छैन। मात्र केहि ढीलो र चाँडो मात्र हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ